पाँच दलीय गठबन्धन सरकार मुलुकमा सुशासन दिन र सेवाप्रवाह प्रभावकारी बनाउन असफल देखिएको छ ।
मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्रै भ्रष्टाचार र अनियमितताको ढंगुर लाग्न पुगेपछि अन्यत्रको अवस्था के होला ? सहजै अनुमान लगाउन सकिन्छ । भ्रष्टाचार माथिबाट रोकिनुपर्छ, सुशासन कायम हुन मूल नै सफा हुनुपर्छ भन्ने मान्यता छ । तर, हामीकहाँ मुख्य मुहान् मानिएको राजनीतिक क्षेत्र नै अत्याधिक भ्रष्ट हुन पुग्दा शासकीय व्यवस्थामा नै गम्भीर समस्या देखिन थालेका छन् ।
राजनीतिक दल र विशेषगरी सत्तामा गएकाहरू कसरी हुन्छ कमाउधन्दामा लिप्त हुनेक्रम बढ्न थालेपछि आममुलुक र जनताले दुःख पाउने नै भए । अहिलेका शासक यति धेरै गैरजिम्मेवार छन् कि उनीहरूलाई जनताले भोग्नुपरेको पीडा मर्कासँग कुनै सरोकार छैन । कसरी हुन्छ मस्त कमाउने र आफ्नालाई मात्रै पोस्ने काममा नै उनीहरू लिप्त हुन पुगेका छन् ।
राजनीतिक दल आधुनिक राजनीतिको जीवनरेखाका रूपमा रहनुपर्छ । मुलुकलाई बनाउने र बिगार्ने प्रमुख भूमिका राजनीतिक दलकै हो । उदार एवं प्रजातान्त्रिक समाजमा त राजनीतिक दलले जीवनका हरेक पक्षलाई प्रभावित पार्ने गर्छ ।
तर, हामीकहाँ भने राजनीतिक दलको भूमिकालाई सूक्ष्म रूपमा अध्ययन गर्ने हो भने सरकारमा गएर सत्ता चलाउन र सुशासन कायम गराउन करिब करिब उनीहरू असफल हँुदै आएका छन् । शासकीय संरचना नै परिवर्तन गराउन निकै ठूलो भूमिका खेल्दै आएका यहाँका विशेषगरी तीन ठूला दल कांग्रेस, एमाले र माओवादी केन्द्रका अधिकांश नेता नै कुशासनको जालोमा बाधिन थालेका छन् । जनताको पीरमर्का र दुःखसुखसँग उनीहरू बेखबर जस्तै बन्दै आइरहेका छन् ।
संघीय शासन व्यवस्थाको अभ्यास भइरहँदा यहाँ बढिरहेको भ्रष्टाचार, अनियमितता र बेरोजगारी समस्याका कारण यो शासन व्यवस्था सञ्चालनमा पनि ठूला ठूला समस्या आइरहेका छन् । यस्ता समस्याको समाधान तत्काल नगर्ने हो भने संघीय शासन प्रणालीको सफलतामा नै गम्भीर आघात पर्न सक्छ । मुलुकको विकास र समृद्धिका लागि सबै राजनीति दल हातेमाले गर्दै एकताबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।
मुलुकमा देखिएको रोग, भोक, अशिक्षा , गरिबी, विपन्नता हटाउने विषयमा पनि हाम्रा राजनीतिक दलबीचमा त्यस्तै प्रकारको एकता आवश्यक छ । प्रमुख राजनीतिक दलमा नै विचलन आउन थालेको विश्लेषण जनमानसमा हुन थालेको छ । दल सञ्चालन गर्ने अगुवा असल र इमानदार बन्न सक्ने हो भने शासकीय व्यवस्था पनि सफल हुँदै जान्छ । हुन त हामीले विगतमा धेरै प्रकारका शासकीय व्यवस्थाको अभ्यास गरेका हौं । तर, ती शासन सञ्चालन गर्नेहरू भ्रष्टाचारमा लिप्त हुन पुग्दा विकासको फल आमजनतासमक्ष पुग्न सकेन । जसका कारण जनतामा चरम निराशा छाउन पुग्यो र विद्रोह भयो । त्यही विद्रोहको जगमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना हुन पुगेको हो । त्यसैले पनि अहिले शासन सञ्चालन गरिरहेका राजनीतिक दल र तिनका नेताले विगतमा जनता किन विद्रोहमा उत्रिए भन्ने कुराको विश्लेषण गरी आगामी दिनमा त्यस्तो अवस्था आउन नदिन सचेत र सतर्क रहनुपर्छ । यसका लागि सरकारले भ्रष्टाचार नियन्त्रणका लागि सार्थक पहल गर्नुपर्छ भने तीनवटै तहका सेवाप्रवाहलाई प्रभावकारी बनाउन सक्नुपर्छ ।






