वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनका लागि आवश्यकभन्दा चार गुणा बढी उम्मेदवारले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसले स्थानीय तहमा सामान्यतः आकर्षण बढाएको छ । यो आकर्षण पूर्वमन्त्री र सांसददेखि प्रहरी अधिकृत निजामती सेवामा रहेकामा समेत देखिन थालेको छ ।
स्थानीय जनताको सेवा गर्नु, सेवक बन्नु र सेवासुविधा उपलब्ध गराउनु आफंैमा जनप्रिय काम पनि हो । यो मानवले गर्ने काममध्ये सबैभन्दा सर्वोत्तम र उत्कृष्ट काम पनि हो । हरेक साधु, सन्त, महन्त तथा व्यापारी र बुद्धिजीवी यसमा आकृष्ट हुँदै गइरहेका छन् । अहिले स्थानीय तहमा रहेका पदको ४ गुणा बढी उम्मेदवारी पर्नु आकर्षणको एक अनुपम उदाहरण पनि हो । देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ५ सय ९८ जनाको उम्मेदवारी पर्नु सामान्य कुरा होइन । यो भनेको चाहना र आकर्षणको उत्कर्ष पनि हो । तर, यो चाहना जनताको सेवाका लागि अभिव्यक्त भएको हो वा अरू नै स्वार्थ र चाहनाले यसमा काम गरेको छ सोको भने निक्र्योल हुन बाँकी छ । विगतका अभ्यास हेर्दा त्यति सकारात्मक हुन नसके पनि आगामी दिनमा राम्रा उम्मेदवार छनोट हुन सके भने परिणाम राम्रो आउन सक्ने आशा गर्न सकिन्छ ।
स्थानीय तहको जनप्रतिनिधिको पद यति लोकप्रिय र आकर्षक हुनुमा कतै सत्तालोलुपता र आर्थिक चलखेलले काम गरिरहेको त छैन ? हुन पनि विगतका वर्षमा स्थानीय तहमा आर्थिक चलखेल र दुरुपयोगका कुरा निकै चर्चामा आए । आर्थिक पारदर्शीता हुन नसकेको कारण स्थानीय सुशासनको जग बसाउन सकिएन पनि भनियो । अहिले हुँदै गरेको स्थानीय निर्वाचनको मुखैमा आएर सैयौं जनप्रतिनिधि अख्तियारको फन्दामा पनि परेका छन् । यसले नराम्रो सन्देश दिएको छ । धेरैको आर्थिक बेरुजु देखिएको छ । कार्यकाल सकिँदासम्म पनि आर्थिक फस्र्यौट हुन सकिरहेको छैन । यसले स्थानीय तहमा ठूलो चिन्ता उब्जाएको छ ।
यद्यपि, अहिले निर्वाचनको माहोलमा विगतका खराबी पक्षको समीक्षा गर्दै अधिकतम रूपमा हाम्राभन्दा पनि राम्रा उम्मेदवारको खोजी हुन जरुरी छ । यसका लागि आमजनता गम्भीर बन्नुपर्छ । हिजोका दिनमा जनताको काममा कुनै ध्यान नदिने, गाउँठाउँको विकासमा माखो पनि नमार्ने व्यक्ति यदि उम्मेदवारका रूपमा आएका छन् भने त्यस्ता व्यक्तिलाई भोट हाल्नु भोट खेर फाल्नुसरह नै हो । जनप्रतिनिधि पाँच वर्षका लागि चुनिने र त्यो पाँच वर्षमा चुनिएर आएकाले केही काम नगर्ने कमाउ धन्दामा मात्रै लिप्त हुने अवस्था आयो भने त्यो सिंगो गाउँकै लागि ठूलो दुर्भाग्यपूर्ण हुनेछ ।
एकातिर सुशासन र जनमुखी प्रशासनका कुरा उठ्दै जाने तर अर्कोतिर जनप्रतिनिधि यी कुराबाट विमुख हुँदै जादा कतै जनतासँगको सम्बन्ध सुधार्नै नसकिने गरी बिग्रने र भत्कने त होइन ? यसले वर्तमान व्यवस्थाको उज्ज्वल पक्ष हेर्न चाहनेका लागि समस्या खडा गरिदिन सक्छ । त्यसैले पनि स्थानीय जनप्रतिनिधि छनोट गर्दा नैतिकवान्, पारदर्शी र जनताको कामलाई आफ्नै काम ठान्ने असल व्यक्तित्वलाई छनोट गर्नुपर्छ ।






