व्यक्तिभन्दा नीति, पद्धति र सिद्धान्त ठूलो

काठमाडौं । प्रहरी महानिरीक्षकमा बढुवा भएका धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षकमा बढुवा भएका राजु अर्यालले सोमबारदेखि कार्यभार वहन गरेका छन् । गृह मन्त्रालयमा सोमबार आयोजित विशेष समारोहमा गृहसचिव टेकनारायण पाण्डेबाट दज्र्यानी चिह्न प्राप्त गरेपछि दुवै महानिरीक्षकले आ–आफ्नो कार्यालयमा गई पदीय जिम्मेवारी वहन गरेका हुन् ।

नवनियुक्त दुई महानिरीक्षकको प्रतिबद्धता

दज्र्यानी चिह्न प्रदान गर्न गृह मन्त्रालयमा आयोजित विशेष समारोह र त्यसपछि आ–आफ्ना प्रधान कार्यालयमा गई कार्यभार सम्हालेपछि दुवै महानिरीक्षकले दिएका निर्देशन सम्बोधनले प्रहरी÷सशस्त्र प्रहरीमा सुधारका संकेत देखिने धेरैले अपेक्षा गरेका छन् ।

फरक यति छ कि, नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालसँग संगठन सुधारका लागि प्रशस्तै समय छ । सशस्त्र प्रहरी नियमावलीअनुसार उनीसँग चार वर्ष पर्याप्त समय छ । तर, नवनियुक्त प्रहरी महानिरीक्षक सिंहसँग ११ महिना मात्र समय छ । यो छोटो अवधिमा धेरै काम गर्नुपर्ने दायित्व उनीसँग छ । आफ्नो नियुक्ति विवादको घेरामा रहेकाले धेरैभन्दा धेरै काम गरेर ‘आफूप्रति सरकारको विश्वास’ ठीक थियो भन्ने देखाउनुपर्ने अर्काे चुनौती पनि उनलाई छ ।

विशेषगरी संगठनलाई व्यक्तिभन्दा नीति, पद्धति र सिद्धान्तबाट निर्देशित रहेर अघि बढाउने प्रतिबद्धता दुवैले जनाएका छन् । संगठनको सुदृढीकरण, प्रहरी कर्मचारीको क्षमता तथा वृत्तिविकास, चुस्त शान्ति सुरक्षा, नागरिकका अधिकार रक्षा गर्दै बदलिँदो स्थितिमा अपराध नियन्त्रणका लागि उपयुक्त रणनीति अख्तियार गरी अघि बढ्ने दुवै जनाको प्रतिबद्धता रहेको छ ।

यति मात्र होइन, डेढ सातापछि हुन गइरहेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्ण, भय र धाँधलीरहित तवरमा सम्पन्न हुने वातावरण तयार पार्ने जिम्मेवारी पनि दुवैमाथि छ । यी दुवै महानिरीक्षकको कार्यक्षमता यही स्थानीय तह निर्वाचनले पनि पुष्टि गर्छ ।

त्यसो त दुवै महानिरीक्षकले निर्वाचनलाई प्राथमिकतामाथिको पनि प्राथमिकतामा राखेको देखिन्छ । निर्वाचनमा सुरक्षा व्यवस्था मजबुद बनाउन नसकेको अवस्थामा त्यही दिनदेखि आलोचनाको सिकार हुने डर पनि दुवैमा देखिन्छ । यी बाहेक अपराधविहीन समाज निर्माणमा लाग्नुपर्ने दायित्व पनि दुवैमा छ । विविध जघन्य अपराधका घटना नियन्त्रण, दोषी पक्राउ गरी कारबाही गर्नुपर्ने चुनौती, प्रविधिको दुरुपयोग गरीहुने आपराधिक गतिविधि नियन्त्रणमा संवेदनशील भएर लाग्नुपर्ने अवस्था पनि छ ।

त्यसो त दज्र्यानी चिह्न प्रदान कार्यक्रममा बोल्दै गृहसचिव टेकनारायण पाण्डेबाट ‘दुवै संगठनभित्र आन्तरिक विकृति विसंगति रहेको र त्यसलाई अन्त्य गर्न’ दिएको सुझावले सुरुमा घरैबाट काम थाल्नुपर्ने अवस्थामा पनि उनीहरूलाई पु-याएको छ ।

त्यसैले त आफ्नो पहिलो निर्देशन सम्बोधनका क्रममा नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले भनेका छन्, ‘सांगठनिक क्रियाकलापलाई प्रक्रियागत एवं पारदर्शी बनाई कर्मचारीहरूमा जवाफदेहिता बढाउने र अकर्मण्यता पूर्णतः निर्मूल गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता कायम राख्ने, आपराधिक तत्वहरूसँगको साठगाँठलाई निमिट्यान्न पार्नेमा केन्द्रित राखी सहकर्मीहरूको सहकार्यमा संगठन सुधारका कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्छु ।’

