‘गठबन्धनबाहेकका तालमेल खारेज गर्नू’

फाइल फोटो ।

काठमाडौं । सत्तारूढ गठबन्धन आबद्ध पाँच दलले गठबन्धनबाहेकका दलसँग भएका तालमेल खारेज गर्ने निर्णय गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकले कुनै पनि तहमा गठबन्धनबाहेकका नेकपा एमालेलगायत अन्य दलसँग तामेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले त्यस्ता तालमेल अविलम्ब खारेज गर्नेसहितका सातबुँदे निर्णय गरेको हो ।

सत्ता गठबन्धनले बनाएको निर्वाचन परिचालन तथा अनुगमन समितिका संयोजक एवं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमार्फत गठबन्धन आबद्ध दलबाहेक अन्य दलसँग गरिएका तालमेल खारेज गर्न निर्देशन गरिएको जानकारी दिए ।

बागीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन

‘बैठकमार्फत गठबन्धनबाहेक अन्य दलसँग गरिएका तालमेल खारेज गर्न तथा बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता लिन भनिएको छ,’ पौडेलले राजधानीसँग भने ।

बैठकले गठबन्धन आबद्ध दलका स्थानीय नेताहरूबाट स्वतन्त्र (बागी) रूपमा दिएको उम्मेदवारी फिर्ता गराउनसमेत सम्बन्धित दललाई निर्देशन गरेको छ ।

यस्तै, नगरपालिका र गाउँपालिकाहरूमा गठबन्धनका दलबीचमा भइसकेको सिट बाँडफाँटको समझदारीविपरीत गठबन्धनभित्रका दलबाट दर्ता भएका उम्मेदवारी फिर्ता गर्ने सहमति पनि बैठकले गरेको छ ।

यसैगरी, ६ महानगर र ११ उपमहानगरमा गठबन्धनको निर्णयविपरीत गठबन्धनभित्रका दलकातर्फबाट दर्ता गरिएको उम्मेदवारीसमेत सम्बन्धित दलले फिर्ता गर्ने निर्णय बैठकले गरेको छ । यस्तै, महानगर र उपमहानगरमा पर्ने वडाहरूमा बाँकी सिटबाँडफाँट टुंग्याउन पनि निर्देशन दिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चा आबद्ध सत्ता गठबन्धनले यसअधिसमेत गठबन्धन आबद्धबाहेकका अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेका थिए ।

गठबन्धन आबद्ध दलहरूले तालमेल खारेज भएका ठाउँमा गठबन्धनकै दलका आधिकारिक उम्मेदवारलाई समर्थन गरेर अघि बढ्ने सहमतिसमेत गरेका छन् ।

बैठकपछि शीर्ष नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनबीच सिटबाँडफाँटको समझदारी हुन नसकेका नगरपालिका, गाउँपालिका र तिनका वडाहरूमा स्थानीय र प्रदेश संयन्त्रलाई आवश्यक पहल गर्न निर्देशन गरिएको छ भने आवश्यक परे केन्द्रसँग आवश्यक परामर्श र सहयोग लिन भनिएको छ ।

निर्वाचनमा चुनावी तालमेल नभएका नगर र गाउँपालिकामा सिट बाँडफाँटका लागि प्रदेश र जिल्ला संयन्त्रलाई बैठक राख्नसमेत निर्देशन दिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 468 times, 1 visits today)

epaper

ताजा समाचार

विपदमा कुन मन्त्रालयको तयारी के छ ? सरकार भन्छ : उच्च सतर्कता अपनाइएको छ