यसरी लेखिन्छ, जीवनोपयोगी पाठ्यक्रम

पाठ्यक्रम एउटा व्यवस्थित शैक्षिक योजना हो, जसमा सिकाई उद्देश्य, शिक्षण विधि, शिक्षण सामग्री, अनुभव तथा मूल्यांकन पद्दतिजस्ता तत्व समावेश गरिएका हुन्छन् । त्यसो त, पाठ्यक्रम’bout विभिन्न विद्वानले फरकफरक धारणा राखेको पाइन्छ । अमेरिकी पाठ्यक्रमविद् हिल्टाटाबाका शब्दमा ‘पाठ्यक्रम शिक्षक र विद्यार्थीको आवश्यकता, सामाजिक सन्दर्भ र भविष्यका चुनौतीअनुसार समयसापेक्ष, व्यवहारिक र सिर्जनात्मक हुनुपर्दछ ।’ हाम्रो देशमा विद्यालयतहदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रमलाई टाबाले भनेजस्तो समयसापेक्ष बनाउनुपर्दछ भन्नेमा राज्य, विज्ञलगायत सरोकारवालाको मतमा खासै भिन्नता रहेको देखिँदैन । तर, ‘समयसापेक्ष पाठ्यक्रम कस्तो हुनुपर्दछ ?’ भन्ने विषयमा ठोस मापदण्ड तय गरेको पाइँदैन ।

आधुनिक शिक्षा पद्दतिमा पाठ्यक्रमविद् हिल्टा टाबाको अवधारणालाई व्यवहारिक तथा अर्थपूर्णरूपमा लिएको पाइन्छ । उनले ‘पाठ्यक्रमलाई ज्ञानको सूचीमात्र नभएर विद्यार्थीलाई भविष्यमा आइपर्ने चुनौती सामना गर्न तयार गरिएको योजना हो’ भनेकी छन् । हाम्रो देशको सन्दर्भमा पाठ्यक्रमले शिक्षित जनशक्तिले जीवनमा आइपर्ने चुनौती सामना गर्न सकेको अवस्था छ त ? विश्वविद्यालयसम्मको पाठ्यक्रमबाट प्रशिक्षित जनशक्तिले आर्थिक, सामाजिक तथा राजनितिक समस्या समाधान गर्नसक्ने क्षमता राख्न सकेको छ त ? उल्लेखित सवालको जवाफ खोज्दा सन्तोषजनक अवस्था छैन । यस अर्थमा व्यक्ति, समाज र सिंगो राष्ट्रमा आइपर्ने सामाजिक, आर्थिक, सांस्कृतिक तथा प्राविधिक चुनौतीसँग जुध्नसक्ने पाठ्यक्रम नै जीवनोपयोगी पाठ्यक्रम हुन आउँछ ।

‘राष्ट्रिय शिक्षा पद्दति योजना २०२८’मा पाठ्यक्रमलाई शिक्षाको उद्देश्य प्राप्तिका लागि बनाइएको शैक्षिक कार्यक्रम भएको उल्लेख छ । त्यसो त, शिक्षाको उद्देश्य एउटामात्र छैन, व्यापक उद्देश्य छन् । शिक्षाको उद्देश्य समयको गति र समाजको आवश्यकताअनुरुप परिवर्तन हुँदै जाने विषय पनि हो । अहिले हामी २१औं शताब्दीको तेस्रो दशकमा अगाडि बढिरहेका छौं । यो शताब्दी विज्ञान र प्रविधि विकास भएको युग हो, जहाँ जीवनका हरेक क्षेत्र डिजिटल रूपान्तरण प्रक्रियामा छन् । हाम्रा विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा प्रविधिको ज्ञान तथा सीपको प्रभावकारिता हुन नसक्दा विद्यार्थी अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बन्न सकेको अवस्था छैन । यस सन्दर्भमा पाठ्यक्रमलाई प्रविधिमैत्री, व्यवहारिक तथा जीवनोपयोगी बनाउन आवश्यक देखिन्छ ।

