कोरोना महामारीको ओमिक्रोन भेरियन्टपछिका नयाँ उत्परिवर्तनका कारण अहिले विश्व फेरि संकटमा पर्न थालेको देखिएको छ । कोरोना महामारीका विभिन्न भेरियन्ट निष्क्रिय र निष्प्रभावी पार्दै आएका अतिविकसित देशहरू अहिले फेरि महामारीका नयाँ उत्परिवर्तनसँगै संकटमा पर्न थालेका छन् । अमेरिका र चीनजस्ता देश अहिले कोरोना संक्रमणको बढ्दो अतिक्रमणले त्रस्त रहेका छन् । अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कमा कोरोना भाइरसको महामारी अप्रत्यासित रूपमा बढेर गइरहेको छ । न्युयोर्कमा महामारी फेरि बढ्न थालेपछि सिंगो सहरभरि उच्च सतर्कता कायम गरिएको छ । महामारीको अनुपातलाई हेर्दा न्युयोर्कलाई मध्यम खतरामा सूचीमा राखिएको छ । तर, महामारीको संक्रमकता र यसको फैलावटलाई हेरेर न्युयोर्क सहरलाई सम्भावित उच्च खतराको सूचीमा वर्गीकरण गरिसकिएको विज्ञ तथा महामारीसँग सम्बन्धित निकायका अधिकारीले बताउन थालेका छन् । मे महिनाको सुरुमै मध्यम खोजिमको अवस्थामा राखिएको न्युयोर्क अहिले उच्च जामेखिम उन्मुख हुँदै गइरहेको छ । उता चीनमा पनि कोरोना महामारीले सताउन र जनधनको जोखिम गरिदिन छाडेको छैन । विशाल जनसंख्या भएको चीनका हरेक सहर अहिले जुनसुकैबेला बढ्न सक्ने महामारी संक्रमणका कारण सतर्कताको अवस्थामा राखिएका छन् ।
कोरोना महामारी पत्ता लागेसँगै यसको रोकथाम र नियन्त्रणका लागि विभिन्न खालका औषधि तथा खोप विकास गर्ने र प्रयोगमा ल्याउनेगरे पनि विश्व जनस्वास्थ्य भने खतरामुक्त छैन । बरु नयाँ नयाँ उत्परिवर्तनले आक्रान्त छ । नयाँ जिनमा महामारीको भाइरस प्रवेश र त्यहाँबाट हुने नयाँ उत्परिवर्तन नै विश्व जनस्वास्थ्यका लागि खतरा बनेर आउने गरिरहेको छ । यसले विश्व जनस्वास्थ्यमा गम्भीर दबाब सिर्जना गरिरहेको छ । एकताका महामारी अबका दिनमा निकै कमजोर हुँदै जाने र मानिसलाई यसले कम क्षति र हानि गर्ने भनेर विज्ञहरूकै बीचमा पनि निकै बहस चलेको थियो । उत्परिवर्तिक नयाँ भाइरस अबका दिनमा निकै कम असर गर्ने खालक हुने आँकलन पनि गरिरएको थियो । यतिसम्म पनि भनिएको थियो कि मानिसले अहिलेसम्म अपनाएको मापदण्ड नै सायद पर्याप्त हुने छ । यसका लागि मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने आदि कुरामा नै जोड दिइएको थियो । साथै, यसमा विश्वास पनि गरिएको थियो । तर, अहिले आएर यतिले मात्र नपुग्ने र अरू थप नयाँ मापदण्डको विकास र व्यवस्था गरिनुपर्ने हुन सक्ने भनी सोचको दायरा फराकिलो बनाउन थालिएको छ ।
हालसम्म कायम गरिएका क्वारेन्टाइन, आइसोलेसन, होमआइसोलेसन तथा अन्य उपाय र विधिहरू काम नलाग्ने भएका भन्ने होइन तर ती अहिले आएर पर्याप्त देखिएका भने छैनन् । मानिसका गतिविधि घरभित्र वा कुनै क्षेत्र वा देशमा मात्र सीमित गर्न सकिने अवस्थामा छैनन् । विश्वभर मानिसका आवश्यकता र चाहनाअनुरूप व्यापारिक काम र तिनका व्यवस्थापन हुँदै आएको छ । जतिसुकै रूपमा कोरोना सर्ने उच्च जोखिमपूर्ण गतिविधि नगर्न र घरबाहिरका गतिविधि पनि कम गर्न भनिए पनि वैश्विक गतिविधि रोक्न वा कम गर्न सकिने अवस्था छैन । यसो नभएमा महामारी संक्रमणको अवस्था पनि घटेर जान सक्ने देखिँदैन । पछिल्लो समयमा अमेरिकामा १ करोड ३२ लाख बालबालिका कोरोना महामारीको पछिल्ला उत्परिवर्तनबाट संक्रमित हुन पुगेका छन् । यसले विश्वभर भयावह अवस्था त सिर्जना गर्दैन भन्ने आशंका बढेर गइरहेको बेला नेपालमा कोरोना महामारीको संक्रमण बढ्दै गइरहेको छ । त्यसैले यसका लागि समयमै आवश्यक उच्च सतर्कता अपनाउन जरुरी छ । सबैले फेरि कोरोनाविरुद्ध उच्च सतर्कता अपनाऔं ।