स्याङ्जा । विश्वभरि फैलिदै गएको कोरोना भाइरसले स्याङ्जालाई पनि सजग बनाएको छ । कोरोना भाइरस नेपालमा प्रवेश नगरोस भन्दै नेपाल सरकारले लक डाउन गरेको चौथो दिन भइसकेको छ । अहिलेसम्म स्याङ्जामा त्यस्तो खालको विरामी नदेखिए पनि बिदेशबाट आउनेलाई भने होम क्वारेन्टाईनमा राखिएको छ ।
स्याङ्जामा होम क्वारेन्टाईनमा बस्नेको संख्या २०० पुगेको छ । सबै बाँचौ र सबैलाई बचाउ भन्ने सन्देश दिदै जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्लाका जनप्रतिनिधि लगायत समाजिक अगुवाहरु यतीखेर जिल्लाभर खटिएका छन् । सरकारले कोरोना भाइरस सगँ लड्न लकडाउन गरेर सबै नागरिकलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

भारतको नाका सुनौलीबाट नजिक रहेको स्याङ्जा मानवीय रुपले यो रोगको संक्रमणबाट बच्न र बचाउन जिल्ला प्रशासन कार्यालय स्याङ्जाले विभिन्न सचेतना सगै अत्यन्तै कठोर संवेदनशिलता अपनाएको छ । अहिले सम्म स्याङ्जामा २०० जना भन्दा बढीलाई होम क्वारेन्टाईनमा राखिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए ।

विदेशबाट आउनेको संख्या धेरै भएपनि अहिलेसम्म उनीहरुमा कोरोना सम्वन्धी संक्रमणको लक्षण देखिएको पाइएको छैन प्रजिअ कुरुम्बाङ्ले भने, “सबै भन्दा चुनौती हामीलाई विदेशबाट आउनेमा देखिएको तर हामी अत्यन्तै सजग रहेका छौ ।” प्रजिअ कुरुम्वाङ्कक अनुसार क्वारेन्टाईनमा १७ जना र एक जनाको परिक्षणको लागि ल्यावटेष्ट गर्न पठाइएको जानकारी दिए । यो अवस्थालाई हेर्दा अहिले स्याङ्जा सामान्य रहेको जानकारी दिए । स्याङ्जामा ६ सय क्षमताको क्वारेन्टाईन र ५० जनाको क्षमताको आइसोलिसन कक्ष निर्माण भइसकेको प्रजिअले जानकारी दिए ।
जिल्लाको लकडाउनमा नागरिक सचेत बन्दै गएको प्रशासनले जनाएको छ । लकडाउन गरेको पहिलो दिन प्रहरीलाई हम्मे हम्मे भएपनि दोस्रो र तेस्रो दिन सम्म आईपुग्दा केही सचेत भएको प्रहरीले जनाएको छ ।

धेरै अटेर गर्नेलाई सामान्य सम्झाईबुझाई गर्ने र अटेर गर्नेको सवारी साधनका चक्काका हावा खुस्काउने काम समेत भएको छ । शहर देखि ग्रामिण क्षेत्र सम्म सेवा दिनु पर्ने नेपाल प्रहरी अत्यन्तै समंयताका साथ काम गरिरहेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख प्रहरी निरिक्षक निरन्जन घिमिरे बताउछन् ।
अझै पनि नागरिकमा प्रहरीले हिडडुल गर्न नदिएको आभास पैदा भएको पाएका छौं प्रहरी निरिक्षक घिमिरेले भने, “प्रहरी पनि नागरिक हो उसलाई पनि रोग लाग्न सक्छ, यसमा संमयम भएर खटिरहेका र नागरिकलाई सम्झाई रहेका छौं ।” अब पनि अटेरी गरेमा उनीहरुलाई क्वारेन्टाईनमा राखिने घिमिरेले बताए । विश्वभर फैलिएको कोराना भाइरस प्रशासन, प्रहरी, स्वास्थ्यकर्मी लगायतको निगरानीले मात्रै ठिक हुने होइन । यसमा सबै नागरिक सचेत बन्नु आवश्यक देखिन्छ । हामी आफै सचेत बन्न सकेमा देश र घरपरिवारको सुरक्षामा कोराना भाइरसले आक्रमण गदैन की ?