निर्वाचन आर्थिक अपराधको स्रोत नहोस्

‘मैले नवलपरासी १ बाट पहिलोपटक ८० हजार, दोस्रोपटक ३ करोड र पछिल्लो वा तेस्रोपटक २०७४ सालको चुनावमा ६ करोड खर्च गरेर जितें ।’ यो भनाइ नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाको हो । शशांकको यस भनाइले हाम्रो चुनाव सालिन्दा कति महँगिँदै छ भन्ने कुरा तुलनात्मक रूपमै देखाउँछ । बीपी पुत्र शशांकको स्थानमा यदि बीपी कोइराला आफैं नै उम्मेदवार हुँदा हुन् त उनले एक पैसा खर्च नगरी चुनाव जित्न सक्थे । बीपीले खर्चै नगरी जित्न सक्ने छोरा शशांकले करोडौं खर्च गर्नुपर्ने अवस्था पनि उम्मेदवारप्रतिको जनआस्था र विश्वास स्वच्छ छवि, सिद्धान्तमा अडिग राजनीति, पारदर्शी व्यवहार र कार्यशैली, इमानदारिता र कर्तव्यप्रतिको दृढताकै भिन्नताले सिर्जित गरेको हो । व्यक्तिमा हुने सकारात्मक विशेषता करोडौं खर्चेर पनि खरिद गर्न पाइँदैन । सबैमा यस्तो गुण हुँदैन । मतदातालाई स्वतः आकर्षित गराउने भएकाले यस्ता व्यक्तिले मतका निम्ति पैसामा आफ्नो सम्मान बिक्री गर्नुपर्दैन । उम्मेदवारको हैसियतमा बीपी र शशांकबीचको मुख्य भिन्नता नै यही हो । शशांकले मुलुकको परिवर्तित राजनीतिक परिवेशअनुकूलै बनुपर्ने बाध्यता भएकोले रकम खर्चनुप¥यो । यो बीपीपुत्र शशांकको होइन राजनीतिक प्रवृत्तिको दोष हो ।

कहलिएको राजनीतिक परिवारकै पृष्ठभूमिमा जन्मिएको व्यक्तिकै यो अवस्था छ भने त्यसैको देखासेखी गरी राजनीतिमा लागेका तथा पैसाको बलमा राजनीतिज्ञ बनेका व्यक्तिको अवस्था अहिले कस्तो होला, अनुमान गरौं । सेवाबाट राजनीति आर्जनको पेसा बनेकाले खर्च नगर्ने व्यक्तिले अहिले चुनाव जित्दैन । अधिकांश मतदाता समेत राजनीतिलाई कमाइ खाने भाँडो बनाउँदै आएका स्वार्थी व्यक्तिकै ललीपपको प्रलोभनमा फस्दा ठगिँदै आएका छन् । संस्कारकै रूपमा विकसित भइसकेको यो विकृति अन्त्य नभएसम्म राजनीतिमा सुधार आउँदैन । यसको निम्ति दल र शीर्षस्थ नेताको मात्र होइन आममतदाताकै दृष्टिकोण सकारात्मक हुनुपर्दछ । पैसाको चलखेलमा निर्वाचित हुने व्यक्तिले जनहितको निम्ति प्राप्त विकास बजेटै दुरुपयोग गरी चुनावमा खर्च भएको रकम असुल गर्दै आएका छन् ।

स्वार्थको राजनीतिमा निपुण शीर्षस्थ नेताले नै राजनीतिलाई महँगो बनाउँदै ल्याए । आफ्नो आर्थिक हैसियतको कसी राजनीति ठान्ने व्यक्तिले नै यसलाई अस्वस्थ्य प्रतिस्पर्धा गर्ने रंगमञ्च बनाए । जुनसुकै हतकण्डा अपनाएरै भए पनि चुनावमा विजयी बन्ने र जसरी पनि सत्तामै पुग्ने मनस्थिति राख्ने व्यक्ति अस्वस्थ्य राजनीतिका त कुशल खेलाडी नै हुन् । यस्तै व्यक्ति बराबर सत्तासिन हुँदा उनीहरूले विभिन्न प्रकारको आपराधिक प्रवृत्तिलाई संरक्षण दिँदै ल्याए । आर्थिक अपराध पनि अधिकांशतः यही प्रवृत्तिका व्यक्तिबाट प्रारम्भ भयो । कतिपय अवस्थामा उनीहरूकै साथ सहयोगी र संरक्षणमै रहेका व्यक्तिमार्फत आर्थिक अपराध हुँदै आएको छ । राजनीतिक स्वच्छता अहिले व्यवहारमा पूर्णरूपमा लोप भइसकेको छ । यो राजनीतिक विकृति पराकाष्ठमा पुगेको संकेत हो ।

