सपनाका सौदागर

मनाङ हिमालपारिको जिल्ला भनेर सानोसानोमा पढ्थ्यौं । मनाङसँग कयौं वर्षसम्म कुनै साइनो थिएन । बालापन, स्कुले र कलेज जीवनपछि जागिरे जीवनको पनि उत्तराद्र्धतिर बल्ल मनाङसँग हिमचिम बढ्यो । जागिरे जीवनमा अनगिन्ती व्यक्तित्वसँग संगत हुन्छ । यो नै जागिरे जीवनको सुन्दर पक्ष लाग्छ । यिनै व्यक्तित्वहरूको भिडमध्ये केहीले आफ्ना सपनाहरूका माध्यमबाट अमिट छाप छोड्छन् । आजन्म उनीहरू देख्दा श्रद्धाले शिर झुक्छ । सपनाहरू जन्मन्छन् र मर्छन्, ठयाक्कै मानिसको जीवनजस्तै । सपनाहरूलाई मारेर आफू पनि मर्नेहरू यहाँ थुप्रै छन् । तर, केही जो सपनालाई नै सफलताको खुड्किलो बनाएर अघि बढ्छन्, सायद तिनीहरू नै सपनाका सौदागर भनेर चिनिन्छन् ।

मनाङेहरू आर्थिक रूपमा सम्पन्न हन्छन् भन्ने बुझाइ सर्वस्वीकार्य नै छ । अप्ठेरो भूगोल, सीमित जनसंख्या र अवसरबीच पनि कसरी सम्भव भयो होला ? धेरैले यसको श्रेय त्यसबखतका राजाहरूलाई दिने गर्छन् । तर, यिनको व्यावसायिक चेत र सर्मपणबिना सम्पन्नता पक्कै सम्भव थिएन । अहिले पनि त्यहाँ पुग्न भीरको बाटो घण्टौं मोटरमा गुड्नुपर्छ । बाटोभरि जीवन र मरणको जम्काभेट नपुगुन्जेल भइरहन्छ । मोटरबाटोअघिको विकटता कस्तो थियो होला ? हामी सजिलै अनुमान गर्न सक्छौं । यही भूगोलका एक भद्र, सम्पन्न, शालीन र काठमाडौंमै स्थापित एक व्यक्तित्वले जब माटोले बोलाएको सन्देश बोकेर मेरो सामु एक परियोजनाको प्रस्ताव बोकेर आए, म झसंग भएँ । मेरो पहिलो प्रतिक्रिया र सुझाव थियो नफर्किनुस् । तर, उनको दृढताको अघि म नतमस्तक भएँ । उनी अर्थात् पोल्देन छोपाङ गुरुङ, मनाङको माटोले जन्माएको एक सपनाका सौदागर ।

सपनाहरू जन्मन्छन् र मर्छन्, ठयाक्कै मानिसको जीवनजस्तै । सपनाहरूलाई मारेर आफू पनि मर्नेहरू यहाँ थुप्रै छन् । तर, केही जो सपनालाई नै सफलताको खुड्किलो बनाएर अघि बढ्छन्, सायद तिनीहरू नै सपनाका सौदागर भनेर चिनिन्छन् ।

घर्किदै गएको उमेर, पातलिँदै गएको पारिवारिक जिम्मेवारी र अवकाश खोज्दै गरेको जीवनका लागि पोल्देनले कठिन बाटो रोज्दै थिए । बसाइँ सराइ र अवसरहरूको अभावका कारणले मनाङका गाउँहरू रित्तिदै थिए । पर्यटकीय समयमा केही चहलपहल देखिए पनि अन्य बेला मस्र्याङ्दी नदीको सुसेली उराठ लाग्ने गथ्र्यो । उब्जाउ जमिन बिरलै रहेको मनाङे भूमिमा जौ र उवाबाहेक अन्य खाद्यान्न बालीको सम्भावना छैन । कृषिकर्म सजिलो पनि पक्कै हुँदैन । बाउबाजेको समयको स्याउ खेती झन् लगभग हराइसकेको थियो । त्यसैको आधुनिक र व्यावसायिक खेतीमा होमिन उनी दृढ संकल्पित थिए । हिमाली भेगमा व्यावसायिक खेतीका लागि आवश्यक पर्ने क्षेत्रफलको जग्गा पाउन असम्भवजस्तै थियो ।

कृषिप्रधान हाम्रो मुलुकमा निर्वाहमुखी खेतीपातीको बाहुल्यता छ । पहाड र तराईमा पनि व्यावसायिक खेती व्यवस्थित रूपमा कहिल्यै गर्न सकेको देखिएन । यसको एउटा मुख्य कारणका रूपमा सानासाना आकारका टुक्रे जग्गालाई पनि मान्ने गरिएको छ । हिजोआज त जग्गाको मूल्यले नै आकाश छोएको छ । समग्र परिस्थिति कृषिकर्मका लागि प्रतिकूल नै छ । तर, उनीसँग वैकल्पिक योजना थियो सायद र त उनी दृढ देखिन्थे । छोराहरू मन नलागीनलागी बाउको सपनामा सम्मिलित हुँदै थिए । पढेलेखेका उनीहरू स्याउ खेतीका ’boutमा अध्ययन र अनुसन्धान गर्न तल्लीन हुनथाले । भारत, चीन, युरोप, अमेरिकालगायतको भ्रमण र अध्ययनपश्चात उनीहरू युरोपमा केन्द्रित भए । यता, मनाङमा जग्गाको खोजीमा लागेका पोल्देनले मस्र्याङ्दीको किनारमा आशाको किरण देखे ।

