काठमाडौं । सेन्सर पास भएर प्रदर्शनीको मुखमा नेपाली चलचित्र ‘लालीबजार’लाई अदालतले रोकेपछि त्यसको विरोध गर्दै चलचित्रकर्मीहरू बुधवार दिउँसो सडकमा उत्रिए । कला, चलचित्र तथा साहित्यमा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्ने मागसहितको प्लेकार्ड हातमा लिएर उनीहरूले माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शन गरे ।
नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ तथा नेपाल चलचित्र निर्देशक समाज सहित स्वतन्त्र चलचित्रकर्मी, लेखक सर्जकहरूले संयुक्त रूपमा सो विरोध प्रदर्शन गरेका हुन् ।
सो विरोधका क्रममा कलाकार तथा चलचित्रकर्मीहरूले हातमा कालो पट्टी बाँधेर १५ मिनेट मौन धर्ना दिएका थिए । त्यसपछि आयोजित कोणसभामा वक्ताहरूले चलचित्रको कथा, उद्देश्य र सन्देश नबुझी प्रतिबन्ध लगाउने प्रवृत्ति लोकतान्त्रिक समाजका लागि उपयुक्त नहुने बताए ।
कार्यक्रममा निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुलीले चलचित्र नै नहेरी अदालतले दिएको आदेश एकतर्फी देखिएको र यो आफूहरुलाई मान्य नहुने बताए । निर्माता संघका अध्यक्ष उदय सुब्बाले पनि कुनै एक व्यक्तिको विरोधका आधारमा सम्बन्धित समुदायको व्यापक धारणा नबुझी यस्तो निर्णय गरिनु आपत्ति जनक भएको बताए । अदालतलाई तत्कालै आफ्नो आदेश सच्याएर १८ वैशाखबाट ‘लालीबजार’ प्रदर्शनको अनुमति दिन पनि उनले माग गरे ।
चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र पाएको चलचित्र रोक्ने यस्ता घटनाले नेपाली चलचित्र उद्योगको मनोबल कमजोर बनाउने भन्दै आफूहरु थप आन्दोलनमा जाने चेतावनी दिए । ‘लालीबजार’की अभिनेत्री स्वस्तिमा खड्काले यो कुनै समुदायविरुद्ध नभई समाजका विविध यथार्थ प्रस्तुत गर्ने चलचित्र भएको दाबी गरिन् ।
यस्तै निर्देशक निश्चल बस्नेतले सृजनशील अभिव्यक्तिमाथि रोक लगाउने प्रवृत्ति दोहोरिन नदिन राज्यका निकाय संवेदनशील बन्नु पर्ने भनाई राखे । कार्यक्रममा बोल्दै निर्माता संघका महासचिव एवम् अभिनेता खगेन्द्र लामिछाने, निर्देशकहरू अशोक शर्मा, मनोज पण्डित, गणेश देव पाण्डे, सुयोग गुरुङ, रौनक विक्रम कँडेललगायतले सृजनशील क्षेत्रमाथि सरकारी हस्तक्षेप स्वीकार्य नहुने चेतावनी दिए ।
काल्पनिक कथामा आधारित रहेर निर्माण गरिएको भनिएको चलचित्र ‘लालीबजार’ विरुद्ध रोशनी नेपालीले सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी थिइन् । मंगलवार सो अदालतले अन्तरिम आदेश जारी गर्दै १८ वैशाखमा रिलिज हुने यसलाई २२ वैशाखसम्म पूर्ण रूपमा प्रदर्शनमा रोक लगाएको हो ।
यो चलचित्रलाई रिलिज अघि बादी समुदायलाई देखाइएकोमा रोशनी बाहेक अरूले यो प्रदर्शन गर्दा आफहरुलाई कुनै आपत्ति नहुने भन्दै यस अघि नै प्रतिक्रिया दिइसकेका छन् ।
सम्बन्धित समाचार
‘मायाले जाल हान्यो’ गीत वैशाख ७ मा सार्वजनिक हुने
पलेँटीमा गुन्जिए पवन र रमेश
क्याफे व्यवसायमा नेपाली अभिनेत्री
कर्णालीका चलचित्रकर्मीले सिके छायांकन र लेखन
चलचित्र ‘लालीबजार’को प्रदर्शनमा अदालतको रोक
जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
चीनमा नेपाली चलचित्रको प्रदर्शनमा सरकारी चासो
‘धुरन्धर २’को लाइभ विस्फोटमा ५०० लिटर पेट्रोल प्रयोग






