रविको आश्वासन र आक्रोसः सकुम्वासीमा छाती, प्रधानन्यायाधीश सिफारिसमा गर्धन

काठमाडौं । प्रतिनिधिसभा सदस्यलाई राजनीति सिकाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई दिने प्रशिक्षण सञ्चालन गरेको छ । ललितपुरको जावलाखेलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा रास्वपा सभापति रवि लामिछानेले राजनीतिभित्रका अन्तरसंघर्ष, सत्ता, सरकार, न्यायालय, मिडिया र जनताको सवालमा पार्टीको अवस्था र सांसदको भूमिकाको विषयमा प्रशिक्षण दिएका छन् ।

प्रशिक्षण समापनको अवसरमा आइतबार स्टाफ कलेजमा सांसदहरूलाई सम्बोधन गर्दै लामिछानेले पार्टीभित्रको विवादको विषयमा मिडियामा आएका टिप्पणीदेखि प्रधानन्यायाधीशको छनौट र अन्य राजनीतिक पार्टीदेखि मिडियासम्मको आलोचना गरेका छन् । लामिछानेले प्रधानन्यायाधीशको छनौट संवैधानिक घेराभित्र नै रहेर योग्यमध्येबाटै एक जनालाई सिफारिस गरेको बताउँदै सडक बहस बनाउन नहुने बताए ।

प्रधानन्यायाधीश छनौटलाई लिएर आफूलाई अगाडि सार्दै उनले भने, ‘मेरो गर्धन त्यहीँ छ, हतियार चलाइदिनुस् ।’ यसअघि सुकुम्वासी वस्तमिा डोजर चलाउन नदिने आशयसहित उनले वस्तीमा डोजर चलाउनुअघि आफ्नो छातीमा चलाउनुपर्ने आशयका अभिव्यक्ति दिएका थिए ।

प्रशिक्षण कार्यक्रममा आफूले त्यसबेला दिएको अभिव्यक्तिमा अहिले पनि अडिग रहेको बताउँदै जग्गा र घरबारबिहीन हुन नदिने प्रतिवद्धता दोहोर्याए ।

वरिष्ठ मात्रै छान्न परिषद किन चाहियो ?
लामिछानेले प्रधानन्यायाधीश नियुक्तिको परम्परा भत्काएको आरोपप्रति आपत्ति जनाउँदै पुरानै अभ्यास कायम राखिएको भए अहिले पनि संवैधानिक परिषदमा भागबन्डा चलिरहने टिप्पणी गरे ।

उनले भने, ‘प्रधानन्यायाधीश सिफारिसको लागि ६ जना न्यायाधीशको सिफारिस रास्वपाको सरकारले वा रास्वपाको उपस्थितिमा भएको होइन । त्यो त संवैधानिक परिषदमा सिफारिस भई बसेको थियो । परिषदमा हाम्रो पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री भएर गइसकेपछि योग्य भएको न्यायाधीशहरूबाट प्रधानन्यायाधीश चयन गर्दा विधि मिचिएको मानिन्छ भने संविधान संशोधनको बहस चलेको छ, गरौँ बहस ।’

संविधान संशोधनलाई समेत तान्दै आफ्नो मुद्दालाई समेत सांकेतिक रूपमा जोडेर लामिछानेले न्यायालयको सवालमा सांसदहरूलाई प्रशिक्षण दिएको भन्दै सार्वजनिक जवाफ दिएका थिए ।

गुटबन्दी गरे अर्कोपटक अवसर दिन्नौं
रास्वपा सभापति लामिछानेले पार्टीभित्र गुटबन्दी भएको स्वीकारेका छन् । आफू रविको वा बालेनको भनेकै कारण केही साथीहरू मन्त्री नबनेको भन्दै पार्टीभित्र गुटबन्दी नगर्न र अर्को चुनावको टिकट वा नियुक्तिको वचन नदिन सांसदहरूलाई निर्देशन दिए ।