क्षमतावान्, सक्षम र इमानदार व्यक्ति अहिले निर्वाचनमा विजयी बन्न सक्दैनन् । यसको कारण हो, उनीहरूसँग मतदातालाई ख्वाइप्याइ गर्ने पर्याप्त रकम हुँदैन न त उनीहरू राजनीतिलाई आर्जनकै पेसा नै बनाउन चाहन्छन् । आफ्नो पसिनाको कमाइ फजुल खर्च गर्न उनीहरू चाहँदैनन् । सक्षम र योग्य व्यक्तिहरू सेवा भावना र इमानदारितालाई आफ्नो मुख्य सम्पत्ति ठान्छन् । आममतदाताले यसतर्फ विचार पु¥याउँलान् भन्ने सोच उनीहरूको हुन्छ । तर क्षणभरको मोजमस्तीमा भुलिएर वर्षौं पछुताउने बानी परिसकेका कतिपय मतदाताको व्यवहार र कार्यशैलीले आफूलाई साथ नदेला भन्ने मानसिकता उनीहरूको हुँदैन । सामाजिक व्यवहारको यथार्थता नबुझी चुनावमा होमिनेयोग्य र इमानदार व्यक्ति निर्वाचनमा सधैं पछि पर्दछन् । फाटफुट यस्ता व्यक्ति विजयी बने पनि यिनीहरूले सत्तामा पुग्ने अवसरै पाउँदैनन् । पुगिहाले पनि नैतिकता बन्धकमा राखी आर्जनलाई सर्वोपरी नठान्ने उनीहरूको दृष्टिकोण हुने भएकोले आसेपासेलाई उनीहरू सन्तुष्ट बनाउनै सक्दैनन् । यसपछिको निर्वाचनमा भने उनीहरूको इमानदारिता नै बाधक बन्न पुग्छ । नेताबीचकै यस्तो असमान कार्यशैलीले हाम्रो चुनाव स्वच्छ राजनीतिक ट्र्याकबाट अलगिएको छ । अपराधको पूर्वाधार पनि ट्र्याकविहीन अस्थिर राजनीति नै हो ।

निर्वाचन आयोगले हरेक चुनावमा आचार संहिता लागू गर्छ तर आचार संहितामा उल्लेखित मापदण्ड कुनै पनि उम्मेदवारले पूरा गर्दैनन् । न त निर्वाचन आयोगले आचार संहिताविपरीतको क्रियाकलाप गर्ने उम्मेदवार एवं दललाई नै कारबाहीको दायरामा ल्याउन सक्छ । आयोगले औपचारिकता पूरा गर्न ल्याएको आचार संहिता घोषणा सँगसँगै पूरा भएको मानिन्छ । शशांक कोइरालाको माथि उल्लेखित अभिव्यक्ति यसैको दृष्टान्त हो । मुलुकको निर्वाचन अपराधको स्रोत बन्दै छ भन्दा अधिकांशलाई विश्वास नलाग्न सक्छ । पछिल्लो समयमा मुलुकमा घट्दै आएको प्रमुख राजनीतिक अपराध भ्रष्टाचार, अवैध तस्करी, भन्सार चोरी निकासी पैठारी, सीमा अपराध, लुटपाट, तोडफोड र अगजनी, बन्द हडताल, ठगी, कालोबजारी, बलात्कार र हत्या नै हुन् । अधिकांश यस्ता अपराध कतिपय राजनीतिक व्यक्तिबाटै, कतिपय राजनीतिक अश्रयकै व्यक्तिबाट, कतिपय राजनीतिक नेताकै विश्वास प्राप्त व्यक्तिबाट तथा कतिपय राजनीतिक व्यक्तिकै नाम बेचेर हुने गरेका छन् । यस्ता अपराध कसरी भैरहेका छन् भन्ने’boutमा संक्षिप्त चर्चा गरौं ।

