स्वार्थी मानसिकता र पारर्शीताको घाँडो

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साहको चुनाबी प्रचार मतदाताबीचकै बहस र चर्चाको विषय बनेको सर्वविदितै छ । कसैले १०÷१५ हजार भोट बालेनले काटे पनि साविकको एमालेको स्थानमा केशव स्थापितै विजयी बन्छन् भन्ने आशय अभिव्यक्त गरे । कसैले कोर इलाकाको समर्थन सिर्जना सिंहलाई नै हुने भएकाले कांग्रेसकै उम्मेदवार विजयी हुने प्रतिक्रिया दिए । कतिपयले राजावादी पार्टीको रूपमा चिनिँदै आएको राप्रपाकै उम्मेदवार कलाकार मदनदास श्रेष्ठ विजयी हुन्छन् भन्ने तर्क अघि सारे । कसैले उम्मेदवारको संख्या अत्यधिक भएकाले कसको पक्ष बलियो छ अहिले नै भन्न नसकिने राय व्यक्त गरे । काठमाडौंको मेयर पद आकर्षणको केन्द्र भएकोले उम्मेदवारको निम्ति मात्र होइन मतदाताकै पनि उत्सुकताको विषय बन्नु स्वाभाविक थियो ।

निर्वाचन परिणामले भने मतदाताको उपरोक्त अनुमान यथार्थताको जड नपहिल्याई आएको प्रमाणित ग¥यो । काठमाडौंवासी राजनीतिक पुस्तान्तरण चाहन्छन् भन्ने कुरा बालेन साहले प्राप्त गरेको अत्यधिक मतले नै प्रमाणित गरिदिएको छ । निर्वाचन परिणामले आफूलाई साथ नदिने निश्चित भएपछि नेकपा एमालेकै उम्मेदवार केशव स्थापितले त मतगणनाकै अन्तिम चरणमा बालेन ठकुरी साह भनेको त तराईका साह पो रहेछन् । मतदातालाई भ्रमित पारेर विजयी बने भन्ने आक्षेप नै लगाउन पछि परेनन् । लामो राजनीतिक अनुभव भएका मन्त्री बनिसकेका व्यक्तिकै दृष्टिकोण यथावस्थाकै हुनु, उपत्यकामा नेवार समुदायबाटै नेतृत्व लिनुपर्दछ भन्ने ठान्नु यति मात्र होइन तराईवासी उपत्यकामा विजयी हुनु नहुने आशय व्यक्त गर्नु तथा त्यस्तै व्यक्ति नै बराबर निर्वाचित भइरहने हो भने त्यसले काठमाडौंमा परिवर्तन ल्याउँछ÷ल्याउँदैन ? यो समस्त उपत्यकावासीकै चिन्ता र चासोको संवेदनशील विषय हो ।

बालेन साहको विजयलगत्तै विजय लक्षित सार्वजनिक अभिव्यक्ति आउनु अस्वाभाविक होइन । यस क्रममा कतिले बालेन साह राजाको मानिस भएको चर्चा गरे भने कतिले अत्यधिक रकम खर्च गरेर विजयी बने भन्ने मनगढन्ते अभिव्यक्ति दिए । तथापि, अधिकांश काठमाडौंवासीले भने बालेनको विजयलाई दूषित राजनीतिक प्रवृत्तिविरुद्धकै चुनौतीका रूपमा लिए । बालेन जस्तै स्वच्छ छविका अन्य निश्कलंक व्यक्तिकै राजनीतिमा बाहुल्यता भए राष्ट्रिय राजनीति स्वच्छ र जनहितकर बन्छ भन्ने मानसिकताका व्यक्ति उपत्यकामा अत्यधिक छन् भन्ने कुरा बालेनले प्राप्त गरेकै मतले बताएको छ । तर, बालेनको स्वच्छ र निश्कलंक छवि यथास्थितिवादी शक्तिको निम्ति हलुवामा बालुवा बन्न सक्छ भन्नेतर्फ बालेन आफैं सचेत बन्नुपर्दछ । बालेन साहको उदार, निःस्वार्थ एवं सुधारवादी दृष्टिकोण स्वार्थमा राष्ट्रिय ढिकुटी दोहन गर्न पल्केका रैथाने व्यक्तिका निम्ति घाँडो बन्न सक्छ ।

