धनगढीमा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले अस्पताल तथा स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोरको सुरक्षित व्यवस्थापन गर्न स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याएको छ ।

उपमहानगरपालिकाको वडा नम्बर २ मा स्थापना गरिएको केन्द्रको मङ्सिर ११ गते वडाध्यक्ष धर्मराज ओझाले उद्घाटन गरेका हुन् ।

उपमहानगरपालिकाकी उपप्रमुख कन्दकलाकुमारी रानाका अनुसार नगर क्षेत्रका अस्पताल तथा स्वास्थ्य संस्थाबाट निस्कने संक्रामक र जोखिमयुक्त फोहोर संकलन गरी निःसंक्रमणसहित सुरक्षित व्यवस्थापन गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो ।

उपमहानगरपालिकाले स्वास्थ्यजन्य फोहोर व्यवस्थापनका लागि शुल्कसमेत निर्धारण गरेको छ । जसअनुसार निःसंक्रमण नगरी संकलन गरिने फोहोर व्यवस्थापन गरेबापत प्रतिकिलो ६० रुपैयाँ र अस्पतालमै निःसंक्रमण गरिसकिएको फोहोरका लागि प्रतिकिलो ३५ रुपैयाँ शुल्क लाग्नेछ ।

उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख अशोक अवस्थीले प्रचलित ऐन तथा कानुनअनुसार उपमहानगरपालिकाले आफ्नै सवारीसाधनमार्फत स्वास्थ्य संस्थाबाट फोहोर संकलन गर्ने बताए । संकलित फोहोर केन्द्रमा ल्याएर पूर्ण रूपमा निःसंक्रमण गरेपछि टिन, प्लास्टिकलगायत सामग्री वर्गीकरण गरी सुरक्षित व्यवस्थापन गरिने उनले जानकारी दिए ।

नगरप्रमुख गोपाल हमालले धनगढीलाई फोहोर व्यवस्थापनमा देशकै नमुना पालिका बनाउने अभियानअन्तर्गत केन्द्र सञ्चालनमा ल्याइएको बताए ।

एक सय शय्याभन्दा बढी क्षमता भएका अस्पतालले आफ्नै फोहोर व्यवस्थापन केन्द्र स्थापना गर्नुपर्ने कानुनी व्यवस्था भए पनि साना अस्पताल तथा क्लिनिकमा त्यस्तो संरचना नहुँदा स्वास्थ्यजन्य फोहोर जथाभावी फाल्ने समस्या रहेको उनले बताए ।

‘साना स्वास्थ्य संस्थामा आफ्नै व्यवस्थापन केन्द्र नहुँदा स्वास्थ्यजन्य फोहोर जथाभावी फालिएको पाइएको थियो,’ नगरप्रमुख हमालले भने, ‘यो केन्द्र सञ्चालनमा आएसँगै अस्पतालहरूलाई ठूलो राहत मिल्नेछ । जथाभावी फोहोर फाल्ने कार्य नियन्त्रणमा पनि कडाइ गर्नेछौँ ।’

धनगढीलाई सफा, उज्यालो र हरित सहर बनाउने अभियानलाई सफल बनाउन स्वास्थ्यजन्य फोहोरको सुरक्षित व्यवस्थापनमा नागरिक, स्वास्थ्य संस्था तथा सरोकारवालाको सहयोग आवश्यक रहेको नगरप्रमुख हमालले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 61 times, 1 visits today)

epaper

ताजा समाचार

‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ पुस्तक विमोचन