भारतलाई बेच्न थालियो बिजुली

काठमाडौं । गत शनिबारबाट भारतलाई बिजुली निर्यात गर्न थालेको नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाको बिजुली पनि निर्यात गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेशबहादुर श्रेष्ठले बिहीबार रातिबाट ५२.४ मेगावाट उत्पादन क्षमताको लिखु–४ जलविद्युत् आयोजनाको बिजुली भारत बेच्न थालिएको बताए । ग्रिन भेन्चर्स लिमिटेडको लगानी रहेको लिखु–४ आयोजनाको बत्ती आज (शुक्रबार)बाट भारतीय जनताले उपभोग गरिसकेको हुने जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरणले वर्षा मौसममा भारतसँग सम्झौता भएअनुरूप ३ सय ६४ मेगावाट बिजुली निर्यात गर्ने भएको छ ।

यसअघि गत शनिबार नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको १ सय ४४ मेगावाट जडित क्षमताको कालीगण्डकी ‘ए’ विद्युतगृहबाट उत्पादित विद्युत् भारत निर्यात गर्न थालिएको थियो ।

– दैनिक ७ करोड आम्दानी

– वार्षिक २५ अर्बको बिजुली बेच्ने तयारी

प्राधिकरणले विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आईएक्स)मा गत बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत् निर्यात गरिरहेको थियो । कालीगण्डकी र लिखुको पनि सुरु भएसँगै प्राधिकरणले ३ सय १२ मेगावाट विद्युत् भारत निर्यात हुनेछ । प्राधिकरणका अनुसार शुक्रबारसम्ममा कालीगण्डकी ‘ए’को १ सय ४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट, देवीघाटको १४.५ र लिखु ४ को ५२ मेगावाट विद्युत् भारत निर्यात हुनेछ ।

वर्षातसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृह पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको ऊर्जालाई भारत निर्यात गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार निर्यात भएका विद्युत्को औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको छ । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) रहेको छ ।

नेपालले भारतीय भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३ सय ६४ मेगावाटसम्म विद्युत् बिक्री गर्न अनुमति पाएको छ ।

भारतले ६ वटा आयोजना गरी ३ सय ६४ मेगावाट निर्यात गर्न अनुमति दिएको थियो । प्राधिकरणले शुक्रबार ३ सय १२ मेगावाट बिजुली निर्यात गरेपछि दैनिक करिब ७ करोड रुपैयाँ आम्दानी हुनेछ ।

दैनिक रूपमा औसतमा ७ करोड रुपैयाँको बिजुली निर्यात भइरहेको जानकारी कार्यकारी निर्देशक घिसिङले ट्वीटरबाटसमेत गराएका छन् ।

प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार प्राधिकरणले बिहान र बेलुकी अत्यधिक खपत हुने पिक समयमा कम र पिक बेगरका समयमा धेरै परिमाण निर्यात गर्दै आएको भट्टराईले बताए ।

अहिले नेपालको पिकआवरमा १ हजार ५ सय ५० मेगावाट बिजुली खपत हुने गरेको छ । यसबाहेकका बिजुली भारततर्फ निर्यात थालिएको हो ।

भारतले सुरुमा त्रिशुली र देवीघाट (कुल ३९ मेगावाट)को बिजुली निर्यात गर्न अनुमति दिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलगत्तै थप चारवटा आयोजनाबाट उत्पादित बिजुली निर्यात गर्न सहमति भएको थियो ।

१ सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’, ५२.४ मेगावाटको निजी क्षेत्रको लिखु–४, ७९ मेगावाटको मध्य मस्र्याङ्दी, ६९ मेगावाटको मस्र्याङ्दीले अनुमति पाएका थिए । विद्युत् प्राधिकरणले ४ सय ५६ मेगावाट माथिल्लो तामाकोसीको पनि अनुमतिका लागि प्रस्ताव गरिसकेको छ । ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको बिजुली किन्न भने भारतले अझै आनाकानी गरिरहेको छ ।

भारतले अनुमति दिएका सबै आयोजनाको बिजुली आजबाट इन्डियन इनर्जी एक्सचेन्जमा जान थालेको छ ।

नेपालले गत वर्ष कात्तिक १७ गते पहिलोपटक इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स)मा बिजुली बेच्ने अनुमति पाएको थियो । आईईएक्समा बिजुली बेच्न अनुमति पाएसँगै २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट गरी कुल ३९ मेगावाट बिजुली गत वर्ष नै भारत जान थालिसकेका थिए ।

भारतमा सेयरबजारमा जस्तै हरेक १५ मिनेटमा बिजुलीको मूल्य फेरबदल हुने गर्छ । त्यस आधारमा विभिन्न ६ ब्लक निर्धारण गरिन्छ । यस आधारमा प्राधिकरणले निर्यात गरेको बिजुलीको मूल्य प्रतियुनिट १९ रुपैयाँ २० पैसाबराबर पाइने भएको छ ।

प्राधिकरणले मनसुनका ६ महिनामा मात्रै कुल २५ अर्बबराबरको बिजुली निर्यात गर्ने लक्ष्य राखेको छ ।

नेपालमा अहिले २२ सय मेगावाट बिजुली उत्पादन हुन थालेको छ । कुलेखानी आयोजनामा पानी भण्डारण गरी राख्ने भएकाले २४सै घण्टा २२ सय मेगावाट बिजुली उत्पादन नहुने गरेको हो । राति भने करिब १६०० मेगावाट मात्र बिजुली उत्पादन गरिँदै आएको छ ।

चालू आवमा कुल ६ सय २१ मेगावाट बिजुली थप भएको छ । केही आयोजनाबाट बिजुली थपिने क्रममा नै छ । आगामी आवमा कुल ७ सय मेगावाट बढी बिजुली थप हुने सरकारले प्रक्षेपण गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एक वर्षमा सुदूरपश्चिमबाट १३ सय बढी बेपत्ता

कुरी-कुरी