पहिरोको जोखिम क्षेत्रबाट बस्ती सार

हरेक वर्ष हुने गरेका मनसुनजन्य विपद्का घटनामा धेरै जनधनको क्षति हुने गरेको छ । विगत ११ वर्षको लामो फेहरिस्त सिंहावलोकन ग¥यौं भने पनि तथ्यांक आफैं बोल्छ । २०६८ देखि २०७८ सम्म भएका मनसुनजन्य विपद्का ५ हजार ८ सय २५ वटा घटनामा देशभर २ हजार ३ सय ६२ जनाको ज्यान गएको छ भने करोडौंको नोक्सानी बेहोर्नुपरेको छ । यो विपद्जन्य घटनाबाट हजारौं अपांग भएर बाँच्नुपरेको छ भने यसले लाखौं परिवारलाई अप्रत्यक्ष रूपमा असर गरिरहेको छ । आँकडाअनुसार हरेक वर्ष २० लाख मानिस प्रभावित हुने गरेका छन् । यसले ४ लाख २१ हजार घरधुरीलाई प्रभावित पार्ने गरिरहेको छ । यो वर्ष अघिल्ला वर्षभन्दा बढी वर्षा हुने पूर्वआँकलन गरिएको छ । वर्षाले बाढी, पहिरो तथा डुबानजस्ता समस्या एकैपटक निम्त्याए पनि नेपालजस्तो पहाडी भू–धरातलमा पहिरोको जोखिम निकै बढिरहने गरेको छ । विगत ११ वर्षको आँकडाले पनि यही यथार्थतालाई उजागर गरेको छ । बाढीले नदी किनारमा र डुबानका क्षेत्रमा प्रभाव पारे पनि पहिरोले सिंगो बस्ती बगाउने र पुर्ने भएकाले जोखिमको मात्रा पहिरोमा बढी हुँदै आएको छ ।

पछिल्लो समयमा नेपालमा वन फँडानीको क्रम निकै बढेर गएको छ । भिराला डाँडा नांगा हुँदै गएका छन् । नांगा डाँडाहरू पानीको भार थेग्न सक्ने अवस्थामा छैनन् । त्यसमा पनि निरन्तर भारी वर्षा त अभिशाप बन्दै आएको छ । त्यसमाथि २०७२ सालको भूकम्प र त्यसबाट सिर्जित निरन्तर पराकम्पका कारण पहाडी धरातल निकै थिलथिलिएको र चिरा परेको छ । यस्ता चिरा परेका पहाडी धरातलमुनि रहेका बेसी तथा खाेंचमा मानवबस्ती रहनेगरेका छन् । कतिपय त भिरालो जमिनमा नै ठूलाठूला गाउँहरू रहेकाले पनि ती गाउँहरूमाथि वा मुनिबाट आउने र जाने पहिरोका कारण निकै जोखिममा छन् । भूकम्पले हल्लाएर चिरा पारेका धाँजामा वर्षाको पानी भरिन गई ठूलो क्षेत्रफल ओगट्ने गरी पहिरो जाने गरेका छन् । भूगर्भविद्का अनुसार पहाडका भित्तामा बसेका मानवबस्ती जुनसुकै बेलामा पनि जानसक्ने पहिरोको जोखिममा रहेका छन् । यसपालिको अधिक वर्षा प्रदेश १ का तराईका भूभाग, बाग्मती प्रदेशका उत्तरपूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर–पश्चिमी भूभाग तथा सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा हुने बताइएको छ ।

भौगर्भिक बनावटका हिसाबले पनि यी क्षेत्र निकै जोखिमका क्षेत्रहरू हुन् । यिनै क्षेत्रमा यो वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ । अधिक वर्षाका कारण यो वर्ष नेपालका पहाडी भूभागका जिल्लासहित तराई र भित्री मधेसका जिल्ला पनि उच्च जोखिममा रहेका छन् । त्यसैले राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिलेदेखि नै यो जोखिम न्यनीकरणका लागि आफ्नो पहल बेलैमा लिनसक्ने गरी तयारीमा जुट्नुपर्छ । यसका लागि विकास निर्माणका नाममा निर्माण गरिएका अव्यवस्थित संरचना, नदीको बहाव क्षेत्र, वन अतिक्रमण, ढल निकास अभावका क्षेत्र तथा भूकम्पले क्षति पु¥याएका क्षेत्रमा अधिक ध्यान दिनुपर्छ । हरेक जिल्लामा रहेका विपद् न्युनीकरणका इकाइलाई अहिलेदेखि तयारी हालतमा राखिनुपर्छ । सम्भव छ भने पहिरोको जोखिममा रहेका बस्ती अस्थायी रूपमा भए पनि स्थानान्तरण गरिनुजरुरी छ । साथै, पहिरो र बाढीबाट उत्पन्न हुन जाने समस्या सम्बोधनका लागि तत्काल राहत, आर्थिक तथा स्थायी वासस्थानका लागि अग्रिम सोच तथा कार्यक्रम बनाइनु जरुरी रहेको छ । यसका साथै पहिरोको जोखिम क्षेत्रबाट पहिले नै बस्ती सार्नु बुद्धिमानी हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

epaper

ताजा समाचार

देउवा समूहको बैठकः असोज १५ मा वडा अधिवेशन प्रस्ताव