जीवनोपयोगी पाठ्यक्रमको महत्वपूर्ण पक्ष भनेको शिक्षाको आर्थिक कार्य हो । शिक्षाको आर्थिक कार्यअन्तर्गत व्यक्ति, समाज र राष्ट्रको आर्थिक विकासमा योगदान पु¥याउने जनशक्ति उत्पादन विषयसँग जोडिन्छ । हाम्रा विश्वविद्यालयले स्वदेशमै आर्थिक उन्नति गर्नसक्ने सक्षम जनशक्ति उत्पादन गर्न नसक्दा शिक्षित युवा रोजगारीका लागि अन्तर्राष्ट्रिय बजारमा पलायन भइरहेको अवस्था छ । शिक्षाले देशमा भएको प्राकृतिक स्रोत र साधन उपयोग गर्नसक्ने ज्ञान र सीप भएका जनशक्ति उत्पादन गर्नुपर्दछ । विश्वविद्यालयसम्मको अध्ययनले शिक्षित जनशक्तिमा आफ्नो खुट्टामा उभिनसक्ने, उद्यमी हुने र स्वरोजगारको ढोका खोल्ने ज्ञान तथा सीप अभाव हुनु भनेको पाठ्यक्रम जीवनोपयोगी हुन नसक्नु हो भन्ने बुझ्न जरुरी छ ।

आजको युगमा शिक्षा ज्ञान प्राप्त गर्ने माध्यममात्र होइन, जीवन निर्वाह र आर्थिक समृद्धिको आधार पनि हो । शिक्षाको आर्थिक कार्यअन्तर्गत विद्यार्थीले आफूले पढेको विषय वा क्षेत्रबाट प्राप्त ज्ञान तथा सीपको आधारमा रोजगारीयोग्य, उत्पादनशील र आत्मनिर्भर बन्नसक्ने क्षमता विकास गर्नसक्नुपर्छ । हाम्रा शिक्षालयबाट उत्पादन भएको जनशक्तिको ठुलो संख्या बेरोजगार हुनको पछाडि पाठ्यक्रम रोजगारमैत्री नहुनु हो । शिक्षालाई समयसापेक्ष बनाउने आधार पाठ्यक्रम भएकाले यसलाइ रोजगारी, उत्पादनशीलता र राष्ट्रिय समृद्धिको आधारसँग जोड्नुपर्दछ ।

जीवनोपयोगी पाठ्यक्रमको अर्को एउटा महत्वपूर्ण पाटो सांस्कारिक पक्ष हो । सांस्कारिक शिक्षाले व्यक्तिको असल चरित्र, नैतिकता, संस्कार, आत्मअनुसासन, इमानदारिता तथा जीवनमूल्यको विकास गराउँछ । महात्मा गान्धीले ‘मूल्यविहिन शिक्षा दिशा हराएको जहाजजस्तै हो’ भनेका छन् । जब शिक्षाले व्यक्तिमा सभ्यता, शिष्टता, सकारात्मक सोच, सत्य वचन, ठूलोलाई सम्मान, अरुलाई सहयोग गर्ने भावना, समानुभूतिको व्यवहारजस्ता गुण विकास गराउन सक्दैन, तब गान्धिको दृष्टिमा शिक्षाले बाटो बिराउँछ । जीवनको गन्तव्य भेटाउन सक्दैन । यसरी गान्धीवादी दृृष्टिकोणबाट हेर्दा शिक्षाको गोरेटोरूपी पाठ्यक्रममा नैतिकता, सदाचार, सहिष्णुता, सहअस्तित्व, सामाजिक जिम्मेवारी तथा जीवन मूल्यको अन्तरबोध गराउने विषयवस्तु समावेश गरिनुपर्दछ ।