स्वार्थमा राजनीति गर्ने, राजनीतिलाई पारिवारिक हितमा प्रयोग गर्ने तथा सेवाबाट राजनीतिलाई आर्जनको पेसामा परिणत गराउने व्यक्तिहरू प्रारम्भदेखि नै बालेनको विपक्षमा रहेको संकेत महानगरपालिकाकै बैठकको परिदृश्यले देखाउन थालेको छ । यसको पछाडि परम्परावादी राजनीतिक शक्तिकै आड र भरोसामा नहोला भन्न सकिन्न । किनकि, परम्परावादी वा यथास्थितिवादी व्यक्तिले प्रचारमुखी विकास गर्छन् तर लाभ भने आफू र परिवारका सदस्यलाई नै दिलाउँछन् । परिवारकै सदस्यको राजनीतिमा हालीमुहाली रहिरहोस्, देश र जनताको हितको नाममा व्यक्तिगत हितमै राजनीतिको प्रयोग गर्न पाइयोस्, आफूलाई चुनौती दिने नयाँ अनुहार राजनीतिमा उदय नहुन भन्ने मानसिकताले ग्रसित व्यक्ति यथास्थितिबाट माथि उठ्न चाहदैनन् । त्यस्तै व्यक्तिको संकुचित मानसिकताबीच बालेन साहको उदय भएकोले तिनै व्यक्तिको निम्ति उनी घाँडो बन्छन् ।

बालेन साहको स्वच्छ र पारदर्शीता अदृश्य रूपमा लाभ प्राप्त गर्दै आएका संस्थागत भ्रष्टका निम्ति घाँडो बन्दै गएको छ

तर, बालेन एकल छैनन्, उनलाई काठमाडौंका अत्यधिक जनसमुदायको आड भरोसा छ भन्ने कुरा बालेनले मात्र होइन यथास्थितिवादीले नै बुझ्न जरुरी छ । बिहानीले दिनको संकेत गर्दछ भने झैं बालेनको भिजनले सकारात्मक संकेत दिएको छ तर त्यो कार्य रूपमा परिणत हुन बाँकी नै छ । सबैले भन्ने गरेको तर सुधार नगरेको काठमाडौंवासीका समस्या अनेकौं छन् । समस्या समाधानको नाममा विगतमा भएका नजरिया कार्य’bout पनि संक्षिप्त चर्चा गर्नु सान्दर्भिक हुन्छ । राजधानी काठमाडौंलाई विश्वकै रमणीय सहरमा रूपान्तरित गर्ने नारा लोकतन्त्र स्थापित भएयता अहिलेसम्म घन्किँदै आएका छन् । यही नाराले धेरैलाई मेयर पदमा पदासिन पनि गरायो ।

नारा पूरा गराउने क्रममा विकास निर्माणको नाममा शालिन्दा अर्बांै खर्च भइसकेको छ । यसमध्ये फोहोर व्यवस्थापन अझ समस्याग्रस्त भएको छ । सडक र ढलको अवस्था अत्यन्त नाजुक छ । प्रदूषणको हद नाघेको छ । प्रदूषण नियन्त्रणको निम्ति हुन गर्न सकिने सामान्य कार्य नै राज्यको तर्फबाट हुन सकेको छैन । सवारीको चाप थेगिनसक्नु छ । यातायात सञ्चालन व्यवस्थित हुन सकेको छैन । यिनै आधारभूत पक्षमा सम्बद्ध राज्य निकायबीच नै समन्वयको अभावमा समस्यामाथि समस्या थपिँदै छ ।

