काठमाडौं । दसैँ–तिहारका लागि चीनबाट ल्याइएका लत्ताकपडा, जुत्ता–चप्पल, विद्युतीय सामग्रीदेखि सवारीसाधनसम्मका सामान आपूर्ति प्रभावित भएको छ ।
बाढीपहिरोका कारण चीनसँग जोडिएका तातोपानी, रसुवागढी र कोरला तीनवटै प्रमुख व्यापारिक नाका प्रभावित भएपछि चाडपर्व लक्षित सामान बाटोमै रोकिएका छन् ।
नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष रामहरि कार्कीका अनुसार कोरला नाकाबाट नेपालतर्फ आउन लागेका करिब ५०० देखि ७०० कन्टेनर चीनतर्फ रोकिएका छन् । तीमध्ये दसैँ, तिहार र छठ लक्षित सामग्रीसमेत छन् । कोरला नाका अझै १०–१२ दिन सञ्चालन हुन नसक्ने जानकारी पाएको भन्दै कार्कीले तत्काल कूटनीतिक पहल गरेर तातोपानी नाका सञ्चालन गर्नुपर्ने बताएका छन् ।
रसुवागढी नाका भोटेकोशी बाढीपछि भौतिक संरचना तथा सडकमा भएको क्षतिका कारण लामो समयदेखि प्रभावित छ । त्रिशूली नदी किनार हुँदै जाने पासाङल्हामु राजमार्गका धेरै भाग कटान भएपछि रसुवागढीसम्मको मुख्य सडक अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ । स्याफ्रुबेँसीसम्म वैकल्पिक एक लेनको कच्ची सडक प्रयोग गर्न सकिने भए पनि रसुवागढीसम्मको व्यापारिक आवागमन सहज भएको छैन ।
तातोपानीतर्फ भने सडक डिभिजन चरिकोटले सडकका कारण नाका सञ्चालन रोक्नुपर्ने अवस्था नरहेको जनाएको छ । यसअघि इको, लिपिङलगायत क्षेत्रमा पहिरो र सडक भासिएर पटक–पटक आवागमन प्रभावित भए पनि सडकतर्फको अवरोध हटाइएको दाबी डिभिजनको छ । तर चीनतर्फबाट मालवाहक सवारी रोकिएको र नाका नियमित रूपमा सञ्चालन हुन नसकेको व्यवसायीको भनाइ छ ।
मुस्ताङतर्फ कोरला पुग्ने सडक पनि बाढीपहिरोका कारण प्रभावित भएपछि रसुवागढी र तातोपानीको विकल्पका रूपमा प्रयोग हुँदै आएको यो नाका समेत बन्द भएको हो । यससँगै चीनसँगको स्थलमार्गबाट हुने व्यापारमा अहिले ठूलो अवरोध आएको व्यवसायीले बताएका छन् ।
दसैँ–तिहारमा बढी खपत हुने रेडिमेड कपडा, जुत्ता–चप्पल, विद्युतीय सामग्री, फलफूललगायत सामान चीनबाट स्थलमार्ग हुँदै आउने गर्छन् ।
यसपटक उत्तरी नाकामा आएको अवरोधका कारण यस्ता सामान समयमै बजारमा ल्याउन समस्या भएको व्यवसायीको भनाइ छ । यसअघि रसुवागढी नाका बन्द भएपछि चीनबाट आएका सामानको वैकल्पिक प्रवेशका रूपमा कोरला प्रयोग गरिएको थियो । भदौसम्म चीनबाट हुने व्यापारमा यसको प्रभाव देखिए पनि समग्र वैदेशिक व्यापारमा भने ठूलो धक्का नपरेको भन्सार तथ्यांकले देखाएको छ ।
यसअघि तातोपानीतर्फ मात्र चीनको मितेरी पुलपारि, खासा, सिगात्से र न्यालमलगायत क्षेत्रमा १ हजार ५०० भन्दा बढी कन्टेनर रोकिएको व्यवसायीले बताएका थिए ।
फलफूलमा समेत अवरोधको असर देखिएको छ । केरुङमा करिब १०० कन्टेनर फलफूल बिग्रिन थालेपछि व्यवसायीले भन्सार तथा सम्बन्धित निकायसँग सहजीकरणका लागि आग्रह गरेका थिए ।
दसैँ–तिहार नेपाली अटोमोबाइल बजारको मुख्य बिक्री सिजन हो । व्यवसायीका अनुसार वर्षभर बिक्री हुने सवारीसाधनमध्ये करिब ४० देखि ५० प्रतिशत यही चाडपर्व आसपास बिक्री हुने गर्छ । यसपटक भने उत्तरी नाका र सडक अवरोधले चीनबाट आउने सवारीसाधनको आपूर्ति प्रभावित भएको छ ।
विशेषगरी चीनबाट आयात हुने विद्युतीय सवारीसाधनको आपूर्ति प्रभावित हुँदा बुकिङ गरेका ग्राहकलाई समयमै सवारीसाधन उपलब्ध गराउन समस्या हुन सक्ने व्यवसायीले बताएका छन् । बाढीपहिरो र नाका अवरोधले दसैँ लक्षित अटो बजार प्रभावित भएको नाडा तथा अटो व्यवसायीहरूले बताएका छन् ।
उत्तरी नाका लामो समय अवरुद्ध हुँदा चीनबाट ल्याइने सामानलाई दक्षिणी समुद्री मार्ग हुँदै ल्याउने विकल्प भए पनि चाडपर्वअघि तत्काल त्यसबाट आपूर्ति व्यवस्थापन गर्न कठिन हुने व्यवसायी बताउँछन् । नाका परिवर्तन गरेर वीरगन्जलगायत दक्षिणी नाकाबाट केही चिनियाँ सामान ल्याउन थालिए पनि त्यसले उत्तरी नाकाको पूर्ण विकल्प दिन सकेको छैन ।
सरकारले भने उत्तरी नाका सञ्चालनमा ल्याउन कूटनीतिक तथा अन्तरनिकाय समन्वय तीव्र बनाएको छ । तातोपानी–कोदारी नाकाको अवस्था बुझ्न नेपाली टोलीले स्थलगत निरीक्षणसमेत गरेको छ ।
चाडपर्व नजिकिँदै गर्दा तीनवटै उत्तरी व्यापारिक नाकामा देखिएको अवरोधले आयातकर्ताको सामान र लगानी मात्र होइन, बजारमा सामानको उपलब्धता र आपूर्ति व्यवस्थापनमा समेत दबाब बढाएको छ ।
सम्बन्धित समाचार
सहकारी समस्या समाधानमा सरकारको अलमल
सुनको भाउ फेरि ३ लाख रुपैयाँ मुनि
निजामती सेवा विधेयक : लोकसेवा आयोगको परामर्श कुर्दै सरकार, यी हुन् प्रस्ताव गरिएका नयाँ व्यवस्था
३६ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
अर्थमन्त्री डा. वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै, नेपालमा लगानी गर्न आह्वान गर्ने
बिजुलीमा लगाइएको ५ प्रतिशत भ्याट हटाउँदै सरकार
सुनचाँदीको मूल्यमा व्यापक गिरावट, कतिमा भइराखेको छ कारोबार ?
लगातार घटेको सुन चाँदीको भाउ आज बढ्यो, कतिमा भइराखेको छ कारोबार ?