सुविधाभोगी स्वार्थी व्यक्तिको प्रचारमुखी विकास कहिल्यै पनि अनुभूतिजन्य हुँदैन भन्ने कुरा नबिर्सौं

आयोगले तोकदिएभन्दा सयौँ गुणा बढी खर्च गरी विजयी हुने व्यक्तिले आफ्नो खर्चलाई सुरक्षित लगानी ठान्छ । पद हत्याएपछि लगानीको हजारौं गुणा आर्जन गरी लाभान्वित बन्ने सपना उसले देखेकोे हुन्छ । यही मानसिकता प्रभावित उनीहरूको कार्य पनि नाफाखोरी हुन्छ । सामान्य काम गर्नुपर्दा पनि रकम लिने, रकम सौगात नदिनेलाई झुल्याइरहने, विकास निर्माणको मात्र होइन कार्यालय प्रयोजनमा आएकै बजेट घोटाला गर्ने, कम गुणस्तरको सामग्री प्रयोग गराई विकास निर्माणको बजेट हत्याइन्छ । औपचारिक रूपमा हुने गर्ने यस्तै कार्यबाट लगानी असुलउपर नहुने देखेमा आपराधिक व्यक्तिलाई हातमा लिएर भए पनि अवैध धन्दा सञ्चालन गराई कमिसन लिइन्छ । यस क्रममा हुने जस्तोसुकै आपराधिक कार्य संलग्नलाई बचाइन्छ । शक्तिकेन्द्र गुहारेरै भए पनि आफ्नो समर्थक र सहयोगीलाई कारबाहीबाट उन्मुक्ति दिलाउने राजनीतिक अपराधमा संलग्न व्यक्तिको मुख्य विशेषता हो ।

यस्तो कार्यमा उपल्लोस्तरको नेतादेखि तल्लो स्तरसम्मकै नेता संलग्न रहन्छन् । अपराध र अपराधीप्रतिको उनीहरूको नरम व्यवहारको कारकतत्व नै चुनाव खर्चसँग जोडिएको हुन्छ । हाम्रो मुलुकको सन्दर्भमा राष्ट्रिय राजनीतिकै निर्णायक भूमिकामा रहेका प्रभावशाली दल र शीर्षस्थ नेताले नै यो विकृतिको विजारोपण सँगसँगै संरक्षण गर्दै ल्याए । अहिले यो स्थानीय तहसम्म बिस्तारित भइसकेको छ । मन्त्री पदमा बहालरहेकै व्यक्ति, मन्त्री भइसकेको व्यक्ति, केन्द्रीय स्तरकै चर्चित व्यक्तिदेखि स्थानीय तहसम्मका नेता कार्यकर्ता नै भ्रष्टाचार, तस्करी सीमा अपराध तथा हत्या र बलात्कारमा संलग्न रहेको अनेकौं दृष्टान्त छन् । भ्रष्टाचार त अहिले संस्थागत रूपमै सुदृढ भइसकेको छ । विगतमा मुलुकको कार्यकारी प्रमुखकै भूमिकामा बहाल रहेका व्यक्तिले नै भ्रष्ट सहकर्मीलाई संरक्षण गर्दै ल्याएका दृष्टान्त पनि नभएका होइनन् ।

राष्ट्रिय गौरवका योजना कार्यान्वयन गर्ने, अत्यावश्यक सेवालाई विस्तार र प्रभावकारी बनाउने, कार्यालय प्रयोजनकै बहुमूल्य सामग्री खरिद गर्ने, सरकारका तर्फबाट गर्नुपर्ने विविध काम कार्य प्रारम्भ गर्ने क्रममा बोलपत्र आह्वान गर्दादेखि निर्माण सम्पन्न गर्ने चरणसम्म मन्त्रालयको नेतृत्वबाटै खुलेआम भ्रष्टाचार हुँदै आएको छ । संस्थागत भ्रष्टाचारको अर्को दृष्टान्त अर्थ केन्द्रित कतिपय राष्ट्रिय महत्वका कार्यहरू कानुनसम्मत ढंगले प्रक्रियागत रूपमा पूरा गर्नभन्दा मन्त्रिपरिषद्को ठाडो निर्णयबाट गराउने प्रवृत्ति बढ्नु हो । मन्त्रिपरिषद्कै ठाडो निर्णयमा हुने कार्य अख्तियारको अधिकार क्षेत्र बाहिरको मानिने भएकोले संस्थागत रूपमै यो प्रवृत्तिले बढावा पाउँदै आएको छ । यो राजनीतिक अपराधको अर्को दृष्टान्त हो । अख्तियार त अहिले नेताले गर्ने भ्रष्टाचारको संरक्षक नै बन्दै आएको छ । नेता संंवद्ध राजनीतिक भ्रष्टाचार कम हुने सम्भावना पनि देखिँदैन ।