जीवनोपयोगी पाठ्यक्रम बहसको अर्को एउटा ज्वलन्त विषय हो, प्राकृतिक विपद् र यसको व्यवस्थापन । विपद् व्यवस्थापनले प्राकृतिक वा मानवसिर्जित विपद्बाट हुने क्षतिलाइ बुझाउँछ । नेपाल भूकम्प, बाढीपहिरो, डुबान, शीतलहर, सिरेटो, आगलागीजस्ता विपद् पुनरावृत्ति भइरहने मुलक हो । अमेरिकी प्रसिद्ध विद्वान वेन्जामिन फ्र्यांकलिनले ‘तयारी नगर्नु भनेको असफलताको तयारी गर्नु हो’ भनेका छन् । वेन्जामिनको भनाइ आधार मानेर हेर्दा हाम्रो देशमा आइलाग्ने प्राकृतिक विपद्बाट बच्न र समाजलाई बचाउन विपद् न्यूनीकरण गर्ने ज्ञान तथा सीप भएका नागरिक तयार गर्न आवश्यक हुन्छ । यसका लागि विपद् व्यवस्थापनको विषयवस्तु पाठ्यक्रममा समावेश गर्न वाञ्छनीय ठानिन्छ ।

अमेरिकी पाठ्यक्रमविद् क्रो एन्ड क्रोले एकठाउँ भनेका छन्, ‘पाठ्यक्रमले विद्यार्थीको सम्पूर्ण सिकाई अनुभव समेट्छ, जुन उसले विद्यालय वा बाहिरका विभिन्न क्रियाकलापद्वारा प्राप्त गर्दछ ।’ उनको थप भनाइमा ‘पाठ्यक्रमले विद्यार्थीको मानसिक, शारीरिक, संवेगात्मक, सामाजिक र आध्यात्मिक विकासमा मद्दत पु¥याउँछ । यो भनाइ आधार मान्दा पाठ्यक्रमले विद्यार्थीको सर्वांगीण विकास गराउनुपर्दछ भन्ने अर्थ लाग्छ । पाठ्यक्रमले विद्यार्थी मानसिक, शारीरिक, भावनात्मक, सामाजिक तथा नैतिक विकासमा प्रभावकारी भूमिका खेल्नुपर्दछ ।
पाठ्यक्रम विद्यार्थीका लागिमात्र बनाइएको शैक्षिक योजना होइन । यो समग्र शैक्षिक क्रियाकलापको अंग हो । पाठ्यक्रमसँग जोडिने महत्वपूर्ण पक्षलाई पाठ्यक्रमविद् कनिंघमले यसो भनेका छन्, ‘पाठ्यक्रम कलाकार (शिक्षक)को हातमा एउटा यस्तो औजार हो, जसको सहायताले उसले आप्mना सामग्री (विद्यार्थी)लाई आफ्नो आदर्श (उद्देश्य)अनुसार आफ्नो कार्याशाला (विद्यालय)मा ढाल्न सक्दछ ।’

कनिंघमले भनेजस्तो समयसापेक्ष पाठ्यक्रम निर्माण गरेरमात्र हुँदैन । पाठ्यक्रमा समावेश विषयवस्तुलाई औजारका रूपमा उपयोग गर्दै शिक्षकले उद्देश्यअनुरुप शैक्षिक जनशक्ति उत्पादन कार्यमा कालीगढरूपी शिक्षण कला प्रयोग गर्न आवश्यक छ ।

शिक्षा प्रमाणपत्र प्राप्त गर्नका लागिमात्र नभएर भविष्य निर्माण गर्ने आधार हो । आजको विश्व तीव्र परिवर्तन यात्रामा अगाडि बढिरहेको छ । नयाँ ज्ञान, सीप र प्रविधि परिवर्तन भइरहेका छन् ।

