भूउपयोग नीतिको सान्दर्भिकता

भूमि राज्यको अपरिहार्य तत्व हो भने जनताको भविष्य त्यसभित्र उपलब्ध नदीनाला, वन, खनिज र उर्वर माटोमा निर्भर गर्छ । बसोबासदेखि व्यवसायसम्म यही भूभागले नै प्रभावित गर्छ । आर्थिक साधनको मूल खेतीयोग्य जमिन पनि हो । यहाँको खेतीलाई भू–स्वरूपले निकै प्रभावित गरेको छ । भूमिको सही उपयोगबिना कुनै पनि देश विकासमा बलियो बन्न सक्दैन । देशभित्रको जमिनको उपयोगमा नै त्यस देशको आर्थिक व्यवस्था निर्भर हुन्छ । धरातलअनुसार कहीँ खेतीयोग्य भूभागको अधिकता, कहीँ जंगल र झाडी, कहीँ हिम–मरुभूमि आदि पाइन्छन् । उपर्युक्त भौगोलिक वास्तविकतालाई आधार मानी भूमिको अधिकतम उपयोग गर्नुपर्छ । प्राकृतिक स्रोतहरूमध्ये एउटा महत्वपूर्ण स्रोत भूमिलाई लिन सकिन्छ ।

भूमि प्रकृतिप्रदत्त उपहार हो, यो सीमित छ । पृथ्वीको कुल १३ अर्ब हेक्टर भूमिमध्ये केवल ११ प्रतिशत भूमि मात्रै कृषियोग्य भूमि रहेको छ । यसको पनि केवल १७ प्रतिशत भूमि मात्र सिञ्चित रहेको छ । यसैगरी पृथ्वीको कुल भूमिमध्येको २६ प्रतिशत भूमि स्थायी खालका खाली मैदान तथा चरण क्षेत्र, ३० प्रतिशत भूमि वन तथा वनले ढाकेको क्षेत्र र ३३ प्रतिशत भूमि अन्य भूमिका रूपमा रहेको छ । यसैगरी, एकअर्को अध्ययनअनुसार पृथ्वीमा उपलब्ध भूमिमध्ये ९ प्रतिशत भूमि सहरी भूमिअन्तर्गत छ भने २१ प्रतिशत भूमि चरण, कृषिबाली उत्पादन तथा वनसम्पदाका दृष्टिकोणले पूर्णतः अयोग्य साबित भइसकेको छ । यसको मुख्य कारण अति भिरालो, अति चिसो, अति ओसिलो र अति सुख्खा रहनुलाई मानिएको छ । यसैगरी, माटोको क्षयीकरणको कारण तथा उत्पादनमा ह्रास आएको कारण हरेक वर्ष १ करोड हेक्टर कृषिभूमि त्यागिँदै आएको छ भने अर्को १ करोड हेक्टर भूमि लवणीकरण अथवा अनुपयुक्त निकास प्रणालीका कारण हरेक वर्ष नराम्ररी बिगँ्रदै गरेको देखिन्छ । अतः यस्तो भूमि कुल कृषि बालीमध्ये १ दशमलव ३ प्रतिशतका दरले हरेक वर्ष बिग्रँदै गरेको उल्लेख छ