नीतिगत भ्रष्टाचार संस्थागत रूपमै सुदृढ बनेको पछिल्लो अर्को दृष्टान्त नेपाल राष्ट्र बैंककै गर्भनरको बर्खास्ती हो । गर्भनरको बर्खास्ती गर्भनर सम्बन्धित गैरकानुनी कार्यसँग होइन राष्ट्र बैंकले अपनाउनुपर्ने भूमिका अपनाउने क्रममै भयो जसले व्यक्ति विशेषको स्वार्थलाई असफल बनाउने उद्देश्य लियो । ४० करोड शंकास्पद डलरसँग संवद्ध यो घटना अर्थमन्त्री जनार्दन शर्माकै स्वार्थसँग संवद्ध रहेको भन्ने चर्चाहरू बराबर हुँदै आएकै छन् । कतिपय यस्ता घटना गुपचुपमै भइरहेका छन् भने एकादुई सार्वजनिक हुन्छन् । संस्थागत भ्रष्टाचारभित्र मौलाएको नेता केन्द्रित स्वैच्छाचारिता उत्कर्षमा पुगेको संकेत यसले गर्छ । मन्त्रीको स्वैच्छाचारिताविरुद्ध कतै उजुर लाग्दैन, गलत कार्य गर्ने मन्त्री दण्डित हुँदैनन्, मन्त्रीले गरेको गलत कार्य कानुनसँग बाझिए त्यो कानुन नै निश्क्रिय हुने क्रम पनि बढ्दै आएको छ । जनसेवा गर्ने नाटक मञ्चन गरी सत्तामा पुगेका अधिकांश व्यक्तिकै बदनियतपूर्ण कार्यले देश र जनतालाई हानि पुगिरहेको छ । यो नेताद्वारा भएको राष्ट्रघाती कार्य हो । गर्भनरको बर्खास्ती अर्थमन्त्री जनार्दन शर्माको स्वैच्छाचारिताको पराकाष्ठा हो भन्ने आशय त सर्वोच्च अदालतद्वारा भएको आदेशले नै प्रमाणित गरिदिएको छ । यस्ता व्यक्ति पदासिन रहेसम्म अनेकौं यस प्रकृतिका घटना हुन सक्छन् ।

पैसाको चलखेलमा निर्वाचित हुने व्यक्तिले जनहितका निम्ति प्राप्त विकास बजेट नै दुरुपयोग गरी चुनावमा खर्च भएको रकम असुल गर्दै आएका छन्

पटकपटक मन्त्री बनेका शीर्षस्थ नेताहरू अहिले आफूलाई निर्विकल्प उम्मेदवार ठान्छन् । आममतदातालाई उनीहरूले आफूप्रति आकर्षित गराउँदै ल्याएका पनि छन् । तर, त्यही आकर्षणको कारकतत्व भने मतदाताले बुझ्ने प्रयासै गरेको देखिँदैन । पदमा रहँदा नकारात्मक क्रियाकलापै गर्ने व्यक्तिको सार्वजनिक आलोचनामा सहभागी बने पनि चुनावताका कतिपय मतदाता त्यस्तै नेतासँग घाँटी जोड्न पुग्छन् । यो हाम्रो व्यावहारिक यथार्थता नै हो । राजनीतिलाई आर्जनको पेसा बनाउन पल्केका यस्तै व्यक्तिसँग जनमत खरिद गर्ने हैसियत हुन्छ । पैसाकै भरमा उनीहरू मतदातालाई क्षणभरमै प्रभावित पार्दछन् । अधिकांश मतदाता आर्थिक सहयोगकै प्रलोभनमा फस्छन् भने कतिपय त क्षणिक खानपान र मोजमस्तीमै लभिन्छन् । सिद्धान्तको राजनीति गर्ने इमानदार व्यक्तिभन्दा यस्तै फजुल खर्च गर्ने लुटेरा प्रवृत्तिलको व्यक्ति पदासिन रहँदा देश र जनताको निम्ति के गरे भन्ने कुरा अधिकांश मतदाताले वास्ता गर्दैनन् । तर, यो आमनेपालीले ख्याल राख्नुपर्ने एवं मूल्यांकन गर्नुपर्ने महत्वपूर्ण कुरा हो । यस परिप्रेक्ष्यमा नेता मात्र होइन, नेताको प्रलोभनमा फस्ने व्यक्तिहरू पनि उत्तिकै दोषी हुन् ।

