ललितपुर । ललितपुरका ६ वटा स्थानीय तहमध्ये ललितपुर महानगरपालिकाको प्रमुखमा पुरानै व्यक्तिबीच प्रतिस्पर्धा हुँदै छ । ललितपुर महानगरपालिका प्रमुखका लागि फेरि चिरिबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारबीच प्रतिस्पर्धा हुने भएको हो ।
दुवै पुरानै अनुहार भए पनि कांग्रेसका महर्जन अहिले सत्ता गठबन्धनको सिफारिसमा मेयरमा उठ्दा ब्यन्जनकारलाई फेरि एमालेले मेयरकै टिकट दिएको हो । दुवैले आआफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन् । व्यन्जनकारले पाँचवर्षे मर्हजनको कार्यकाल त्यत्ति सफल नभएकाले आफू अर्को विकल्प भएको बताएका छन् । मर्हजनले भने आफ्नो कार्यकालमा थुप्रै राम्रा काम गरेको दाबी गरेका छन् । ‘साइकल लेन, फ्लाइ ओभर, सडक पखाल्ने आश्वासन पूरा भएन,’ व्यन्जनकारले भने, ‘चिरीबाबु संस्थागत निर्णयभन्दा पनि एकलौटी निर्णय गरेर अगाडि बढ्न खप्पिस छन् ।’
मर्हजन भने यो मान्न तयार छैनन् । आफूले सबैको सल्लाहमा मात्र काम गरेको दाबी गर्छन् । संस्कृति संरक्षण, सडक निर्माणलगायतमा मर्हजनको अग्रसरतामा काम भएको छ । २०७४ सालको चुनावमा ३ सय २६ मतले पराजित भएका व्यन्जनकार यसपालिको चुनाव ढुक्कसँग जित्ने दाबी गर्छन् । सो निर्वाचनमा महर्जनले २४ हजार ६ सय ४२ मत ल्याउँदा व्यन्जनकारले २४ हजार ३ सय १६ मत पाएका थिए ।
‘अघिल्लो चुनावमा आफूलाई जालझेल गरेर हराइएको हो,’ उनले भने, ‘दुईटा वडाको मत तलमाथि हुँदा मलाई हराइएको थियो, फेरि गन्न माग गरे पनि निर्वाचन अधिकृतले मानेनन् ।’
पुनः मतगणनाको माग लिएर व्यन्जनकार अदालत गए पनि अदालतले उनको रिट खारेज ग-यो । तत्कालीन साझा पार्टीका उम्मेद्वार रमेश महर्जनले १३ हजार ४ सय ६८ मत ल्याउँदा माओवादीका दीपेश महर्जन १३ हजार ४ सय ५८ मत पाउका थिए । यसअघि माओवादीले पाएको मत पाउनेमा मर्हजन ढुक्क छन् ।
एमाले फुटेर बनेको एकीकृत समाजवादीको मत पाउने कांग्रेसको विश्वास छ । एमालेले माओवादी र समाजवादी गए पनि धेरै जना यहीँ रहेको दाबी गरेको छ । नेकपा एकता भंग भएसँगै माओवादीबाट आएकी मञ्जली शाक्यसहितको समूह एमालेमा लागेको छ । यसले पनि एमालेलाई बलियो बनाएको छ ।
माओवादी केन्द्रका बाबुराज बज्राचार्य उपमेयरमा उठेका छन् । प्रतिपक्षी दल एमालेबाट उपमेयरमा मन्जली शाक्यले उम्मेद्वारी दर्ता गरेकी छन् । महानगरको निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार १२ जना मेयरमा र १३ जना उपमेयरमा उम्मेद्वारी दर्ता भएको छ । मेयरमा विवेकशील साझाबाट उज्जवलकृष्ण श्रेष्ठ, राप्रपाबाट अष्टबहादुर मर्हजन, नेमकिपाबाट अशोक मर्हजन, मंगोल नेसनलबाट राम मर्हजनले मेयरमा उम्मेदवारी दिएका छन् । उपमेयरमा सञ्चारकर्मी कुशुम बज्राचार्य, स्वतन्त्रमा अजमान जोशी र राप्रपाबाट स्वर्णिमा शाक्यले मनोनयन दर्ता गरेकी छन् ।
महाङकालमा प्रमुखमा महिला उम्मेद्वार
ललितपुरका ६ वटा स्थानीय तहमा सोमबार मनोनयन दर्ता सम्पन्न भएको छ । नेकपा एमालले मनोनयन दर्ता गरेका सबै स्थानीय तहमा महिलाको समान सहभागिता छ । एक महानगर, दुई नगर र तीन गाउँपालिका रहेको ललितपुरमा एउटा स्थानीय तहमा त प्रमुखमै एमालले महिलालाई अगाडि सारेको छ ।
महाङकाल गाउँपालिकामा मात्रै मुख्य दलबाट महिलालाई अघि सारिएको छ । एमालेले कमला वाइवालाई प्रमुखमा अगाडि सारेको छ । उनी निवर्तमान उपप्रमुख पनि हुन् । उनी हाल उपप्रमुखबाट प्रमुखमा चुनाव लड्ने ललितपुरकी एक्ली उम्मेद्वार हुन् ।