विदेशी आकाशमा नेपाली चलचित्रको मज्जा

काठमाडौं । धेरै दर्शकलाई लाग्नसक्छ, नेपाली चलचित्र हल र डिजिटल प्लेटफर्ममा मात्र हेर्न पाइन्छ । तर त्यसो होइन, आकाशमा उड्दाउड्दै पनि नेपाली चलचित्र हेर्न पाइन्छ ।

विश्वका ४१ देशमा एकसाथ रिलिज गरेको इतिहास बनाएको नेपाली चलचित्रले हवाई आकाशमा पनि जबर्जस्त स्थान बनाउन थालेका छन् ।

नेपाली चलचित्रहरू आन्तरिक मात्र होइन, अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले समेत यात्रुका मनोरञ्जनका लागि प्रदर्शन गर्न थालेका छन् । चलचित्र वितरक कम्पनीहरूका अनुसार १२ भन्दा बढी स्वदेशी तथा विदेशी उडानका क्रममा विमानभित्रै ६० भन्दाबढी नेपाली चलचित्र हेर्न पाइनेगरी व्यवस्था मिलाइएको छ ।

विमानमा नेपाली आकाशसँगै विदेशी आकाशमा यात्रा गर्ने क्रममा ती विमानको चलचित्र सूचीमा नेपाली चलचित्र देख्दा दंग परेको अनुभव छ, निर्माता, निर्देशक र कलाकारहरूको ।

केही अघि नेपाल एयरलाइन्सबाट जापान जाने क्रममा निर्देशक मिलन चाम्समा खुसीको सीमा रहेन । किनकि, अर्को सिटमा बसेका एक जना यात्रीले उनकै निर्देशनमा बनेको चलचित्र ‘बोबी’ हेर्दै यात्रा गरिरहेका थिए । त्यो घटना सम्झँदै निर्देशक चाम्सले राजधानीसँग भने, ‘नेपाल एयरलाइन्सको स्क्रिनमा चलचित्रको सूची हेर्दा हाम्रो बोबीसहित थुप्रै नेपाली चलचित्र रहेछ ।’

नेपाल एयरलाइन्सको ‘ए ३३०’ जहाजहरूमा नेपाली चलचित्रको ‘स्पेसल नेपाली लाइब्रेरी’ नै राखिएको छ । त्यहाँ करिब तीन दर्जन नेपाली चलचित्र छन् । नेपाल एयरलाइन्समा डिजिटल रूपमा हाइलाइट्स नेपालले चलचित्र उपलब्ध गराउँदै आएको छ ।

हाइलाइट्स नेपालले नेपाल एयरलाइन्स, फ्लाई दुबईसहित पाँचवटा एयरलाइन्सलाई नेपाली चलचित्रहरू उपलब्ध गराएको छ । तर, विगत आधा दशकयताबाट हाइलाइट्स नेपालले नेपाली चलचित्र किन्न छाडेपछि भने यी एयरलाइन्सका सोकेसमा नयाँ नेपाली चलचित्र देखिएको छैन ।

अन्तर्राष्ट्रिय एयरलाइन्समा चलचित्र प्रदर्शन पद्धतिको सेवा दिँदै आएको ‘टच एरो’सँग जोडिएको नेपाल एयरलाइन्सले पनि यही कम्पनीमार्फत नेपाली तथा विदेशी चलचित्र स्ट्रिमिङ गर्दै आएको छ । यो एयरलाइन्स बजार विभागका अनुसार नेपाल एयरलाइन्समा नेपाली चलचित्र खोजेर हेर्ने यात्रीहरू पनि पर्याप्त भेटिने गरेका छन् ।

अन्तर्राष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले स्थापना कालबाटै नेपाली चलचित्रहरू ३० हजार फिटमाथि आकाशको उडानमा प्रदर्शन गर्दै आएको छ । यस एयरलाइन्सलाई बुढासुब्बा डिजिटलले सुरुमा पाँचवटा चलचित्र उपलब्ध गराएको थियो ।

