रियो दि जेनेरियो । ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का स्टार फरवार्ड नेयमारले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न आर्थिक सहयोग प्रदान गरेका छन् ।
नेयमारले युनिसेफ र सोलिडारिटी फन्डमार्फत ७ लाख ५० हजार पाउन्ड सहयोग गरेका हुन् । उनको यो सहयोग रकम कोरोना भाइरसबाट पीडित व्यक्तिहरू तथा कोरोनाका कारण संघर्ष गरिरहेका न्यून आय भएका परिवारलाई सहयोग हुनेछ । यसअघि अर्जेन्टिनी लियोनेल मेस्सी, पोर्चुगिज क्रिस्टियानो रोनाल्डो, म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गर्डिओला र स्पेनिस डेभिड डे गेयाले पनि आआफ्नो क्षेत्रका लागि सहयोग प्रदान गरेका थिए ।
नेयमार अहिले ब्राजिलमै सेल्फ क्वारेन्टाइनमा रहेका छन् । उनी त्यहाँ रहँदा आपूूmलाई फिट राख्न समुद्री किनारमा बिच भलिबल खेलेको र सरकारको निर्णयविरुद्ध रहँदै सपिङमा भुलेको भन्दै चर्काे आलोचना भएको थियो ।
क्याटलान क्लब बार्सिलोनाका पूर्वस्टार नेयमारले अघोषित रूपमा सहयोग गरे पनि पछि ब्राजिलियन टीभी कार्यक्रममार्फत सहयोग गरिएको घोषणा गरेको हो । कोरोनाको कारण दैनिक २ हजार बढीको ज्यान गइरहेको छ । पूर्वफुटबलर तथा म्याच अफ दि डे होस्ट गर्ने ग्यारी लिनेकरले दुई महिनाको ३ लाख पाउन्ड ब्रिटिस रेडक्रसलाई सहयोग गरेका छन् ।
यस्तै, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वफरवार्ड अर्जेन्टिनी कार्लास टेभेजले क्लबको आर्थिक तनाव कम गर्न र यो अवस्थामा समुदायलाई सहयोग गर्न खेलाडीलाई एक वर्षसम्मको पारिश्रमिक दिन आग्रह गरेका छन् ।






