स्याङ्जा । कोरोना भाइरस फैलिन नदिन सरकारले गरेको लकडाउनमा सबैभन्दा बढी मर्कामा मजदुरी गरेर खाने वर्ग परेको छ । दैनिक ज्यालादारी गरेर आफ्नो जिविकोपार्जन गर्दै आएका मजदुरीहरु सरकारले गरेको लकडाउनमा मर्कामा पर्ने वर्ग हो ।
लकडाउन भएपछि दैनिक ज्यालादारी काम समेत बन्द भएको छ । मजदुरी गरेर परिवार पाल्दै आएका ज्यालदारी मजदुरलाई भोको बस्न नपरोस भन्दै जिल्लाका स्थानीयतहले चासो देखाउन थालेका छन् । चापाकोट नगरपालिका र कालीगण्डकी गाँउपालिकाले ज्यालादारी मजदुरहरुलाई खाद्यन्न सामाग्री वितरण गरेको छ भने गल्याङ नगरपालिकाले राहतको प्याकेज ल्याउने तयारी गरेको छ ।
दैनिक जीवन सञ्चालनमा समस्या देखिएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिकाले अतिविपन्न र मजदुरका परिवारलाई खाद्यन्न सामग्री वितरण गरेको छ । चापाकोट नगरपालिकाका प्रमुख शिब कुमार गिरीले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण देश यतिबेला लकडाउनमा रहेको र अतिविपन्न मजदुरहरुका लागि चापाकोट नगरपालिकाले राहातका कार्यक्रमलाई अगाडि बढाएको बताए ।
खानाको अभावमा कुनै पनि चापाकोट नगरबासी समस्यामा पर्ने छैनन् नगर प्रमुख गिरीले भने,“नगरपालिका नागरिकको सहज जीवनयापन गराउनका लागि प्रतिवद्ध छौ ।” विपत व्यवस्थापन तथा कोरोना रोकथाम र राहत कोष स्थापना गरेर नगरवासीलाई सहयोग उपलव्ध गराईएको छ उनले भने ।
चापाकोट नगरपालिकामा दैनिक ज्यालादारीमा काम गरेर खाने मजदुरहरुको पहिचान गर्न नगर भित्रका सबै वडा अध्यक्षहरुलाई आग्रह गरिएको उनले बताए । चापाकोट नगरपालिका वडा नं २ मा ३ घर वडा नं ४ मा २५ घर र वडा नं ६ को केलादी वृद्वाआश्रम र वडा नं ७ मा १ घरका सदस्यका लागि खाद्यन्न वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
यता कालीगण्डकी गाँउपालिकाले पनि मजदुर र अति विपन्न परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको गाँउपालिका प्रमुख खिमबहादुर थापाले बताए ।