नेपालको कुल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर भू–भागमा करिब २ करोड ६६ लाख जनसंख्याले बसोबास गर्दछन् । यसरी कुल भूमिमा प्रतिवर्ग किलोमिटर जनघनत्व करिब १ सय ८१ जना देखिए पनि प्रतिव्यक्ति कृषियोग्य भूमिको प्राप्यताको हिसाबबाट हेर्दा नेपाल संसारमा सबैभन्दा कम खेतीयोग्य जमिन भएका मुलुकमध्ये पर्दछ । विस्तृत अर्थमा लिने हो भने वातावरण भन्नाले पृथ्वीको सम्पूर्ण जीवन जगत्लाई जनाउँछ । संकुचित अर्थमा लिँदा यसले भौतिक वातावरण जस्तो माटो र यसको खनिज तत्व, ओस, जल, ताल—तलैया तथा मानव जगत् जनाउँछ । नेपालको तराई, पहाड र हिमाली क्षेत्रहरूमा जनसंख्या र खेती गरिएको जमिनको मात्राको वितरणमा ठूलो असन्तुलन रहेको छ । हिमाली क्षेत्रमा २०६८ सालमा कुल जनसंख्याको ६.७ प्रतिशत जनसंख्याले बसोबास गरेको देखिन्छ भने यस क्षेत्रमा कुल खेती गरिएको जमिनको ५ दशमलव ५ प्रतिशत मात्र रहेको छ । पहाडी क्षेत्रमा ४३ दशमलव १ प्रतिशत जनसंख्याले बसोबास गर्छन् । यस क्षेत्रमा ४६ प्रतिशत खेती गरिएको जमिन रहेको छ । जबकि ५० दशमलव २ प्रतिशत जनसंख्या रहेको तराई क्षेत्रमा ४८ दशमलव ५ प्रतिशत कृषियोग्य भूमि रहेको छ ।

जमिनको असमान वितरण तथा सहरीकरण, जमिनको खण्डीकरण र माटोमा अम्लीयपना बढ्दै गएका कारण नेपालमा खाद्यसंकट बढ्दै गएको छ । विभिन्न क्षेत्रबाट गरिएको अध्ययनअनुसार नेपालमा करिब ४७ प्रतिशत किसान परिवारसँग जम्मा ५ प्रतिशत मात्र जमिन छ । तर, धनी किसानको स्वामित्वमा ३७ प्रतिशत जमिन छ ७० प्रतिशतभन्दा बढी गरिब किसानसँग एक हेक्टरभन्दा कम भूमि छ । यो जमिनको उत्पादनले उनीहरूलाई वर्षभरि आवश्यक पर्ने खाद्यान्न उत्पादन हँुदैन । कृषि अनुसन्धान परिषद् नार्कको पछिल्लो अध्ययन अनुसार खेतीयोग्य ७० प्रतिशत माटोमा अम्लीयपनाको समस्या देखिएको छ । प्राविधिकको सल्लाहबिना नै रासायनिक मल प्रयोग गर्ने गरिएकाले यो समस्या बढ्दै गएको कृषि वैज्ञानिक बताउँछन् । यसैगरी सहरीकरणका नाममा जग्गा खण्डीकरण बढेकाले पनि खाद्यसंकट बढ्दै गएको र किसानले समयमै बीउबिजन नपाउनु, युवा धमाधम वैदेशिक रोजगारमा जानु लगायतका कारणले खाद्यान्न संकट निम्तिएको हो राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमको अध्ययनअनुसार विश्वमा प्रत्येक दिन करिब १६ हजार बालबालिका भोक र कुपोषणबाट मर्ने गरेका छन् । विकासोन्मुख मुलुकमा प्रत्येक पाँचमा एक जना व्यक्ति पूर्णरूपमा कुपोषणसम्बन्धी समस्याबाट पिडित हुने गरेका छन् । नेपालमा करिब ३६ लाख मानिस खाद्यान्न संकट झेल्न बाध्य छन् । मध्य पश्चिमाञ्चल र सुदूर पश्चिमाञ्चलका पहाडी तथा हिमाली जिल्लामा यो समस्या बढी छ ।

