ललितपुर । काठमाडौं उपत्यकामा हैजाका सक्रमित भेटिएका छन् । बागबजार बस्ने एकै परिवारका दुई जनामा हैजाको संक्रमण पुष्टि भएको हो । उनीहरूको टेकु अस्पतालमा उपचार भइरहेको छ ।
पानीजन्य सरुवा रोग हैजा भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने गर्छ । यसलाई सानो आन्द्राको संक्रमण भन्ने बुझिन्छ ।
चिकित्सकका अनुसार हैजालाई तारन्तार दिशा र वान्ता भइरहने एक संक्रामक रोगका रूपमा लिइन्छ । हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्म लक्षण देखिने गर्छन् । यो रोग प्रायः भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिशाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले जानकारी दिए ।
मंकिपक्सको संक्रमण पनि भित्रिएको आशंका
‘सरसफाइको अभाव, स्वच्छ ताजा खाना र सफा पिउने पानीको अभावले यो रोग लाग्ने गर्छ,’ उनले भने, ‘दिशाको परीक्षण गरेर हैजाको पहिचान गर्न सकिन्छ । हैजाबाट बच्न सरसफाइ तथा सफा पिउने पानीको व्यवस्था गर्नु आवश्यक छ ।’
यता, मंकिपक्स भाइरसकैजस्तो लक्षण भएका संक्रमित नेपालमा देखिएको छ । दुबईबाट नेपाल आएका एक जना नेपालीमा मंकिपक्सको जस्तै लक्षण देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । ती संक्रमित हाल टेकु अस्पतालमा भर्ना भएर उपचार जारी रहेको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका प्रवक्ता डा. किजन महर्जनले भने अहिले नै ती संक्रमितमा मंकिपक्स नै भएको ठोकुवा गर्न नसकिने बताए । उनका अनुसार ज्वरो आउने र जिउमा बिमिरा आउने लक्षण मिलेको छ । तर, शंकास्पद रूपमा हेरिए पनि अहिले नै भनिसक्ने अवस्था छैन ।
ती व्यक्ति रसुवाका २६ वर्षीय पुरुष रहेको बताइएको छ । अमेरिका र युरोपमा यसको संक्रमण बढिरहेको छ ।






