कर छलीका महासञ्जाल तोड

देशमा आन्तरिक उत्पादन नबढे पनि उत्पादन खपतका कुरामा भने असीमित बढोत्तरी आएको छ । राज्यले सामान निर्यातमा पनि र आयातमा पनि राजस्व लिने गर्दछ । निर्यात घटे पनि आयात भने अथाह छ । यो आयातको ठूलो प्रतिशत बिना भन्सार महसुल हुँदै आएको तथ्य खुल्नेगरेको आजको होइन । निकै पुरानो र झेल्दै आएको कुरा हो । तर, पनि यही खुला रहस्यका रूपमा रहेको राजस्व छल्ने प्रक्रिया रोकिने होइन, झन् फस्टाउँदै गयो । राज्य यस विषयमा चुकिरहेको देखिन्छ । निगरानी बढाउने, चुहावट रोक्ने, कडाइ गर्ने, दण्ड जरिमाना लिने, मुद्दा लगाउने, बाँकी रहेको असुल्ने आदि जे भनिए पनि राजस्व छलीले आफ्नो आयाम र आयतन घट्न दिएको देखिँदैन ।

राजस्व छलीका घटना एकपछि अर्को गरी बढ्दै गइरहेका छन् । राजस्व छलीका केही विषय र सन्दर्भ सतहमा ल्याइए पनि छली गर्ने महासञ्जाल भने सरकारसँगै टाँसिएर बसिरहेको देखिन्छ । सरकारका उच्च पदस्थ नै राजस्व छली गर्नेलाई जोगाउने खेलमा लाग्न पुुग्छन् जुन निकै दुःखद र दुर्भाग्यपूर्ण छ ।

लहरो तान्दा पहरो गर्जने स्थिति निर्माण गरेर बसेको राजस्व छलीका घटना शासक र प्रशासकका सेटिङमा लुक्ने र हराउने गरिरहेको यथार्थ कसैबाट छिपेको छैन । सरकार जसको बन्छ, उसैले राजस्व छली गरेर कराडौं आर्जन गरिने ठाउँमा आआफ्ना मानिस सेटिङ गरेर राख्ने गर्दछन् । सरकारमा रहेका बेलामा र सरकार बाहिर रहँदा पनि यस्ता सेटिङले नेता, नेताका परिवार तथा तिनका पार्टी कार्यकर्ताको भरणपोषणमा ठूलो टेवा दिइरहेका हुन्छन् । यस्तो सेटिङको महासञ्जाल राज्य र सरकारसँग अभिन्न रहेर जोडिएका हुन्छन् र छन् पनि । त्यसैले तल्लो तहमा हुने राजस्व छलीका घटना बाहिर आए पनि उपल्लो तहमा हुने र भइरहेका राजस्व छलीका घटना कहिल्यै पनि बाहिर आउँदैनन् वा आउन पाउँदैनन् ।

राजस्व अनुसन्धान विभागले विभिन्न चुनौतीका बाबजुद पनि हरेक साता करोडौं रुपैयाँ राजस्व छलीका मुद्दा अदालतमा दायर गरिरहेको छ । विभागको यो कार्यको प्रसंशा गर्नुपर्छ । तर, राज्यका अन्य कतिपय निकाय र न्याय क्षेत्रमा बढ्दो विकृतिका कारण विभागले दायर गरेको मुद्दाको समयमा नै फस्र्यौट हुन सकिरहेको छैन । राजस्व छली गर्नेहरू जोसुकै भए पनि ती देशघाती हुनुभन्दा अत्युक्ति हुँदैन । त्यस्ता देशघातीलाई कसैले पनि कुनै प्रकारले संरक्षण गर्नुहुँदैन । विभागले दायर गरेका राजस्व छलीका मुद्दालाई अदालतले पनि उच्च प्राथमिकतामा राखेर छिटोभन्दा छिटो टुंगोमा पु¥याउनुपर्छ । राजस्व छली जति धेरै हुन्छ त्यति नै मुलुकमा कुशासन र भ्रष्टाचार मौलाउँदै जाने भएकाले पनि त्यस्तो अवस्था आउन दिनुहुँदैन । मुलुकको विकास र समृद्धिका लागि पनि राजस्व छलीलाई पूर्णरूपमा निरुत्साहित पार्न सक्नुपर्छ । यसका लागि राजस्व छलीविरुद्ध नागरिक समाजबाट पनि छुट्टै अभियान सञ्चालन गर्नुपर्छ । राजस्व चुहावट र छली रोक्नु अहिलेको अहं आवश्यकता हो ।

तपाइको प्रतिक्रिया
(Visited 386 times, 1 visits today)

epaper

ताजा समाचार

बनगवाँ आगलागीमा सहयोग गरेको भन्दै मेयर हमाललाई भारतीय व्यापारीको धन्यवाद