लकडाउनमा संरक्षित क्षेत्र जोखिममा

काठमाडौं । लकडाउनको मौका छोपेर तस्कर सक्रिय हुन थालेपछि संरक्षित क्षेत्रमा जोखिम बढेको छ । निकुञ्ज तथा आरक्षमा तस्करले सिकारका लागि शुक्रबार पर्सा निकुञ्जमा हतियारसहित प्रवेश गर्दा मुलुकभर जोखिम बढेको निकुञ्ज विभागले निष्कर्ष निकालेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले सम्भावित घटनालाई मध्यनजर गर्दै निगरानी बढाउन सबै निकुञ्ज र आरक्ष प्रमुखलाई निर्देशन दिइएको जानकारी दिए । मुलुकभर १२ राष्ट्रिय निकुञ्ज, दुई आरक्ष (ढोरपाटन सिकार आरक्षसहित) र ६ संरक्षण क्षेत्र छन् । यी सबैले मुलुकको कुल भूभागको २३.३९ प्रतिशत भूभाग ओगटेका छन् ।

लकडाउनसँगै तराईदेखि हिमालसम्मैका निकुञ्ज र आरक्षमा सेना र कर्मचारीको गस्ती बढाइएको छ । जरायो सिकारका लागि पर्सा निकुञ्जको महादेवखोला क्षेत्र पुगेका तस्करको समूह र निकुञ्जको सिद्धिबक्स गणका सेनाबीच गत शुक्रबार बिहान गोली हानाहान भएको थियो । त्यस क्रममा एक जना सिकारीको मृत्यु र सेनाका एक जमदार घाइते भएक थिए । लकडाउनको मौका छोपेर शुक्रबार ११ जनाको समूह महादेवखोला क्षेत्रमा भेटिएका थिए । तीमध्ये एक जनालाई मात्र निकुञ्जले पक्राउ गर्न सक्यो । एक जनाको ज्यान गएको थियो । ९ जना फरार छन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत अशोककुमार रामका अनुसार यो नै वर्षको पहिलो घटना हो । चालू आर्थिक वर्ष २०७६-७७ मा निकुञ्जभित्र काठ काट्न छिरेका १४ जनालाई निकुञ्जले समातेर कारबाही अघि बढाएको छ भने १८ जना फरार छन् ।

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) अणनाथ बरालले लकडाउनमा तस्कर सलबलाउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै निकुञ्जको संरक्षणार्थ तैनाथ शिवदल गणका सेना र कर्मचारीको गस्ती पहिलाभन्दा बढाइएको जानकारी दिए ।

निकुञ्जको टोलीले केही दिनअघि निकुञ्जको टाइगर टप्स होटल नजिकबाट काठसहित तस्करको समूहलाई समातेको थियो । उनीहरूमाथि निकुञ्जले अनुसन्धान गरिरहेको छ । बर्दियाको बबई क्षेत्र संवेदनशील मानिन्छ । सो क्षेत्रमा पनि गस्ती बढाइएको बरालले बताए ।

बबईमा चितवनबाट सारिएका केही गैंडा र बाघ छन् । सम्भावित चोरी सिकार हुने निकुञ्जको अन्य कोर क्षेत्रमा पनि सेना र निकुञ्ज टोलीको संयुक्त गस्ती तीव्र पारिएको छ । बर्दियामा पछिल्ला वर्षमा बाघ हेर्न पर्यटक भित्रिने गरेका छन् । पछिल्लो गणनाअनुसार बर्दियामा ८७ वयस्क बाघ छन् ।

चितवन निकुञ्जले पनि तस्करीको सम्भावनालाई ध्यान दिँदै सेना र कर्मचारीको संयुक्त गस्ती बढाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायणप्रसाद रूपाखेतीले निकुञ्जको संरक्षणार्थ खटिएको बटुक गण र कर्मचारीको संयुक्त गस्तीलाई पहिलाभन्दा सक्रिय पारिएको बताए । उनले भने, ‘सम्भावित घटनालाई मध्यनजर गर्दै निकुञ्जको भित्री भागसम्मै गस्ती र अनुगमन गरिरहेको छौं ।’

चितवन निकुञ्जमा २६ चैत २०७३ पछि सिकारीले गैंडा मारेका छैनन् । त्यसयता चोरी सिकारीबाट गैंडाको सिकार शून्य भइरहे पनि प्राकृतिक कारणले गैंडा मरिरहेका छन् । लकडाउनको मौका छोपेर निकुञ्जले वन्यजन्तुको चरन क्षेत्र र घाँसे मैदान व्यस्थापनको काम गरिरहेको छ ।

पाटे बाघको नयाँ बासस्थान बाँके निकुञ्जमा पनि सम्भावित चोरी हुन सक्ने सम्भावनालाई ध्यान दिँदै निकुञ्जले गस्ती र अनुगमन बढाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईका अनुसार लकडाउनको मौकामा तस्करी हुन सक्ने भएकाले अनुगमन र गस्ती बढाइएको छ । ‘लकडाउनको अवसर पारेर निकुञ्जको गस्ती र अनुगमनमा प्रयोग हुने बाटो, सडक बनाउने काम चलिरहेको छ,’ उनले भने, ‘शान्त भएर होला भित्री भाग र हाइवेमै पनि वन्यजन्तु देखिएका छन् ।’ यो निकुञ्जको धेरै भाग पूर्व–पश्चिम राजमार्गको बाँके क्षेत्रमा पर्छ ।

तराईमा मात्र होइन, हिमाली क्षेत्रमा पनि हिमाली वन्यजन्तुहरू कस्तुरी र हिउँ चितुवालगायत वन्यजन्तुको सम्भावित तस्करीलाई मध्यनजर गर्दै अनुगमन र गस्ती बढाइएको छ । हुन त सबै जसो हिमाली क्षेत्रमा पदयात्रा ठप्प छ । तैपनि, यही अवसरमा चौका हान्ने सम्भावना भएकाले गस्ती बढाइएको सगरमाथा निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताए । ‘पर्यटकको सिजन भए पनि लकडाउनले सगरमाथा क्षेत्र सुनसान छ,’ उनले भने, ‘कुनै गलत काम नहोस् भनेर यहाँस्थित शमशेर गुल्मका सेना र कर्मचारी सचेत छौं र गस्ती जारी छ ।’

केही वर्षअघिसम्म सगरमाथा क्षेत्रमा कस्तूरी मृगको अत्यधिक चोरी सिकार हुन्थ्यो । उपाध्यायले आर्थिक वर्ष २०७३÷७४ पछि चोरी सिकार घटेको बताए । सुदूरपश्चिममा पर्ने शुक्लाफाँटा निकुञ्जमा पनि गस्ती विस्तार गरिएको छ । प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौड्यालले लकडाउनको मौका छोपेर वन्यजन्तु र वनस्पतिको क्षति नहोस् भनेर निगरानी गरिरहेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाेखराका सुकुम्बासी : लालपूर्जामा तमासुक गर्नेलाई भाेट