विनम्रतापूर्वक आत्मसमीक्षा गर

स्थानीय तहको निर्वाचनमा विशेषतः महानगरपालिका र उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता र विजयले नेपालका राजनीतिक दललाई विनम्रतापूर्वक आत्मसमीक्षा गर्नुपर्ने अवस्थामा पु¥याएको छ । यसको अर्थ यो होइन कि राजनीतिक दलले शासन गर्ने अधिकार नै गुमाएका छन् । यो जनमतले नेतालाई सच्चिएर अगाडि बढ्न दबाब दिएको छ । त्यसैले पनि अब राजनीतिक दलका नेता पूर्णरूपमा सच्चिएर अगाडि बढ्नुपर्छ ।

धरान उपमहानगरपालिका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धन र एमालेका उम्मेदवारलाई हराएर धरानको मेयर बन्ने अवसर पाएका छन् । राजधानी रहेको सबैभन्दा ठूलो काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह फराकिलो मतान्तरले अगाडि बढिरहेका छन् । धनगढीमा गोपाल हमाल ठूलो मतान्तरका साथ विजयी बनिसकेका छन् । उनीहरूले मत गणनाको प्रारम्भदेखि नै कायम गर्न थालेको अग्रतामा विराम रविश्रम कतै पनि देखिएन । राजनीतिक दलको जस्तो ‘पकेट एरिया’भन्ने पनि रहेन । निरन्तर र सबैतिर उनीहरूको समर्थन देखिँदै र कायम हुँदै गयो । उनीहरूप्रति जनताको समर्थन कतै निकै देखिने र कतै कत्ति पनि नहुने देखा परेन । बरु जहाँको मत गणना गर्दा पनि मत आउने क्रममा कमी देखिएन । यसमा कुनै पनि राजनीतिक दल र तिनको विचारले प्रभाव पारेको अनुभूत भएन । यसले वर्तमान व्यवस्थाको विकल्प खोजेको त देखाएको छैन, तर शासकको शीघ्र विकल्पको खोजी गरेको भने देखाएको छ ।

राजनीतिक दलको वैचारिक तथा दलीय लोकप्रियता निकै घट्दै गइरहेको देखिएका यी सांकेतिक तथा गम्भीर प्रकृतिका राजनीतिक परिघटनाले सत्ताधारी तथा प्रतिपक्षीको आउँदा दिन त्यति सहज र सुगम्य छैनन् भन्ने देखाएको छ । थप गम्भीर कुरो त के छ भने सत्ताधारी होऊन् वा प्रतिपक्षको गठबन्धन, तिनका उम्मेदवारले एकसाथ हार खाइरहेका छन् । केही ठाउँमा स्वतन्त्रको जित भएकाले तत्काल उल्लेख्य असर नपरेकाले यसलाई सामान्य राजनीतिक परिघटनाका रूपमा पनि लिन सक्लान्, राजनीतिक दलले । तर, यो उनीहरूविरुद्धको विद्रोह भने हो । दल र तिनका नेता तथा उम्मेदवारको सोच, चिन्तन, कार्यशैली र प्रवृत्तिविरुद्धको विद्रोह हो । व्यवस्था फेरियो, तर दल र तिनका नेता तथा कार्यकर्ताको विचार आचरणमा बदलाव आउन सकेन भन्ने यो सार्वजनिक प्रमाण हो । जसलाई जनता आफंैले मताधिकारद्वारा सार्वजनिक रूपमै अभिव्यक्त गरिदिएका छन् । त्यसो त दलका नेता तथा कार्यकर्तालाई ‘हामी जनतामाझ लोकप्रिय छैनांै’ भन्ने लागेकै छ । निर्वाचनमा दलीय सिन्डिकेटरूपी गठबन्धन निर्माण पनि यही त्रास र अनुभूतिको खुला स्वीकारोक्ति हो । त्यसलाई पनि अवज्ञा गरेर जनताले शीष्टताका साथ चेतावनी दिएका छन्, हात्ती पर्टी र तिनका सेता हात्ती गठबन्धनलाई पन्छाउँदै र स्वतन्त्र उम्मेदवारलाई जिताउँदै गरेर ।

राजनीतिक दलले समय छँदै बुझ्नुपर्छ, अबका दिनमा न त ‘गठबन्धन’ न त ‘गाँठबन्धन’ नै कामयावी हुनेछ । बरु जनताका लागि गर्न सक्ने सेवासुविधा लिएर बस्ती बस्तीमा पुग्नुपर्छ । राजनीतिक दलले काम गर्न नसकेर असक्षम भएमा स्वतन्त्र उम्मेदवारको अगुवाइमा हाल भइरहेका भद्र विद्रोह मात्र होइन, त्योभन्दा भिन्न र ठूलाखाले विद्रोहले पनि जन्म लिन सक्नेछन् । यसलाई समय छँदै राजनीतिक दलले मनन् गर्न जरुरी छ । जनता अब ढाँटेर ढाँटिने र सताएर सताइने अवस्थामा छैनन् । जनचेतना निरन्तर बदलिँदो छ र यसले प्रतिरोधात्मक चरित्र पनि ग्रहण गर्दै गइरहेको छ । त्यसैले दलले समय छँदै विनम्रतापूर्वक आत्मसमीक्षा गर !

तपाइको प्रतिक्रिया
(Visited 263 times, 1 visits today)

epaper

ताजा समाचार

बनगवाँ आगलागीमा सहयोग गरेको भन्दै मेयर हमाललाई भारतीय व्यापारीको धन्यवाद