यस्तो अवस्थामा हाम्रो पाठ्यक्रम समयसापेक्ष जीवनोपयोगी बनाउनुपर्दछ भन्नेमा कसैको पनि दुई मत हुन सक्दैन । विद्यार्थीलाई किताबी ज्ञानमात्र होइन, जीवनमा आवस्यक सीप, व्यवहारिक सोच, उच्च नैतिक चेतना, उद्यमशीलताका साथै आत्मनिर्भरता प्रदान गर्ने पाठ्यक्रम आजको आवश्यकता हो भने भोलिको समाजको अनिवार्य सर्त ।

पाश्चात्य चिन्तक माल्कम एक्सले ‘शिक्षा भविष्यको पासपोर्ट हो’ भनेका छन् । यसको अर्थ शिक्षाले व्यक्तिलाई अवसर, सफलता र प्रगति पथमा अगाडि बढ्न सहयोग गर्दछ । जसरी पासपोर्टबिना अन्तर्राष्ट्रिय यात्रा सम्भव हुँदैन, त्यसरी नै शिक्षाबिना भविष्यमा अवसरका ढोका खोल्न सकिँदैन । त्यसैले पासपोर्टरूपी शिक्षालाई गणुस्तरीय, व्यवहारिक तथा जीवनोपयोगी बनाउनका लागि पाठ्यक्रममा संशोधन, परिवर्तन तथा रूपान्तरण अनिवार्य सर्त हुन आउँछ ।

देशले अवलम्बन गरेको शिक्षाले विद्यार्थीलाई डिग्री बढाउने र प्रमाणपत्र प्रदान गर्नेमात्र गर्नु हुँदैन । शिक्षाले जीवन जिउने कला सिकाउनुपर्दछ । यसका लागि पाठ्यक्रमलाई जीवनमा आइपर्ने समस्यासँग जुध्न सक्ने कला तथा सीप आवश्यक हुन्छ । महान् वैज्ञानिक आइन्सटाइनले ‘विद्यालय छाडेपछि मानिसमा जे रहन्छ, त्यो नै शिक्षा हो’ भनेझंै विद्यार्थीले शिक्षालयबाट निस्कँदा किताबी ज्ञानमात्र होइन, जीवनका चुनौतीसँग जुध्नसक्ने योग्यता विकास, आत्मविश्वास, समस्या समाधान गर्ने क्षमता, नैतिक मूल्य, फराकिलो दृष्टिकोण, पेशागत सीपका साथै जीवन जिउने कला सिकेको हुनुपर्दछ । जो मानिसको व्यवहारमा झल्किने स्थायी गुण तथा जीवनकला हुन् ।

उद्यमशीलता हरेक मानिसको जिउने आधार हो । नैतिकता र इमानदारिता समाजमा बाँच्ने गहनारूपी गुण हुन् । देशको विधि विधान, नियम, कानुन पलना गर्नु, लोकहितमा समर्पित हुनु, अरुका विचारलाइ धैर्यपूर्वक सुन्नु, आप्mना विचार स्पष्टरूपमा राख्नु, आप्mना अधिकारको कुरा गर्दा अरुको अधिकार हनन गर्न हुँदैन भन्ने हेक्का राख्नुजस्ता गुण मानव मूल्यअन्तर्गत पर्दछन् । यस अर्थमा जीवनोपयोगी पाठ्यक्रममा अर्थोपार्जनको व्यवहारिक ज्ञान तथा मानव मूल्यका पक्ष समावेश गरिनुपर्दछ । यस प्रसंगमा राज्यले पाठ्यक्रम निर्माण गर्दा शिक्षाविद्, विषय विशेषज्ञ, शिक्षक, अभिभावक तथा विद्यार्थीको ज्ञान एवं अनुभव पनि समेट्नुपर्दछ ।

विश्व परिप्रेक्ष्यमा पाठ्यक्रम विकास शिक्षा प्रणालीको ऐतिहासिक, सामाजिक, आर्थिक र दार्शनिक परिवर्तनसँग गहिरोरूपमा जोडिएको प्रक्रिया हो । समयसँगै समाजका आवश्यकता बदलिँदै गएपछि शिक्षा र त्यसको पाठ्यक्रम पनि रूपान्तरित हुँदै आएको छ । प्रारम्भिक अवस्थामा पाठ्यक्रमको अवधारणा औपचारिकरूपमा विकसित नभए पनि शिक्षण–सिकाइ क्रियाकलाप धार्मिक, नैतिक र सांस्कृतिक मूल्यमा आधारित थिए ।

