काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा टेस्ट मान्यता प्राप्त जिम्बावे ‘ए’ टिमसँग नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा नेपाललाई आइतबार जिम्बावेले ६ विकेटले हराएको हो । जिम्बावे एका कप्तान टोनी मुनयोंगा र तडिवानासे मरुमानीले अर्धसतक प्रहार गर्दै नेपालले दिएको १ सय ८२ रनको लक्ष्य १८ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै हासिल गरेको थियो ।
जिम्बावेका ओपनर तडिवानासे मरुमानी सर्वाधिक ५६ रन जोडे । उनले ४१ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे । जिम्बावेका कप्तान टोनी मुनयोंगा २३ बलमा ७ छक्काको मद्दतमा अर्धसतक पूरा गरेका थिए । जिम्बावेका रोए कायले ९ रन जोडे । इन्सेन्ट कैयाले ३० बलमा ९ चौकासहित ४७ रन खेलेका थिए । मरुमानी र कैयाले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए । सन्दीप लामिछानेले कैयालाई एलबीडब्लू आउट गर्दै पहिलो विकेट लिएका थिए ।
मरुमानी र टोनीले दोस्रो विकेटका लागि ७२ रनको साझेदारी खेले । टोनीलाई नेपाल स्पिनर बसिर अहमदले कट एन्ड बोल्ड आउट गरे । अहमदले २ विकेट लिएका थिए । उनले ३ दशमलव ५ ओभरमा २५ रन खर्चेर २ विकेट हासिल गरेका हुन् लामिछाने र । करण केसीले भने समान १÷१ विकेट हात पारे ।
नेपालले टस हारेर पहिले ब्याटिङको निम्ता पाएको थियो । नेपालले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८१ रन मात्र जोड्न सफल भयो । नेपालका लागि आदिल अन्सारीले सर्वाधि ४७ रन जोडेका थिए । उनले २७ बल खेले । उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए ।
नेपालका ओपनर कुशल भुर्तेलले ४६, आसिफले ९ रन जोडे । कुशलले ३१ बलमा ८ चौकासहित ४६ रन जोडेका थिए
दोस्रो विकेटका लागि कुशल र रोहितले ५७ रनको साझेदारी खेलेका थिए । रोहितले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्र २८ रनमा रन आउट भए । आरिफ शेख २ र करण केसीले ४ रन मात्र जोडे । जिम्बावेका जोन मसारा, ब्रेन्डन मभुता, ल्युक जोंगवे र ब्राड इभान्सले समान १÷१ विकेट हात पार्न सफल भएका थिए । नेपालले जिम्बावेसँग तीन टी–२० अभ्यास खेल खेल्नेछ । दोस्रो खेल सोमबार हुनेछ ।
यो शृंखलालाई नेपालले आईसीसी विश्वकप लिग टुअन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक शृंखलाअघिको तयारी खेलमा रूपमा लिइएको छ । आईसीसी विश्वकप लिग टू आगामी जुनमा हुनेछ । यस शृंखलामा नेपालले ब्याटिङ सुधार गर्ने लक्ष्य राखेको छ ।