उनले भने, ‘म त यताको हो नि, म त उताको हो नि भनेको कारण मन्त्री नभएका साथीहरू पनि हुनुहुन्छ, हामी यत्तिकै एउटा कार्यकालको लागि मिलौं न त भने होइन । यो देशको इतिहास सम्झिएर, भविष्यको सपना बुनेर यो सहयात्रामा हिँडेका साथीहरू हौं । त्यसकारण गुटबन्दी नगर्नुस् ।’

उनले ७० वर्षअघि राजनीतिक रूपमा मिल्नुपर्ने व्यक्तिहरू नमिलेकै कारण नेपाल ७० वर्ष पछाडि धकेलिएको र गुटबन्दीमा लाग्ने पार्टीहरू पनि सकिएको टिप्पणी गरे । प्रधानमन्त्री बालेन्द्र शाह र आफूबीच कुनै व्यक्तिगत मुद्दाका लागि एकता नभएको पनि उनको भनाइ छ ।

आफूहरू फुटेको हेर्न चाहेको भन्दै लामिछानेले मिडियाको पनि आलोचना गरे । उनले भने ‘बासना आउँदैमा सर्भ भइहाल्दैन, त्यस्तो आशा नगर्दा हुन्छ ।’

परम्परागत दलप्रति नरम
रास्वपा सभापति लामिछाने प्रशिक्षणका क्रममा पुराना दलप्रति ‘नरम’ देखिएका छन् । राजनीतिमा स्थापित पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतलाई रास्वपाको मुख्य प्रतिस्पर्धी र आलोचनाको केन्द्र बनाइरहँदा लामिछाने निरन्तर सफ्ट देखिइरहेका छन् । आफ्नो पार्टीभित्रको अन्तरसंघर्षलाई स्विकार्दै तत्काल पार्टी विभाजन नहुने बताइरहेका लामिछाने पुराना दलहरूप्रति नरम देखिनु संयोग मात्रै नभएको विश्लेषकहरू बताउँछन् ।

लामिछानेले कार्यक्रममा भने, ‘नेपाली कांग्रेस, नेकपा एमाले या माओवादीका नेताहरूले गरेको संघर्ष सामान्य थिएन, उहाँहरूले आफ्नो परिवार, बालबच्चा छाडेर, ज्यानको बाजी लगाएर संघर्ष गर्नुभयो ।’

लामिछानेले अगाडि भने, ‘३०औं वर्षसम्म पञ्चायतविरुद्ध लड्दा उहाँहरूलाई व्यवस्था परिवर्तन हुन्छ वा हुँदैन भन्ने नै थाहा थिएन, टाउकाको मूल्य तोकिँदा पनि परिवर्तनका लागि होमिएका ती दल र नेताहरूको जगमा आज हामी उभिएका छौं ।’

क्यामेरा देख्नेबित्तिकै अभिनय नगरौं
रास्वपा सभापति लामिछानेले आफ्ना सांसदहरूलाई भाइरल भएर मिडियाको क्यामेरा देख्नेबितिक्कै अभिनय नगर्न भन्दै चेतावनी दिएका छन् । सामाजिक सञ्जाल र मिडियाको बलमा उदाएका सांसदहरुलाई संसद् र संसदीय समितिहरूमा भाइरल हुनभन्दा जिम्मेवार हुन भन्दै लाक्षणिक रूपमा चेतावनी दिएका छन् । भाइरल सांसदप्रति चेतावनीयुक्त भाषामा उनले भने, ‘मलाई थाहा छ, संसदीय समितिमा धेरै क्यामेरा देखेपछि रगत तातेर आउँछ । भरे मेरो मतदाताकहाँ पुगिहाल्छ भनेर चर्को बोल्न मन लाग्छ । तर, त्यो तपाईँको भावना हो कि अभिनय हो ? अब भाइरलको दुनियाँबाट बाहिर निस्किनुपर्छ ।’

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

epaper

ताजा समाचार

५ लाखको चेक बाउन्समा भैरवी गाउँपालिका अध्यक्ष शाही पक्राउ