भू–उपयोग योजना उद्देश्य र वर्तमान कार्यगत लक्ष्य
उपरोक्त अवधारणा, सन्धि, ऐन, कानुन र मापदण्डको पालना गरी बढ्दो जनसंख्यालाई आवश्यक पर्ने खाद्यान्न उत्पादनमा निरन्तरता कायम राख्ने, वातावरण सन्तुलन राख्ने र बढी फाइदाजनक तथा दिगो विकासका लागि जमिनको उपयोग गर्न नेपालमा भू–उपयोग योजना सञ्चालन गर्न अत्यावश्यक भएको छ । सो उद्देश्य पूर्तिका लागि जमिनको भूक्षमता, वर्तमान उपयोग, राष्ट्रिय आवश्यकता तथा जनचाहनाको अनुरूप दीर्घकालीन सोचाइ राखेर सम्पूर्ण जग्गालाई कृषि, वन, चरन, आवास तथा अन्य उपयोगका लागि जग्गा छुट्याउने र ती क्षेत्र कित्ताकित्ताको लगत÷स्रेस्तामा पनि अंकित गरी सोहीअनुसार जमिनको उपयोग व्यवस्था मिलाउनुपर्नेहुन्छ । दोस्रो चरणमा सो वर्गीकरणअनुसार कृषि तथा अन्य उपयोग विदेशी बाली लगाउन सिफारिस तथा कानुनी व्यवस्था गरी कार्यान्वयन गराउनुपर्ने हुन्छन् ।

भौगोलिक वास्तविकतालाई आधार मानी भूमिको अधिकतम उपयोग गर्नुपर्छ । प्राकृतिक स्रोतमध्ये एउटा महत्वपूर्ण स्रोत भूमिलाई लिन सकिन्छ ।

विगत केही वर्षदेखि यता औद्योगिक क्रान्तिको थालनीदेखि माटोमा पनि प्रदूषणको समस्या देखापरिसकेको पाइन्छ । साधारणतया तराईको माटो पर्यावरणीय सन्तुलन अवस्थामा रहेको हुन्थ्यो । तर, आज तराईको माटोमा जति उर्वराशक्ति थियो । त्यो विस्तारै रित्तिएर गइरहेको बुझिन्छ । यसो हुनुको मुख्य कारण के हो भने माटोको गुणस्तर ख्यालै नगरी जथाभावी बालीनाली लगाउने प्रयासले र पहाडबाट बगाएर ल्याएका बलौटे माटो जम्मा भएर यस्तो भएको हो । ज्यादा खाद्यान्नको अभाव पूर्ति गर्न जथाभावी आधुनिक मल प्रयोग गरिनाले केही वर्षपछि त्यसको नतिजा उल्टो देखिन गएको पाइन्छ । सन् १९८१ मा काठमाडौं उपत्यकामा गरिएको एक सर्भेक्षणअनुसार त्यहाँका कृषकहरूले ३४० किलोग्रामप्रति हेक्टरको दरले नाइट्रोजन प्रयोग गरेको कुरा प्रकाशमा आएको छ जुन कुरा पश्चिमी राष्ट्रका तुलनामा दोबर हुन आउँछ । यस प्रकारले छरेको मलले माटोलाई मात्र प्रदूषित नपारी त्यस्ता जमिनबाट बगेर गएका पानीमा रहन बस्ने जनावरदेखि लिएर उड्ने चरा र मानव जातिलाई समेत प्रतिकूल असर पारेको बुझिन आउँछ ।

भू–उपयोग नीति २०६९
नेपालको कुल भूभागमध्ये करिब २७ प्रतिशत खेतीयोग्य, ३९ दशमलव ६ प्रतिशत वनक्षेत्र, १२ प्रतिशत चरन क्षेत्र, १७ दशमलव २ प्रतिशत हिउँ तथा चट्टान क्षेत्र र २ दशमलव ६ प्रतिशत जलक्षेत्र रहेकोमा यी विभिन्न क्षेत्रहरूको उचित व्यवस्थापनका लागि उपयुक्त भूउपयोगनीतिको अभाव रहेकाले देशका विभिन्न भागमा अव्यवस्थित रूपमा बसोबास क्षेत्र एवं शहरीकरण विस्तार हुँदै गएको, कृषि भूमि क्रमशः विनास हुँदै गएको, जग्गा ओगटेर बाँझो राख्ने प्रवृत्ति बढ्दै गएको, सुकुमबासीलगायत विभिन्न नाममा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रवृत्तिमा समेत बढोत्तरी हुँदै गइरहेको तथा जग्गामा भइरहेको अनियन्त्रित खण्डीकरणले कृषि उत्पादन तथा उत्पादकत्वमा समेत ह्रास आई खाद्य सुरक्षामा समेत प्रतिकूल प्रभाव परेको परिप्रेक्ष्यमा यस्ता समस्याको समाधानका लागि उपयुक्त नीति तर्जुमा गरी कार्यान्वयनमा ल्याउन आवश्यक भएकाले राष्ट्रिय भूउपयोग नीति, २०६९ लागू गरिएको छ ।