प्राचीनकालमा पाठ्यक्रम मुख्यतः धार्मिक ग्रन्थ, दर्शन, भाषा र नैतिक शिक्षाकेन्द्रित थिए । प्राचीन ग्रीसमा प्लेटो र एरिस्टोट्लले तर्क, दर्शन र नैतिकताको शिक्षा महत्वपूर्ण मानेका थिए भने प्राचीन भारतमा वेद, उपनिषद् र गुरुकुल प्रणालीमार्फत समग्र व्यक्तित्व विकासमा जोड दिइन्थ्यो । यस चरणमा पाठ्यक्रम स्थिर र शिक्षककेन्द्रित थियो । मध्यकालमा शिक्षा प्रायः धार्मिक संस्थाको नियन्त्रणमा रह्यो । युरोपमा चर्चले शिक्षा सञ्चालन गर्ने भएकाले पाठ्यक्रम धार्मिक शिक्षामै सीमित रह्यो ।

यद्यपि, पुनर्जागरण (नवजागरण)पछि मानवतावाद (मानवतावादी विचारधारा) विकाससँगै पाठ्यक्रममा साहित्य, कला, विज्ञान र मानव अनुभवलाई स्थान दिइन थाल्यो । यसले शिक्षा प्रणालीलाई केही हदसम्म उदार र व्यवहारिक बनायो ।

आधुनिक पाठ्यक्रम विकासको वास्तविक सुरुवात औद्योगिक क्रान्तिपछि भएको हो । औद्योगिक समाजलाई दक्ष जनशक्ति आवश्यक परेपछि शिक्षा प्रणाली व्यवस्थित र उद्देश्यकेन्द्रित बनाउन थालियो । यस सन्दर्भमा २०औं शताब्दी सुरुवातमा फ्र्यांलिन बबिटले पाठ्यक्रमलाई वैज्ञानिक र कार्य–आधारित रूपमा विकास गर्नुपर्ने धारणा अघि सारे । उनले समाजका आवश्यक काम विश्लेषण गरेर त्यसअनुसार पाठ्यक्रम निर्माण गर्नुपर्ने बताएका थिए ।

पछि राल्फ टायलरले सन् १९४९ मा ‘पाठ्यक्रम र शिक्षणका आधारभूत सिद्धान्तहरू’मार्फत पाठ्यक्रम विकासको व्यवस्थित नमुना प्रस्तुत गरे । टायलर मोडेल चार प्रमुख प्रश्नमा आधारित छन्– १. शिक्षाका उद्देश्य के हुन् ?, २. ती उद्देश्य प्राप्त गर्न कस्ता सिकाइ अनुभवहरू आवश्यक छनु ?, ३. ती अनुभव कसरी संगठित गर्ने ? र ४. उद्देश्य प्राप्त भए÷नभएको कसरी मूल्यांकन
गर्ने ?’ यही नमुनाले विश्वभर पाठ्यक्रम विकासमा गहिरो प्रभाव पारेको छ । विश्व परिप्रेक्ष्यमा पाठ्यक्रम विकास स्थिर नभई निरन्तर परिवर्तनशील प्रक्रिया हो । यसले समाजको आवश्यकताअनुसार शिक्षा प्रणालीलाई अनुकूल बनाउने प्रयास गर्दछ ।
(लेखकको यो निजी विचार हो)

तपाइको प्रतिक्रिया
(Visited 18 times, 1 visits today)

epaper

ताजा समाचार

मौलापुरमा हस्तक्षेप नगर्न प्रधानमन्त्रीलाई मेयर साहको आग्रह