शीर्षस्थ नेताकै नक्कल अहिले स्थानीय तहका नेताले पनि गर्दै आएका छन् । स्थानीय मतदातालाई जसरी हुन्छ रिझाई मत हत्याउन पाए पदप्रतिको आफ्नो आशक्ति पूरा हुने ठान्ने प्रवृत्तिकै व्यक्ति अस्वस्थ्य प्रतिस्पर्धामा लाग्छन् । यिनै व्यक्तिको कारण हाम्रो राष्ट्रिय राजनीति दिशाहीन बन्दै छ । यो सबैको जड खर्चिलो चुनाव नै हो । कतिपय मतदाताकै दृष्टिकोण पनि कुन व्यक्तिबाट लाभ तत्कालै पाइन्छ उसैको पछि लाग्ने देखिएको छ । तर, इमानदार र नैतिकवान सक्षम उम्मेदवार र पैसाले नैतिकता एवं इमानदारिता खरिद गर्न चाहने स्वार्थी व्यक्तिमध्ये देश र जनताका लागि कुन महत्वपूर्ण हुन्छ ? भनी छानबिन गर्ने न्यायाधीश भनेकै मतदाता नै हौं भन्ने कुरालाई सबैलेम महत्व दिँदैनन् । यसैको फाइदा रैथाने व्यक्तिले लिइरहेका छन् । यस्तो हुनुको कारण हाम्रो विपन्न जीवनस्तर पनि हो । संस्थागत रूपमै विकसित भएका अस्वस्थ्य राजनीतिक प्रतिस्पर्धा निर्मुल पार्ने उपाय भनेको पनि दल र नेताकै सकारातमक कार्यशैली नै हो ।

यसैले स्थानीय तहको निर्वाचनमा केबल दलीय ट्रेडमार्ककै भरमा उनै रैथाने व्यक्तिलाई होइन स्वच्छ, पारदर्शी कार्यशैली भएको सक्षम र इमानदार विश्वासी व्यक्ति छानौं । सिद्धान्तमा अडिग, सेवामा समर्पित जनप्रिय विश्वासी व्यक्ति जुनसुकै पार्टीको भए पनि उसलाई विजयी बनाऔं । यस्ता व्यक्तिले क्षणिक खानपान र मोजमस्ती नगराए पनि भविष्यमा सबै मतदातालाई सेवा सुविधाभोगी गराउन सक्छन् भन्ने विश्वास गरौं । राजनीतिको मखुण्डो लगाई आपराधिक प्रवृत्तिलाई प्रोत्साहित गराउने व्यक्तिलाई छानीछानी पाखा लगाऊँ । क्षणिक लाभले दीर्घकालीन हानी पु¥याउँछ भन्ने कुरालाई गम्भीरताका साथ लिऊँ । आममतदाताले यसप्रति ध्यान नपु¥याएसम्म राष्ट्रिय राजनीतिमा समयसापेक्ष सुधार आउँदैन । सुविधाभोगी स्वार्थी व्यक्तिको प्रचारमुखी विकास कहिल्यै पनि अनुभूतिजन्य हुँदैन भन्ने कुरा नबिर्सौं । आफ्नो अमूल्य मत आपराधिक प्रवृत्तिलाई प्रश्रय दिनु होइन, निर्मूल पार्नका लागि हो भन्ने ठानौं । फजुलखर्चीलाई बहिष्कार गरी निर्वाचनलाई राजनीतिक अपराधको स्रोत बन्नबाट रोकौं । आममतदाताले गर्नुपर्ने यो महत्वपूर्ण निर्णय हो ।

तपाइको प्रतिक्रिया
(Visited 508 times, 1 visits today)

epaper

ताजा समाचार

बनगवाँ आगलागीमा सहयोग गरेको भन्दै मेयर हमाललाई भारतीय व्यापारीको धन्यवाद