कांग्रेस १४औं महाधिवेशन : कार्यतालिका नै प्रभावित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २२ असारको केन्द्रीय समितिबाट परिमार्जन गरेको महाधिवेशनको सुरु कार्यतालिका नै प्रभावित भएको छ । कांग्रेसले पछिल्लो पटक कोरोना संक्रमणको कारण देखाउँदै पार्टी संरचना समायोजनदेखि क्रियाशील सदस्यता वितरण र पार्टीका तल्ला तहका सबै संरचनाको अधिवेशनको मिति हेरफेर गरेको थियो ।

जसअनुसार पछिल्लो पटक तोकिएको १० साउनसम्ममा सकिनुपर्ने कांग्रेसको अन्तरिम संरचनाको समायोजनको काम कांग्रेसले अझै सकेको छैन । कांग्रेस पार्टी कार्यालयले ६५ जिल्लामा समायोजनको काम सकिएको दाबी गर्दै आएको भए पनि केही जिल्लामा केही वडा र केही स्थानीय तहमा समायोजन नसकिँदा समायोजनको काम अड्किएको छ ।

कांग्रेस केन्द्रले दाबी गरेका बाहेक बाँकी १२ जिल्लामा समायोजनमा विवाद देखिँदै आएको छ । प्रदेश २ का आठ जिल्लामा सबैभन्दा धेरै विवाद छ । यस्तै काभ्रे, सिन्धुपाल्चोक र मुस्ताङमा समेत समायोजनमा विवाद देखिँदै आएको छ ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले कोरोना संक्रमणकै कारण पार्टीको अन्तरिम संरचना समायोजनको काममा ढिलाइ भएको बताए । ‘धेरै जिल्लामा त समायोजनको काम सकिएको छ, केहीमा एउटा वडाको मात्रै बाँकी रहँदा पनि अड्किएको अवस्था छ, केही जिल्लामा कोरोनाका कारण निषेधाज्ञा जारी भएपछि काम रोकिएको छ,’ कांग्रेस मुख्य सचिव पौडेलले राजधानीसँग भने ।

– क्रियाशील सदस्यता वितरणको म्याद सकियो, वितरण सकिएन
– महाधिवेशन सर्ने निश्चित

यसैगरी, क्रियाशील सदस्यता वितरण र नवीकरणको मिति समेत प्रभावित भएको छ । कांग्रेसले त्यसका लगि २५ असारदेखि साउन मसान्तसम्मको समय तोकेको थियो । कांग्रेसले भदौभित्र अन्तिम नामावली केन्द्रीय निर्वाचन समितिमा पठाइसक्न सबै जिल्लालाई निर्देशन गरेको छ ।

यसरी आएका क्रियाशील सदस्यका नाममा असोज मसान्तभित्र उजुरी गर्न र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन भनिएको छ ।

यसैगरी, ६ पुसमा वडा अधिवेशन, ८ पुसमा ७ सय ५१ स्थानीय तहको अधिवेशन, ११ पुसमा प्रदेशसभा र प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १३ पुसमा गर्ने निर्णय कांग्रेसले गरेको छ ।

यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन १६ पुसमा र सातै प्रदेशको अधिवेशन ६ माघमा गरिसक्ने निर्णय कांग्रेस केन्द्रीय समिति बैठकले गरेको छ ।

कांग्रेसले महाधिवेशनका लागि यसअघि सार्वजनिक गरेका क्रियाशील सदस्यता वितरण, सदस्यताको नवीकरण र छानबिनको प्रक्रिया कोरोना संक्रमणकै कारण प्रभावित भएको थियो ।

पार्टीका संरचना समायोजनको काम नसकिएका कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणको कामसमेत सम्पन्न गर्न नसकेको हो ।

केही दिनअघि मात्रै कांग्रेसले क्रियाशील सदस्यताको माग बढेको भन्दै शत प्रतिशत सदस्यता वितरण बढाउने निर्णय गरेको थियो । जसअनुसार कांग्रेसले हाल कायम रहेको करिब ५ लाख क्रियाशील सदस्यतालाई बढाएर १० लाख अर्थात् दोब्बर बनाउने नीति लिएको हो । तर, समायोजन नसकिएका जिल्लामा कांग्रेसले सदस्यताको फाराम नै पठाएको छैन ।

कांग्रेसले पार्टीको १४औं केन्द्रीय महाधिवेशन आगामी ७ देखि १० फागुनसम्म काठमाडौंमा गर्ने निर्णय गरिसकेको भए पनि सो मिति समेत सर्ने कांग्रेस पदाधिकारीहरूले नै बताउँदै आइरहेका छन् । कांग्रेस उच्च तहमा जेठ वा भदौमा महाधिवेशन गर्ने विषयमा छलफल भइरहेको छ ।

संरचना समायोजन र क्रियाशील सदस्यता वितरणको तालिका प्रभावित भएसँगै अब कांग्रेसका लागि फेरि नयाँ कार्यतालिका ल्याउनुपर्ने बाध्यता देखिएको छ ।

कांग्रेस विधानअनुसार केन्द्रदेखि बुथ तहसम्म आठ तह छन् । कांग्रेसले ६ हजार ७ सय ४३ स्थानीय तहका वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म गरी आठ तहको नेतृत्व छनोट गर्नु पर्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

क्यानडा पठाईदिन्छु भन्दै दुवई पुर्‍याएर मानवबेचबिखन, एक जना पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको चन्द्रकोटमा गठबन्धनका अध्यक्ष/उपाध्यक्ष विजयी