काठमाडौं सहरको परिदृश्य हेर्दा यहाँ सरकार भएको अनुभूति हुँदैन । लोकतन्त्र स्थापना भएयता नै काठमाडौं महानगरपालिकाभित्र विकास निर्माणको नाममा शालिन्दा अर्बाैं खर्च गरिएको छ तर खर्च भएअनुसार विकास निर्माणको कार्य देखिँदैन । विगतका सबै मेयरले अभिलेखमा सुधार गर्दै आए तर व्यवहारमा सुधार गरेनन् । यस्तो हुनुको मुख्य कारण सुधार गर्नेभन्दा कमाउने मानसिकता जनप्रतिनिधिमा हावी हुनु हो । राजधानीकै जनताको आधारभूत आवश्यकता स्थानीय एवं संघीय सरकारले पूरा गर्न सकेको छैन । हाम्रो दुर्गम गाउँवस्तीको समस्या कहिले समाधान होला ? यो स्थानीय एवं संघीय सरकारकै रचनात्मक कार्यपरिणामले दिनुपर्ने जवाफ हो ।

यसमध्येकै फोहोर व्यवस्थापन गर्ने क्रममा विगतमा काठमाडौं महानगरपालिकाले गरेकै प्रयास अहिलेसम्म सार्थक बन्न सकेको छैन । कहिले बन्चरेडाँडा त कहिले सिसडोललाई डम्पिङसाइड बनाए पनि स्थानीय वासिन्दाबीच भएको समझदारी कार्यान्वयनमा महानरपालिका उदासिन बन्दा समस्या यथावत छ । डम्पिङ साइडका वासिन्दाले उठाएका समस्या अस्वाभाविक थिएनन् । कतिपय तत्कालै पूरा गर्नुपर्ने, कतिपय अल्पकालीन अवस्थामा पूरा गर्दा हुने तथा कति दीर्घकालीन रूपमै समाधान गर्नुपर्ने समस्यालाई क्रमिक रूपले पूरा गराउँदै स्थानीय वासिन्दालाई विश्वासमा लिन महानगरपालिकाले सकेको छैन । जसोतसो कार्यकाल सम्पन्न गर्ने उद्देश्य लिँदै आएका पूर्व मेयरले डम्पिङसाइडलाई उच्च प्राथमिकता नै दिएनन् । हालका लागि फोहोरको समस्या हल भएको छ । बालेनले यसलाई चीरस्थायी गराउनुपर्छ ।

यसैगरी, राष्ट्रिय समस्याकै रूपमा रहेको संस्थागत भ्रष्टाचारको दृष्टान्तको निम्ति विकास निर्माणको विद्यमान अवस्था कस्तो छ भन्ने कुरा निर्माणाधीन संरचना आफैंले बताउँदै आएको छ । काठमाडौं उपत्यकाभित्र निर्माणाधीन पुल, कल्भर्ट, सडक क्षेत्र अनेकौं छन् । तर, तिनीहरूको निर्माण कार्य वर्षांैदेखि यथावस्थामा छ । कतिपयको ठेकेदारसँग भएको कार्य सम्पन्न सम्झौता बितेको वर्षांै भइसकेको छ । मूल्य वृद्धिको कारण निर्माण लागत बढी रहेको छ । सरकारले बजेट निकासा गरिरहन्छ तर निर्माण कार्य ठप्प छ । ठेकेदार को हो ? अहिले कहाँ छ ? किन समयमै निर्माण कार्य सम्पन्न पारेन ? खोजीनीति गर्नुपर्ने सरकार मौन देखिन्छ ।

