भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिँदै

काठमाडौं । पछिल्लो समय दुई छिमेकी भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिँदै गएको छ । भारत र चीनका नेताको नेपाल भ्रमण बाक्लिनुका साथै सम्बन्ध विस्तारका लागि भन्दै नेपालका नेताको समेत छिमेकी मुलुकको भ्रमणमा बढ्दै गइरहेको छ ।

चिनियाँ नेता काठमाडौं आएकै दिन माओवादी नेता नयाँ दिल्लीमा

आइतबार चीनका नेता काठमाडौं आए । आइतबार नै नेपालका केही नेता नयाँ दिल्ली पुगेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन च्या च्युन नेतृत्वको एक टोली तीनदिने शिष्टाचार नेपाल भ्रमणका लागि काठमाडौं आएको हो ।

अर्कातर्फ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको एक टोली भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेको छ । भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा ६ दिने भारत भ्रमणमा भुसालको टोली दिल्ली पुगेको छ ।

भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेका अनुसार भुसाल नेतृत्वको टोली ‘भाजपा चिन्नुहोस्’ कार्यक्रममा सहभागी हुनुका साथै उतराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामी एवं भाजपाका अन्य नेतासँग समेत शिष्टाचार भेटघाट हुनेछ ।

नयाँदिल्ली भ्रमणमा रहेको टोलीमा माओवादी केन्द्रकी उपाध्यक्ष भुसालका साथै सचिव चक्रपाणि खनाल, स्थायी कमिटी सदस्य सत्या पहाडी, केन्द्रीय सदस्य रामेश्वर राय यादव र सुरेशकुमार राई रहेका छन् । यसअघि भाजपा नेताहरूले नेपाल भ्रमण गरिसकेका छन् ।

दिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपाध्यक्ष भुसालले भ्रमण दुई पार्टीबिचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित हुने बताइन् । ‘मुख्यतः भाजपा र हाम्रो पार्टीगत सम्बन्धलाई सृदृढ पार्ने कुरा हो’ भुसालले भनिन्, ‘हामी सबैतिर सुमधुर सम्बन्धमा छौं । चिनियाँ कम्युनिस्ट पार्टीसँग भाइचारा सम्बन्ध र भाजपासँग मैत्री सम्बन्ध हो ।’ उनका अनुसार छ दिने भ्रमणमा भाजपाको केन्द्रीय नेतृत्वसँग अन्तत्र्रिmया र छलफल गर्ने कार्यक्रम छ ।

केही समयअघि मात्रै माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको एक जम्बो टोली चीन भ्रमण गरेको थियो ।

नेपाल भ्रमणमा आएको चिनियाँ टोलीले आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गर्नुका साथै आइतबार नै इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल माध्यमबाट संवाद गरेको छ ।

नेपाल भ्रमणमा आएका युआनले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा दुईपक्षीय हित तथा पारस्परिक सम्बन्ध मजबुत बनाउने विषयमा छलफल भएको राष्ट्रपतिका परराष्ट्र विज्ञ डा. सुरेश चालिसेले बताए ।

भेटवार्तामा राष्ट्रपति पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए । युआन श्रीलंकाको भ्रमण सम्पन्न गरी आइतबार नै काठमाडौं आइपुगेका हुन् । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो भने परराष्ट्रविज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापालगायतको सहभागिता थियो ।

प्रधानमन्त्री प्रचण्डसँगको संवादमा चिनियाँ टोलीलाई नेपाल भ्रमणमा आएकोमा स्वागत गरिएको छ । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको प्रचण्डको सचिवालले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड शनिबार संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन कृषिमन्त्री डा. बेदुराम भुसालसहितको टोली लिएर इटालीको रोम गएका थिए ।

भारत र चीनका नेताको काठमाडौं भ्रमण बाक्लिँदै जानुअघि गत २९ असारमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आएका थिए । काठमाडौं आएका लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना सम्झौता नेपालमा कार्यान्वयन हुँदै गइरहेको भन्दै सम्झौताका लागि धन्यावाद व्यक्त गर्दै यहाँका शीर्ष नेतासँग भेटघाट गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केपी ओलीको गृहनगरमा एमालेको विजयी सुरुवात