किसानको समस्या देख्न नसकेको धान दिवस

यो वर्षको असार १५ बुधबारका दिन देशभर धान दिवस मनाउँदै दही–च्युरा खाँदै गर्दा देशले ४६ अर्बबराबरको धान चामल विदेशबाट आयात गरेको तथ्य सार्वजनिक भएको छ । कृषिप्रधान देश नेपालले केही दशकयता नेपालको मुख्य खाद्यबाली मानिएको धान र चामल विदेशी मुलुकबाट आयात गर्ने गरिरहेको छ । अरू देशमा निर्भर हुँदै जाने प्रक्रिया बढ्दै जाँदा यस वर्ष अघिल्लो वर्षभन्दा धेरै परिमाणमा धान र चामल आयात गरिएको आँकडाले देखाएका छन् । हरेक वर्षझैं असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउँदै गर्दा किसानहरूको अनुहारमा उज्यालो छाउन सकेको छैन । खेतमा पानी पटाइएको छ, रोपाइँ धमाधम सुरु भएको छ तर खेतमा राख्ने रासायनिक मल नपाउँदा धानको रोपाइँ कुपोषणले ग्रस्तजस्तै अनुभूत हुन गएको छ । मलको जोहो गर्न नसक्दा किसानले ‘मुठी रोपेर मुरी फलाउने’अवसरका रूपमा असार १५ लाई लिन सकेनन् । यस दिनमा सरकारका उच्च पदाधिकारीदेखि राजनीतिक दलका शीर्ष नेता तथा सम्बन्धित सरोकारवाला सबैले असार १५ को धान दिवसको औपचारिकता निर्वाह गरे पनि जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न भने सकेनन् ।

सामाजिक सञ्जाल, पत्रपत्रिका तथा विभिन्न कार्यक्रममा हिलो खेल्दै धान रोपाइँ गरी रमाएको तस्बिर सार्वजनिक गरे पनि धान दिवसको औचित्यता पुष्टि गर्नेगरी कुनै पनि काम गर्न सकेनन् । असार १५ केवल पर्वका रूपमा मनाउने र मनोरञ्जन गर्ने जस्तो मात्र हुँदै आएको विरासत यस वर्ष पनि कायमै रहन गयो । यो दिवस अबका दिनमा नारामै सीमित हुने देखिएपछि यसले किसान र सर्वसाधरण जनता सबैमा निराशा निम्त्याउन थालेको छ । केही दशकअघिसम्म निर्यातमुखी रहेको धानको व्यापार अहिले आएर आयातमुखी मात्र होइन, पूरै परनिर्भर बन्दै गएको छ । नेपालका खेत तथा फाँटहरूमा धान फल्न छाडेका छन् बरु खाद्य स्टोरहरूमा राखिएका बोरामा उल्टै चामल फल्न थालेका छन् । चालू आर्थिक वर्ष २०७८÷७९ को बितेका ११ महिना अर्थात् गत जेठ मसान्तसम्मको अवधिमा देशमा ४५ अर्ब २९ करोड ७५ लाख २६ हजार रुपैयाँभन्दा धेरैको चामल र धान आयात भएको तथ्यांकले यो कहालीलाग्दो यथार्थतालाई उजागर गरेको छ । यस अवधिमा धान र चामल मात्र होइन, धानको बीउसमेत विदेशबाट आयात गरिएपछि नेपालको कृषि क्षेत्रको हवीगत सतहमा आएको छ ।

धान आयातको तथ्यांकले राष्ट्रिय धान दिवसको तामझाम र कृषिप्रधान देशको हावादारी नारा र बतासे कार्यक्रमले देश अधोगतितिर गइरहेको यथार्थतालाई सार्वजनिक गरेको छ । यसको जिम्मेवारी सबैले आआफ्नो ठाउँमा लिनु नै पर्ला, तर सबैभन्दा ठूलो जिम्मेवारी सरकारले लिनुपर्छ । यो वर्ष पनि अघिल्ला वर्र्षहरूमाझैं धान खेतमा राख्न रासायनिक मल उपलब्ध गराउन सरकार सक्षम भएन । सरकारी तहबाट न त टेन्डर आह्वान गरिएअनुसार कार्यान्वयनका लागि तत्परता देखाइयो न त अन्य वैकल्पिक उपाय नै खोजियो । बरु रासायनिक मलको समस्यालाई टुलुटुलु हेरेर निरीहता प्रकट गरियो । यो सरकारका लागि सबैभन्दा लाजमर्दो कुरा हो । कुरा गर्दा संसारका गफ दिने तर व्यवहारमा झिनो पहलकदमी पनि नलिने सरकारको गैरजिम्मेवार प्रवृत्ति अहिले पनि देखियो । सरकार तथा सरकारी निकायले हरियो बीउको माला घाँटीमा बेरेर धान दिवस मनाए तर किसानले भने विनामलको बीउ खेतमा रोपाइँ गरे । यो वर्ष पनि धान दिवसले किसानका तमाम समस्या देख्न भने सकेन ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१४ वर्षमा विवाह, १५ नपुग्दै ‘डिभोर्स’

कुरी-कुरी