सर्वसाधारण उपभोक्ताले भने सास्ती भोगिरहनुपरेको छ । ठेकेदारलाई राज्यको कानु नै लाग्दैन । यसो हुनुको कारण ठेकेदार मात्र होइन, निर्माण कार्य चेक गर्न खटिएको सरकारी प्राविधिक, ठेक्का स्वीकृत गर्ने उच्चस्तरीय पदाधिकारी, सम्बन्धित कार्यालय र विभागीय प्रमुख, मन्त्रालयको सचिव र मन्त्री ठेकेदारभन्दा बढी दोषी हुन्छन् । उनीहरूले निर्माण प्रारम्भ गर्न राज्यले निकासा गरेको प्रारम्भिक रकमबाटै ठेकेदारमार्फत लाभ प्राप्त गरेका हुन्छन् । यो संस्थागत भ्रष्टाचारको दृष्टान्त हो ।

राष्ट्रिय योजनामा परेका ठूला विकास निर्माणका कार्यबाहेक अन्य ससाना स्थानीय क्षेत्रभित्रको निर्माण एवं मर्मत सम्भारका कार्य स्थानीय सरकारकै अधिकारको सूचीमा समावेश गरिएको छ । यस्तो कार्य स्थानीय सरकारले विगतमा कसरी गर्दै आयो ? यसको अर्को दृष्टान्त हेरौं । काठमाडौं मुलुककै पहिलो महानगरपालिका हो । राजाधानी भएकाले यसको अलगै पहिचान र महŒव छ । राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय जगत्कै पहिलो नजर काठमाडौंको, सडक, ढल, खानेपानी, फोहार र यातायात व्यवस्थामा पर्दछ । सर्वसाधारण नागरिकका आधारभूत आवश्यकताभित्र पर्ने यस्ता चिजवस्तुको अवस्था कस्तो छ भनी हामीले बताइरहेनै पर्दैन ।

विदेशीले आफैं बताउँछन् । समस्त नेपालीकै इज्जत र प्रतिष्ठासँग जोडिएको काठमाडौं महानगरभित्रकै सडक र ढलको दुरावस्था मर्मत सम्भारको अवस्था, सबैको सामु छर्लंग छ । ढलको पानीले फुटपाथ र सडक नै दुर्गन्धित हुने, खाने पानीको समस्याले कहिल्यै नछोड्ने तर खानेपानीकै पाइप फुटी सडकमा पनि बगिरहने, मर्मत सम्भारको नाममा यत्रतत्र सडक खनिने २ महिना नटिक्ने नजरिया कालोपत्रेको कारण पटकपटक मर्मत गरिहनुपर्ने कार्यालयको अभिलेखले सडकका खाल्डा पुरेको देखाउने तर खाल्डाको अवस्था यथावतै हुनेछ ।

समस्त नेपालीकै इज्जत र प्रतिष्ठासँग जोडिएका काठमाडौं महानगरभित्रकै मर्मतसम्भार नगरिएका सडक र ढलको दुरावस्था सबैसामु छर्लंग छ

सडक विभागले कालोपत्रे गरेपछि लगत्तै ढल मर्मत गर्ने क्रममा ढलले सडक भत्काउने, ढलको मर्मत सकिनासाथ बिजुलीको कार्य गर्न भनी सडक किनारा भत्काउने, व्यवस्थित सडकपेटी नहुँदा पैदलयात्रुको यात्रा कष्टकर हुने, गाडीले उछिट्याएको फोहोरपानी पैदल यात्रुको टाउकासम्म पुग्ने यी सबै, राजधानी काठमाडौंको सडक आपसमा देखिने सामान्य दृश्य हुन् । अझ अनौठो त के छ भने सुक्खायाममा निर्माण र मर्मतसम्भार हुँदैन जब साल त मामी आउन लाग्छ र वर्षाद् पनि हुन थाल्छ त्यतिखेर भने बजेट सक्नकै निम्ति रेनकोट ओढेरै मुसलधारे पानीमा अहोरात्र सडक, ढल र विद्युत्को कार्य तीव्र रफ्तारमा गरिन्छ । सम्बद्ध निकायबीच पारस्परिक समन्वय हुँदैन । समन्वयमा सँगसँगै कार्य गरे एकैपटक सबै कार्य सम्पन्न हुन्छ । एकैपटक सबै कार्य सम्पन्न गरिए मर्मत सम्भारको नाममा बराबर बजेट हत्याउन नपाइने भएकोले राज्य निकायले नै समन्वयमा ध्यान पु¥याउँदैन ।