हिमालय एयरलाइन्सको इनफ्लाई मनोरञ्जनअन्तर्गत आफ्नो कम्पनीको ‘नाइँ नभन्नु ल ३’, ‘होस्टेल रिटर्न’, ‘षडङ’सहित पाँच चलचित्र राखिएको बुढासुब्बा डिजिटलका अध्यक्ष नवराज गिरीले जानकारी दिए ।

‘एयरलाइन्सको इनफ्लाइट च्यानलमा हालेपछि निकाल्न नमिल्ने भनेर उहाँहरूले लिनुभएको पाँचवटा चलचित्र उडानको क्रममा हेर्न पाइन्छ भन्ने जानकारी मैले अरूबाट पाएको छु, त्यसपछि उहाँहरूले हामीसँग अरू चलचित्र लिनुभएको छैन,’ उनले भने ।

कतार एयरलाइन्सले पनि ‘चलचित्र लाइब्रेरी’मा नेपाली चलचित्रहरू राखेको छ । अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाएका नेपाली चलचित्रलाई सो एयरलाइन्सले राख्ने गरेको छ । गत साता मात्र निर्माता एवं निर्देशक दीपक रौनियारसँग सम्झौता गरेर सो एयरलाइन्सले चलचित्र ‘राजगंज’ राखेको छ ।

कतार एयरलाइन्समा दीपकको ‘राजागंज’सँगै मीनबहादुर भामको चलचित्र ‘समवाला’ पनि छ । यी दुवै चलचित्रलाई कतार एयरलाइन्समा प्रदर्शनका लागि सम्बन्धित निर्माताहरूले नै बिक्री गरेका हुन् । चलचित्र ‘राजागंज’ अन्य विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्समा पनि राखिएको निर्देशक दीपक रौनियार बताउँछन् ।

चलचित्र ‘राजागंज’का अर्का निर्माता नीरज श्रेष्ठका अनुसार चलचित्र ‘राजागंज’लाई कतार एयरलाइन्ससहित विश्वका पाँच मुख्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरू अमेरिकन, युनाइटेड, लुफ्थान्सा र स्वीस एयरलाइन्समा हेर्न पाइने भएको छ । यी पाँचवटा अन्तर्राष्ट्रिय एयरलाइन्समा चलचित्र एकैसाथ स्ट्रिमिङ हुन थालेको पनि नीरजले बताएका छन् । ‘यो हाम्रो कथाहरूको उडान मात्रै होइन, ३० हजार फिटमा उडेर विश्व दर्शकबीच पुग्ने नेपाली चलचित्रको अर्को व्यावसायिक बजार पनि हो,’ उनी भन्छन् ।

नेपालको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म ओएसआर डिजिटलले टर्कीस एयरलाइन्सलाई केही वर्षअघि १५ वटा नेपाली चलचित्र उपलब्ध गराएको छ । आफूसँग डिजिटल बिक्री अधिकार भएको र युट्युबमा रिलिज भएको १५ वटा नेपाली चलचित्र उड्डयनको क्रममा प्रदर्शनका लागि टर्किस एयरलाइन्सलाई प्रदान गरिएको ओएसआरका अध्यक्ष ओमप्रकाश अग्रवालले बताए ।

‘हामीले प्रदर्शनका लागि दिएका १५ वटा चलचित्रको सम्झौताको समय सकिएको छ, त्यसपछि हामीले उहाँहरूसँग सम्पर्क गरेका छैनौं,’ उनले भने । टर्किस एयरलाइन्सको चलचित्र सूचीमा १५ वटा नेपाली चलचित्र रहेको जानकारी पाएको अध्यक्ष अग्रवाल बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

epaper

ताजा समाचार

प्रादेशिक अस्पताल मलङवाको समिति मनोनयन गैरकानुनी भन्दै स्थानीय युवाको विरोध प्रदर्शन