उनले गैर व्यावसायिक आचरण र व्यवहार किञ्चित सह्य र क्षम्य नहुने बताउँदै भनेका छन्, ‘कानुनसम्मत जिम्मेवारी बहन गर्ने सिलसिलामा कुनै अधिकृत तथा जवानहरूबाट अकर्मण्यता, लापरबाही र उदासीनता हुनेछैन । चोरी निकासी गर्ने, प्राकृतिक स्रोतको दोहन गर्ने तथा अन्य आपराधिक कार्यमा संलग्न हुने तत्वहरूसँगको साठगाँठ एवं अवाञ्छित क्रियाकलापमा संलग्न रहने, प्रश्रय दिने तत्वहरूको पहिचान गरी कारबाही गर्ने सवालमा कठोर रूपमा प्रस्तुत हुने जानकारी गराउँछु ।’

सिंहजस्तै भनाइ नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षकले पनि राखेका छन् । उनले भनेका छन्, ‘सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी कार्यक्षेत्रमा परिचालित रहँदा फौजी संस्कारको बर्खिलाप तथा कुनै पनि आर्थिक प्रलोभनमा परी गलत क्रियाकलापमा संलग्न भएको पाइएमा त्यस्ता कर्मचारीलाई कुनै पनि हालतमा छाडिँदैन ।’

महानिरीक्षक अर्यालले व्यक्तिगत स्वार्थलाई थाती राखी राष्ट्र र संगठनले लिएको लक्ष्य प्राप्तिमा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारी एकजुट भई सामूहिक भावनाकासाथ लाग्नुपर्ने बताउँदै संगठनबाट के लिन सक्छुभन्दा पनि संगठनलाई के दिन सक्छु भन्ने भावनाका साथ व्यावसायिक भई कार्यसम्पादनमा लाग्न निर्देशनसमेत दिएका छन् ।

उता, प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा मानवअधिकारको संरक्षण र संवद्र्धन गर्दै विधिको शासन स्थापना गरी आर्थिक समृद्धि हासिल गर्ने योजना अघि सारेका छन् । उनले सहरकेन्द्रित अपराधको स्वरूपमा भइरहेको तीव्र परिवर्तनले थपिएका चुनौतीको सामना गर्न प्रहरी संगठलाई आधुनिकीकरण गर्दै लैजानुको विकल्प नभएको पनि बताए ।

उनले ‘सुरक्षित सहर र सुरक्षित गाउँ’ निर्माण गरी आमनागरिकमाझ नेपाल प्रहरीको विश्वास अभिवृद्धि गर्नेतर्फ प्रहरी रणनीति केन्द्रित हुने पनि बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पनि आफ्ना केही योजनासमेत अघि सारेका छन् । उनले सीमा सुरक्षामा डेडिकेटेड फोर्स निर्माण गर्नेमा ध्यान केन्द्रित गर्ने योजना सुनाउँदै सीमा सुरक्षामा नागरिक–सशस्त्र प्रहरी साझेदारी बोडर सर्भिलेन्स कमिटी गठन गरी इन्टेलिजेन्स ब्युरो निर्माण गर्ने अठोट पनि गरेका छन् । सीमा निगरानी गर्न बहुउद्देशीय सडक निर्माणमा पनि उनले जोड दिएका छन् । २४सै घण्टा सञ्चालन हुनेगरी सीमा सुरक्षा डेस्क स्थापना गर्ने पनि उनको योजना रहेको छ ।

उनले भनेका छन्, ‘शान्तिको समय तथा पब्लिक अडर म्यानेजमेन्टजस्ता प्रकृतिका कार्यक्रममा नेपाल प्रहरी तथा प्रतिविद्रोह, आतंककारी नियन्त्रणजस्ता प्रतिरक्षाका कार्यहरूमा नेपाली सेनासँग सुमधुर सम्बन्ध र समन्वयात्मक ढंगले अघि बढ्नेछु ।’

आर्थिक पारदर्शितामा रहने र राजस्व संकलन तथा चोरी, तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेको पनि उनले बताएका छन् ।

अपराध र सुरक्षा चुनौतीका आधारमा मापदण्ड बनाई सहर र ग्रामीण ‘पुलिसिङ’ को अवधारणा अनुरूप सुरक्षित सहर र गाउँ बनाई आमनागरिकमा प्रहरीको विश्वास वृद्धि गर्नमा रणनीति केन्द्रित गर्ने अठोट उनको छ ।

उनले सशस्त्र प्रहरी कर्मचारीहरूको सरुवा, बढुवा, मिसनलगायतका कार्यहरू वैज्ञानिक र पारदर्शी ढंगले अगाडि बढाइने र संगठनको विकास र विस्तारमा समेत विशेष ध्यान पु-याइने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 407 times, 1 visits today)

epaper

ताजा समाचार

१८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य नबनाउन काँग्रेसको अपिल