भूकम्पले क्षतिग्रस्त गुम्बा पुनर्निर्माण कार्यविधि तयार

राजधानी समाचारदाता / काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित गुम्बा÷विहारको संरक्षण, जीर्णाेद्धार तथा पुनर्निर्माणसम्बन्धी कार्यविधि–२०७४ स्वीकृत गरेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले भूकम्पबाट प्रभावित गुम्बा÷विहारको संरक्षण, जीर्णाेद्धार तथा पुनर्निर्माणसम्बन्धी कार्यविधि–२०७४ स्वीकृत गरेसँगै २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएका करिब ११ सय गुम्बा तथा विहार पुनर्निर्माण गर्ने बाटो सहज भएको हो ।

यो कार्यविधि भूकम्पबाट प्रभावित सय वर्ष नपुगेका सार्वजनिक गुम्बाको संरक्षण, जीर्णोद्धार तथा पुनर्निर्माण कार्यका लागि मात्र लागू हुनेछ । भूकम्पले करिब १३ सय गुम्बा तथा विहार क्षतिग्रस्त भए पनि त्यसमध्ये ११ सय गुम्बा÷विहार सय वर्ष नपुगेका छन् ।

भूकम्पले करिब १ हजार ३ सय गुम्बा तथा विहार क्षतिग्रस्त भए पनि १ हजार १ सयले सय वर्ष पूरा गरेका छैनन् ।

सय वर्ष पुगेका सम्पदा पुनर्निर्माणका लागि प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार पुरातŒव विभागले पुनर्निर्माण गर्ने प्रावधान छ ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले यो कार्यविधि लागू भएसँगै भूकम्प गएको लामो समय हुँदा पनि पुनर्निर्माण हुन नसकेका गुम्बा तथा विहारको पुनर्निर्माणले तीव्रता पाउने बताए । पोखरेलले भने ‘कार्यविधि नहुँदा गुम्बा तथा विहारको पुननिर्माण कसरी अघि बढाउने भन्ने अन्योल थियो, अब सय वर्ष नपुगेका करिब ११ सय गुम्बा÷विहार पुनर्निर्माण द्रुत गतिले अघि बढ्नेछ ।’

कार्यविधि अनुसार पुनर्निर्माण गर्दा जोखिमयुक्त गुम्बा÷विहारहरूलाई पहिलो प्राथमिकता र अन्य गुम्बालाई क्रमशः क्षतिको स्तर वर्गीकरण गरी सोहीबमोजिम गर्नुपर्नेछ ।

भूकम्पप्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी सार्वजनिक खरिद कार्यविधि–२०७२ बमोजिम गरिनेछ । कार्यविधिले गुम्बा÷विहारहरूको पुनर्निर्माण गर्दा लैंगिक, अपांगता एवं बालमैत्री हुनुपर्ने समेत व्यवस्था गरेको छ ।