काठमाडौँ । घरपझोङ गाउँपालिकामा सोमवारबाट ‘घरपझोङ राष्ट्रिय मूर्तिकला कार्यशाला २०८३’ सुरु भएको छ । कार्यशालाको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले उद्घाटन गरेका छन् ।
सो गाउँपालिकाको आयोजनामा सुरु भएको यो कार्यशाला १५ दिनसम्म चल्ने छ । कार्यशालामा ३० जना कलाकारहरूको सहभागिता रहेको छ । कार्यशाला नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा सुरु भएको सो प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले बताए ।
घरपझोङ गाउँपालिका अध्यक्ष लालचनले घरपझोङको समृद्धिमा कृषि र पर्यटनसँगै ललितकला पनि जोडिएको बताए । उनले कार्यक्रममा भने, ‘ यो ठाउँ हिन्दु र बौद्ध धर्मावलम्बी दुवैको सङ्गमस्थल भएकाले यहाँ रहेका पवित्र स्थानसम्बद्ध विषयमा कला सिर्जना गर्दै इतिहास रच्ने मौका यहाँहरूले पाउनुभएको छ । तपाईँहरूको कला यस ठाउँमा आउने प्रत्येक मानिसहरूले हेरेर योगदानको कदर गर्नेछन् ।’
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतोले कार्यशालाबाट सिर्जना हुने मूर्तिकलामा घरपझोङको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, प्राकृतिकलगायतका विविध विषय समेटिने बताए । घरपझोङमा विभिन्न आकारमा रहेका ढुंगाहरूलाई मूर्तिको रूप दिने कार्य सोमबारबाटै सुरु भएको उनले जनाए । मुस्ताङको सांस्कृतिक पर्यटन प्रवर्धनमा यस कार्यशालाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।
प्रतिष्ठानसँगको सहकार्यले पालिकालाई उत्साहित बनाएको घरपझोङका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद बस्नेतले बताए । ललितकला पर्यटनको प्रवर्धनका लागि गाउँपालिकाले कार्यशालाको आयोजना गरेको धारणा उनले राखे ।
सम्बन्धित समाचार
कलाकार सागर लम्साल हाजिरी जमानीमा रिहा
धादिङकी चाँदनी श्रेष्ठ बनिन् आठौं ब्युटिसियन ट्यालेन्ट
चलचित्र ‘डिगर’प्रति उत्साहित छन् अभिनेता टम क्रुज
मधेसका चलचित्र प्रवर्धन गर्न चन्द्र नगरमा महोत्सव
अदालतले खारेज ग-यो तमन्नाहको १ करोड डलर क्षतिपूर्ति मुद्दा
‘मायाले जाल हान्यो’ गीत वैशाख ७ मा सार्वजनिक हुने
‘कथा घेरा’को सडक नाटक विवादको घेरामा
चलचित्र पत्रकार संघ नेपालको अध्यक्षमा बलामी






