काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्यले पार्टीको पदाधिकारी चयन, स्थायी कमिटी गठन, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड गर्न माग गरेका छन् ।
सोमबार काठमाडौंमा बसेको केन्द्रीय कमिटीको बैठकमा ४६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन् । आइतबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गर्नुका साथै बैठकका एजेन्डा राखेका थिए ।
तर, अध्यक्ष प्रचण्डले राखेको एजेन्डामा पार्टीको पदाधिकारी चयन, स्थायी कमिटी गठन, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड गर्ने विषय उल्लेख गरिएको छैन । पार्टीका महाधिवेशन भएको ६ महिना पुगे पनि अहिलेसम्म पार्टीको सांगठनिक कार्य पूरा गर्न अझै बाँकी नै रहेकाले केन्द्रीय सदस्यले यही बैठकबाट ती काम पूरा गर्न माग गरेका हुन् ।
माओवादी केन्द्रको आठौं महाधिवेशन सम्पन्न भएको ६ महिना बितिसक्दासमेत केन्द्र्र्रीय समितिले पूर्णता पाउन सकेको छैन । पदाधिकारी चयन, स्थायी समिति, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँड, केन्द्रीय समितिलाई पूर्णता दिने काम अझै बाँकी नै रहेको छ ।
११ देखि १८ पुसमा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । यसबीचमा बसेको केन्द्रीय समितिको बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत निर्वाचित गरेको थियो ।
बैठकमा सहभागी केन्द्रीय सदस्य मानबहादुर बुढाका अनुसार बैठकमा धारणा राख्ने अधिकांश सदस्यले सांगठनिक कार्यलाई यही बैठकबाट पूरा गर्नुपर्ने माग गरे । सांगठनिक कार्य पूरा नगरी पार्टीलाई प्रभावकारी रूपमा अगाडि बढाउन नसक्ने भएकाले यही बैठकबाट बाँकी काम पूरा गर्नुपर्ने आवाज उठेको उनले बताए ।
यसैगरी बैठकमा आगामी प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा पार्टीलाई प्रभावकारी रूपमा थप बलसहित अगाडि बढ्नुपर्ने सुझाव केन्द्रीय सदस्यले दिएका छन् । पाँच दलीय गठबन्धनलाई निरन्तरता दिएर अगाडि बढ्ने हो भने सम्मानजनक सिटको बाँडफाँड हुनुपर्ने सुझाव उनीहरूको छ ।
पार्टीलाई बलियो बनाउँदै गठबन्धनबिना नै निर्वाचनमा सहभागी हुनेगरी अगाडि बढ्ने सुझाव समेत आएको केन्द्रीय सदस्य गणेशमान पुनले बताए । तालमेलभन्दा पनि पहिलो प्राथमिकता एक्लै निर्वाचनमा जानेगरी पार्टीलाई बलियो बनाउनुपर्ने पुनले बताए ।
गत स्थानीय तहको निर्वाचनमा पार्टीको उपस्थिति सहरी क्षेत्रमा कमजोर देखिएकाले थप विशेष कार्यक्रमसहित पार्टीका नेतालाई परिचालन गनुपर्ने आवाज बैठकमा उठेको छ । विदेश नीतिमा पार्टी स्पष्ट हुनुपर्ने, पार्टी सञ्चालन गर्न कार्यविधि बनाउनुपर्ने, पालिका स्तरमै केन्द्रीय सदस्यलाई परिचालन गरेर पार्टीलाई प्रभावकारी तथा बलियो बनाउने गरी योजना बनाउनुपर्ने सुझाव आएको माओवादी केन्द्रका नेता गणेश साहले बताए ।
यसैगरी स्थानीय निर्वाचनमा पार्टीकै उम्मेदवार हराउने अभियानमा लागेका अन्तर्घातीलाई कारबाही गर्नुपर्ने, कारबाही गर्न बलियो कमिटी गठन गर्नुपर्ने समेत आवाज केन्द्रीय सदस्यले उठाएका छन् । आफ्नै पार्टीका उम्मेदवारलाई हराउने अन्तर्घातीलाई कडा कारबाही नगरिए पार्टीलाई आगामी निर्वाचनमा ठूलो नोक्सानी बेहोर्नुपर्ने चेतावनी समेत नेताले दिएका छन् ।