यो अवस्थाको नजरिया विकासले राष्ट्रिय बजेट दुरुपयोग भइरहेको छ भने जनताले कष्टकर जीवन बिताउनुपरिरहेको छ । तर, लाभ भने सम्बन्धित निकाय पदाधिकारी र ठेकेदारदेखि मन्त्रालयको नेतृत्वसम्मले लिइरहेका छन् । तर मार्न पल्केका राज्यका प्राविधिक कर्मचारी स्थानीय तहदेखि सम्बन्धित विभाग र मन्त्रालयकै नेतृत्वसम्मका व्यक्ति रोजी रोटी गुम्ने त्रासले पनि स्वच्छ र पारदर्शी कार्यलाई महत्व दिँदैनन् । यसको पछिल्लो दृष्टान्त काठमाडौं महानगरपालिकाको बैठकमा देखिएको परिदृश्य हो ।

महानगरमा हुने संस्थागत भ्रष्टाचार अन्त्य गरी बालेन साहले अनुभूतिजन्य कार्य गरी महानगरवासीलाई सुविधा दिलाउँछन् भन्ने विश्वासका साथ मतदाताले बालेनलाई मेयर बनाए । यसैले बालेन एक्लै छैनन् उनको पछि विकासप्रेमी समस्त काठमाडौंबासी छन् भन्ने कुरा संस्थागत भ्रष्टले बुझ्न जरुरी छ । स्वच्छ र पारदर्शी कार्य गरी जनअपेक्षा पूरा गर्ने बालेन साहको उद्देश्य उनले सार्वजनिक गर्दै आएको बैठकको प्रत्यक्ष प्रसारणले नै बताउँदै आएको छ । बैठकमा के हुँदै छ ? जिज्ञासु सबैको ध्यान महानगरको बैठक र बालेनको काम कार्यले आकर्षित गराउन थालेको छ । तर, काठमाडौं महानगरपालिकाको संगठनात्मक संरचना हेर्दा त्यहाँ यथास्थितिवादी प्रवृत्तिका जनप्रतिनिधिको बाहुल्यता नभएको होइन । कार्य सम्पादन प्रवृत्ति परिवर्तन गर्न नचाहने जनप्रतिनिधिको नजरमा बालेन साह एक्लो वृहस्पति झुटो झैं लाग्लान् तर यो दीर्घकालीन हुन सक्दैन ।

यथास्थितिवादी जनप्रतिनिधि मात्र होइन माथि उल्लेखित विकासे अड्डामा रहेका अधिकांश भ्रष्ट कर्मचारी, अनुगमनको दायित्व लिने सरकारी प्राविधिक, नेताको प्रभावमा पदीय दायित्वकै सम्झौता गर्न पछि नपर्ने उच्च पदस्थ अधिकारी, बिचौलिया तथा स्थानीय तहदेखि मन्त्रालयसम्मकै नेतृत्वले बालेनको पारदतर्शी कार्यको विरोध गर्न सक्छन् । त्यसको सामान्य असर बालेनको प्रारम्भिक काम कार्यमा देखिए पनि क्रमशः प्रभावहीन बन्नेछ । किनकि, बालेन साहको स्वच्छ र पारदर्शीता अदृश्य रूपमा लाभ प्राप्त गर्दै आएका संस्थागत भ्रष्टको निम्ति घाँडो बन्छ । यसतर्फ महानगरवासी नै सचेत र जागरुक बनी बालेनलाई ढाडस दिनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारका सचिव र विभागीय प्रमुखलाई अख्तियारको ‘वार्निङ’

कुरी-कुरी