वार्षिक २० लाख किलोसम्म स्याउ उत्पादन गर्ने सोच बोकेर अघि बढेका पोल्देनको सपनाले सार्थकता पाइसकेको छ । मनाङ मात्र होइन, आजकल स्याउ फल्ने अन्य जिल्लामा पनि यिनैले सुरुवात गरेका युरोपेली बोटहरूले स्थान पाउन थालेका छन् ।

मनाङ समाजको स्वामित्वमा मस्र्याङ्दी किनारको भार्ताङमा रहेको करिब ८ सय रोपनी बलौटे जग्गा वार्षिक २० लाख रुपैयाँ तिर्नेगरी भाडामा लिए । स्याउ खेतीका लागि जग्गाको विकासमा अहोरात्र खटाइ सुरु हुनथाल्यो । हिमपात, बाढी पहिरोका बीच ती भीरका बाटाहरू उनले कतिपटक काठमाडौंबाट छिचोले, उनको सम्झनामा छैन । करिब २ वर्षको अविराम खटाइपछि परियोजनाले आकार लिनथाल्यो । स्याउका बोटहरू इटालीबाट आयात गर्न थालियो । १ रोपनीमा ६५ वटा बोट रोपिए, जुन परम्परागत बोटका तुलनामा चारगुणा थियो । रोपेको अर्को वर्षदेखि नै बोटले स्याउ फलाउन थाल्थ्यो । परम्परागत बोटले करिब ७ वर्ष लगाउथ्यो । व्यवस्थित, आधुनिक र वैज्ञानिक पद्धतिबाट दक्षिण एसियाकै ठूलो स्याउ खेतीले पूर्णता पाउँदैगर्दा मनाङेहरूको सकारात्मक र नकारात्मक नजर उनले लिएको जोखिमका कारण उनीमाथि नै थियो ।

काठमाडौंको ‘पव’ संस्कृतिमा रमाइरहेका उनका छोराहरू पनि स्याउको हेरचाहमा व्यस्त हुनथालेका थिए । गल्फ र स्नुकरका क्लबमा चलायमान हातहरू कृषि औजारहरू चलाउनमा पोख्त हुनथाले । प्रविधिको सहजताले स्याउखेतीका नवीनतम जानकारीहरू उनीहरूबाट एक क्लिक मात्र टाढा हुन्थ्यो । स्याउका बोटहरूमा फलहरू लाग्न थालेसँगै बाउको सपनाको सारथी बन्न पाएकामा उनीहरू पुलकित बन्दै गएका थिए । बोटहरू रोपेको पहिलो वर्षमै फलहरू फल्न थालिसकेको थियो । अचम्मै माने सबैले रोपेको अर्को वर्ष नै फल लागेको देखेर तर उनीहरू जानकार थिए । त्यस वर्षको फल बटिलामै टिपेर फाले किनकि बोटले ती फलहरूको बोझ थाम्नसक्ने भइसकेका थिएनन् । यहीबीचमा उनीहरूले स्याउको प्रवद्र्धनमा स्थानीयसँग हातेमालो गर्न थाले । खाली रहेका जग्गाहरूमा स्याउका बोटहरू लगाउन उत्साहित गर्न थाले र सँगै थप जग्गाको खोजी पनि गर्न थाले । स्थानीयलाई उत्पादित स्याउ उचित मूल्यमा किनिदिने विश्वास उनीहरूले दिएका छन् । हेर्दाहेर्दै बसाइँ सरेर गएकाहरू हिजोआज मनाङ फर्किन थालेका छन् ।

वार्षिक २० लाख किलोसम्म स्याउ उत्पादन गर्ने सोच बोकेर अघि बढेका पोल्देनको सपनाले सार्थकता पाइसकेको छ । मनाङ मात्र होइन, आजकल स्याउ फल्ने अन्य जिल्लाहरूमा पनि यिनैले सुरुवात गरेका युरोपेली बोटहरूले स्थान पाउन थालेका छन् । कमजोर पूर्वाधारहरूका कारण उत्पादन र बजारीकरण लागत निकै बढी पर्नेगर्छ । आत्मानिर्भर नभएकाले विदेशीसँगको प्रतिस्पर्धा निकै चर्को रहेको छ । आफ्नै आँगनमा उनले चिस्यान केन्द्र पनि बनाएका छन् । कुनै समय बाढी पहिरोले बाटाहरू बन्द हुँदा स्याउहरू सड्ने गल्ने गर्छन् । स्याउबारीको बीचमा स्वीस शैलीको रिसोर्ट पनि बनाएका छन् । करिब थप ५ सय रोपनी जग्गामा स्याउ खेती सुरु गरिएको छ । परियोजनालाई चाहिने बिजुली बत्तीको व्यवस्था आफैले लघुविद्युत् केन्द्रको स्थापना गरेर मिलाएका छन् । पोल्देन यतिमा मात्र नरोकिएर उत्पादित स्याउले बजार नपाउला कि भनेर दसैंको छेको पारेर वाइनको कोसेली लिएर आएका छन् । अर्थात्, उनले केही वर्षको अध्ययन र अनुसन्धानपश्चात् स्याउको स्वादमा ३ हजार ५ सय मिटरको उचाइभन्दा माथि उत्पादित मनाङ भ्याली ब्रान्डमा वाइनका शैलीहरू बोकेर आएका छन् ।

पोल्देनको यात्रा यत्तिकैमा रोकिएला या अरू बढी नवीन यात्राका रङहरूमा उनी पोखिएलान् ? स्याउले उनलाई खाला वा उनले स्याउलाई खालान् ? गर्भमै छ, उनको अर्को चाल र गर्भमै रहन दिऊँ सायद, सपनाका सौदागार जो ठहरिए ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

epaper

ताजा समाचार

देउवा समूहको बैठकः असोज १५ मा वडा अधिवेशन प्रस्ताव