‘कांग्रेसबाट धोका भयो, एकीकृत समाजवादीले बढी खोज्यो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व तहमा भएको समझदारी र आवश्यकताअनुसार स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम हुन नसकेका कारण अपेक्षाअनुसार धेरै पालिकामा विजयी हासिल गर्न नसकिएको निष्कर्ष निकालेका छन् ।

माओवादी केन्द्रको आइतबारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले सो निष्कर्ष निकालेका हुन् । गठबन्धनभित्रको अर्को दल नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सिट बाँडफाँटमा ठाउँठाउँमा केही समस्या देखिनुका साथै परिणामसमेत सोचेभन्दा फरक आएको निष्कर्ष प्रचण्डको छ ।

‘सरकारमा सहभागी दलबीचको चुनावी गठबन्धन’bout नेतृत्व तहमा जुन स्तरको समझदारी र आवश्यकताको महसुस थियो, त्यही स्तरको समझदारी स्थानीय तहमा कायम हुन सकेन,’ प्रचण्डले भनेका छन् ।

स्थानीय तहमा अपेक्षित नतिजा हासिल नहुनुमा आफ्ना आठ कमजोरी रहेको आत्मसमीक्षा उनले गरेका छन् । गठबन्धनका दलहरू नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पनि असहयोग गरेको उनले उल्लेख गरेका छन् । कांग्रेसको पूरै पंक्ति गठबन्धनप्रति इमानदार र गम्भीर नभएको आरोपसमेत उनले लगाएका छन् ।

‘रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोकलगायतका जिल्ला र तीबाहेकका पनि हाम्रो पार्टीको बलियो उपस्थिति रहेका कयौं स्थानीय तहमा हामीविरुद्ध एमाले र अन्य दलसँग गठबन्धन गरी हामीलाई पराजित गर्ने वा कमजोर पार्ने घटना व्यापक रूपमा देखिए,’ प्रचण्डको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलको गठबन्धन बन्न नदिने, हामी र गठबन्धनका दलहरू बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँच दलीय गठबन्धन कायम गर्ने गरेको पनि आरोप प्रतिवेदनमा छ ।

‘कतिपय स्थानमा कांग्रेसका नेताहरूबाटै बागी उम्मेदवार खडा गर्नेजस्ता अघोषित नीति अपनाएको देखिन्छ । कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवारलाई लक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्यधिक मत बदर भएको पाइयो,’ उनको प्रतिवेदनमा उल्लेख छ, ‘यसैगरी गठबन्धनको अर्को दल नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सिट बाँडफाँटमा ठाउँठाउँमा केही समस्या देखियो । जसको परिणाम केही स्थानमा गठबन्धन नै पराजित बन्न पुग्यो ।’

जसपा आफ्नो आधार बलियो भएका तराई–मधेसका स्थानमा गठबन्धनका लागि अनिच्छुक देखिएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । आफ्नो पार्टी भने मूल रूपमा गठबन्धनप्रति इमानदार देखिएको स्वमूल्यांकन प्रचण्डले गरेका छन् । जबकि सत्तारूढ गठबन्धनमा रहेका अन्य दलले आफ्नो समीक्षामा माओवादीले समेत गठबन्धनका उम्मेदवारलाई ठाउँठाउँमा धोखा दिएको निष्कर्ष निकालेका छन् ।

प्रचण्डले आफ्नो प्रतिवेदनमा माओवादी केन्द्रको विभिन्न आठ कमजोरीसमेत उल्लेख गर्दै सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याएका छन् । पहिलो नम्बरमा उनले पार्टी पंक्तिमा गठबन्धनप्रति आवश्यकताभन्दा बढी विश्वास गर्दा आफ्नो तयारीमा फितलो देखिनु रहेको निष्कर्ष निकालेका छन् ।

यसैगरी, पैसा खर्च गरेर मतदाता किन्नेजस्ता प्रतिस्पर्धी दलका विकृतिका रूपमा देखापरेको प्रवृत्तिलाई रोक्न नसक्नु र कतिपय स्थानमा पार्टीभित्रको गुटबन्दी, असहयोग एवं अन्तर्घातसम्मका गम्भीर कमजोरी र घटना देखापरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गुटबन्दी, असहयोग र अन्तर्घातजस्ता पार्टीविरोधी गतिविधिको गम्भीर छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने प्रचण्डले प्रस्ताव गरेका छन् । यी कमजोरीबाट शिक्षा लिएर आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटनुपर्ने उनले भनेका छन् ।

बैठकमा सहभागीले पार्टीभित्रको सांगठनिक अराजकतालाई तत्काल सच्याएर जानुपर्ने माग गरे । गत पुसमा पार्टीको आठौं महाधिवेशन सम्पन्न भए पनि अहिले सम्ममा पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँटलगायतका महत्वपूर्ण काम गर्न नसकेको नेतालाई यी काम पूरा गर्न माग गरेका छन् । तर, अध्यक्ष प्रचण्डले बैठकको एजेन्डामा यी विषय नै उल्लेख गरेका छैनन् ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहितको पदाधिकारी चयन गर्ने गरी विधानमा उल्लेख गरिएको छ । विधानमा व्यवस्था भए पनि व्यावहारिक रुपमा कार्यान्वयन हुन नसक्दा पार्टीले गति लिन नसकेको भन्दै समय थप गरेर भए पनि टुङ्गो लगाउनुपर्ने माग उठेको हो ।

माओवादी केन्द्र वागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले पार्टीको पदाधिकारी चयन, केन्द्रीय समितिलाई पूर्णता, विभागहरूलाई क्रियाशिल बनाएर स्पष्ट कार्ययोजनाका साथ जनतामा जानुपर्नेमा माग गरेका छन् ।

बैठकको शुरुमा नै अध्यक्ष प्रचण्डले पूर्व स्थायी समितिको बैठकबाट पार्टीको केन्द्रीय समितिमा मनोनित गरिएका केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ गराएका थिए । बैठकमा अध्यक्ष प्रचण्डले विभिन्न नौ वटा एजेण्डामा छलफल हुने जानकारी गराए ।

त्यसमा नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सञ्चालन प्रक्रिया’bout अध्यक्षबाट जानकारी, प्रदेशबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थिति’bout रिपोर्ट, सङ्गठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध विषय समावेश गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

उठ्न थाल्यो काठमाडौंको फोहोर

कुरी-कुरी