काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको महाराजगन्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्मित दुई विद्यालय भवनको उद्घाटन गरिएको छ ।
काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले बिहीबार शिवभरी माध्यमिक विद्यालय र जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनको उद्घाटन गरेका हुन् ।
शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्यअन्तर्गत सामुदायिक विकास परियोजनाका रूपमा भारत सरकारको आर्थिक सहयोग ५ करोड ९२ लाख रुपैयाँ लागतमा यी परियोजनालाई अघि बढाइएको हो । भारत स्वतन्त्र भएको ७५औं वार्षिकोत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’कै एक हिस्साका रूपमा यी परियोजनाको उद्घाटन गरिएको दूतावासले जनाएको छ ।
शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाकै सबैभन्दा पुराना विद्यालय हुन् जहाँ क्रमशः ७ सय र १३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यी विद्यालयका लागि यस परियोजनाअन्तर्गत निर्माण गरिएका नयाँ पूर्वाधारले उपयुक्त वातावरण सिर्जना गर्ने जनाइएको छ ।