आर्थिक वर्ष २०७९-८० को बजेट वक्तव्यमा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा वैज्ञानिक भूमि सुधार योजना तर्जुमा गरी कार्यान्व्यन गरिने लक्ष्य राखिएको छ । भूमिको समुचित उपयोग गर्न संघीय भू–उपयोग योजना कार्यान्वयन गरिने लक्ष्य राखिएको छ । कृषियोग्य जमिन अन्य प्रयोजनमा प्रयोग गर्न निरुत्साहित गरिने नीति लिइएको छ ।

प्रदेश र स्थानीय तहमा भू–उपयोग योजना तर्जुमा गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराइने लक्ष्य राखिएको छ । भूमिहीन दलित, सुकुमबासी एवं अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने कार्यलाई राष्ट्रिय भूमि आयोगमार्फत प्राथमिकताका साथ अघि बढाइने नीति लिइएको छ ।

आर्थिक सर्वेक्षण २०७८-७९ मा उल्लेख गरिएअनुसार यस आर्थिक वर्ष २०७८ फागुनसम्म बाँकी रहेका २ सय २१ स्थानीय तहको भूउपयोग नक्सा-डाटा तयार भई सबै स्थानीय तहलाई नक्सा÷डाटा हस्तान्तरण गरिएको छ । निजी स्वामित्वको जग्गाको लिखत ७ लाख ८४ हजार पाना स्क्यानिङ भएको छ । भूमि सुधार तथा सूचना व्यवस्थापन प्रणाली र नागरिक एप एकीकृत भई जग्गा धनी स्वयंले आफ्नो जग्गा र रोक्को विवरण हेर्न सकिने प्रविधि विकास गरिएको छ । यसबाट जग्गा प्रशासनसम्बन्धी सेवा अनलाइन प्रविधिबाट सरल सहज र पारदर्शी ढंगबाट प्राप्त गर्न सकिने व्यवस्था लागू भएको छ ।

भू उपयोगको प्रकारः (१) उत्पादन, बजार व्यवस्था तथा खेती । (२) भू व्यवस्थापन, भूमि आकार र भू स्वामित्व । (३) खेतीप्रणाली तथा लगानी । (४) बाली उत्पादनका विशेषता । (५) सिँचाइको अवस्था आदि ।
वर्तमान १५आंै योजना २०७६–२०८१ मा भूमि व्यवस्था कार्यक्रमअन्तर्गत समन्यायिक, उत्पदनमुखी र दिगो भूमि व्यवस्था गर्ने सोच राखिएको छ भने दिगो विकासको अवधारणाअनुरूप भूमि व्यवस्थालाई राष्ट्रिको समृद्धिको आधार बनाउने लक्ष्य राखिएको छ । यसको साथसाथै भूमिको समूचित उपयोगमार्फत उत्पादन वृद्धि र यसबाट प्राप्त लाभाको समन्यायिक वितरण सुनिश्चित गर्नु, योजना तर्जुमा र विकास निर्माणका लागि आवश्यक शुद्ध एवं विश्वसनीय नक्सापास र भौगोलिक सूचना सर्वसूलभ बनाउने, भूमि व्यवस्थालाई आधुनिक प्रविधियुक्त, सरल र पारदर्शी बनाउने उद्देश्य पनि राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 87 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दाजुभाई मिलेर बहिनीको प्रेमीको हत्या

कुरी-कुरी