कांग्रेसमा गगनको दोस्रो इनिङ

काठमाडौं । विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार थापा नियमित १५औँ महाधिवेशनबाट आफ्नो नेतृत्वलाई निरन्तरता दिने प्रक्रियामा छन् । सभापतिका उम्मेदवार किशोरसिंह राठौरले बुधबार उम्मेदवारी फिर्ता लिएर थापालाई समर्थन गरेपछि सभापतिमा थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ ।

महामन्त्रीमा रोचक भिडन्त

राठौरले पार्टी संकटमा रहेकाले एकताबद्ध भएर अघि बढ्नुपर्ने भन्दै उम्मेदवारी फिर्ता लिएको बताएका छन् । मंगलबार उम्मेदवारी दर्ताका क्रममा सभापतिमा थापा, राठौर र खड्गी गरी तीन जना थिए । राठौर पछि हटेसँगै नियमित महाधिवेशनको मुख्य चुनावी प्रतिस्पर्धा अब पदाधिकारीका अन्य पदमा केन्द्रित भएको छ ।

विशेष महाधिवेशनबाट सभापति बनेका थापाले त्यसबेला विश्वप्रकाश शर्मा र पुष्पा भुसाललाई उपसभापति तथा प्रदीप पौडेल र गुरुराज घिमिरेलाई महामन्त्रीको जिम्मेवारीमा ल्याएका थिए । अहिले नियमित १५औँ महाधिवेशनमा शर्मा र भुसालको क्रमशः वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एकल उम्मेदवारी परेका कारण निर्विरोध भइसकेका छन् । पौडेल र घिमिरे भने खुला महामन्त्रीका लागि फेरि चुनावी मैदानमा छन् ।

महामन्त्रीमा आठजना प्रतिस्पर्धी
महामन्त्रीका तीन पदमध्ये दुई खुला र एक महिला पद छन् । खुला दुई पदका लागि वर्तमान महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसहित उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शंकर तिवारी, डा. सुनिल शर्मा र डा. सन्तोष उपाध्याय प्रतिस्पर्धामा छन् । महिला महामन्त्रीमा डा. डिला संग्रौला, रीता खनाल र महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार छन् ।

विशेष महाधिवेशनबाट महामन्त्री बनेका पौडेल र घिमिरेका लागि यो निर्वाचन आफ्नो पदलाई नियमित महाधिवेशनबाट निरन्तरता दिने प्रतिस्पर्धा हो । अर्कोतर्फ राणा, पुन, महर, तिवारी, शर्मा र उपाध्यायले फरक राजनीतिक तथा संगठनात्मक आधारबाट महामन्त्रीको दाबी प्रस्तुत गरेका छन् । त्यसैले सभापतिको चुनावभन्दा महामन्त्रीको परिणामले नयाँ केन्द्रीय कार्यसमितिको शक्ति सन्तुलन’bout थप संकेत दिनेछ ।

महामन्त्री पार्टीको संगठन सञ्चालन, राजनीतिक गतिविधि र नीतिगत काममा सभापतिपछिको प्रभावशाली पदमध्ये एक भएकाले तीन पदका लागि भइरहेको यो प्रतिस्पर्धालाई सामान्य पदाधिकारी निर्वाचनभन्दा फराकिलो अर्थमा हेरिएको छ ।

यसपटक सभापतिसहित पदाधिकारीको निर्वाचनमा औपचारिक प्यानलको अभ्यास नगर्ने भनिएको छ । औपचारिक प्यानल नहुँदा महामन्त्री र सहमहामन्त्रीका उम्मेदवारले व्यक्तिगत सम्बन्ध, जिल्ला तथा प्रदेशको संगठनात्मक आधार र महाधिवेशन प्रतिनिधिसँगको पहुँचका आधारमा मत माग्नुपर्ने अवस्था छ । एउटै प्रतिनिधिले सभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यमा फरक–फरक उम्मेदवार रोज्न सक्ने भएकाले पदअनुसार मतको समीकरण फरक पर्न सक्छ ।

सहमहामन्त्रीमा पनि पेचिलो प्रतिस्पर्धा
महामन्त्रीसँगै सहमहामन्त्रीका विभिन्न समावेशी समूहमा पनि उल्लेख्य प्रतिस्पर्धा छ । खुला सहमहामन्त्रीका लागि अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कँडेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगानालगायत उम्मेदवार छन् ।

कांग्रेस विधानअनुसार सभापति, वरिष्ठ उपसभापति, चार उपसभापति, तीन महामन्त्री, १५ सहमहामन्त्री र कोषाध्यक्ष गरी २४ पदाधिकारी रहने व्यवस्था छ । तीमध्ये १९ पदाधिकारी निर्वाचित हुने र चार सहमहामन्त्री तथा कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था छ । निर्वाचन समितिले १९ निर्वाचित पदाधिकारीका लागि प्रारम्भिक रूपमा ७९ जनाको उम्मेदवारी परेको जनाएको छ ।

आज ७ हजार २५५ प्रतिनिधिले मतदान गर्ने
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान हुने भएको छ । अन्तिम मतदाता नामावलीमा ७ हजार २५५ महाधिवेशन प्रतिनिधि कायम छन् । वर्षा र प्राविधिक कारणले यसअघि तोकिएको समयभन्दा तीन घण्टा ढिला मतदान सुरु गर्न लागिएको निर्वाचन समितिले जनाएको छ ।

राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा सात मतदान केन्द्रको व्यवस्था गरिएको छ । प्रदेश तथा प्रतिनिधित्वको आधारमा मतदान केन्द्र छुट्याइएको छ ।

विशेष महाधिवेशनबाट सभापति बनेका थापाका लागि १५औँ महाधिवेशनको निर्वाचन नेतृत्वको नियमित प्रक्रियामा प्रवेश गर्ने दोस्रो चरण बनेको छ । तर नयाँ कार्यसमितिमा उनको नेतृत्वसँगै महामन्त्री, उपसभापति र सहमहामन्त्रीमा आउने परिणामले कांग्रेसभित्रको शक्ति सन्तुलन कस्तो बन्छ भन्ने निर्धारण गर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

epaper

ताजा समाचार

रियाद विमानस्थल र साउदी विमानमा आक्रमण, कप्तानसहित ३ जनाको मृत्यु