कपिलवस्तु । बुद्धभूमि नगरपालिकाको कृषि शाखामा साना कृषि यन्त्र (ट्याक्टर) वितरण प्रक्रियालाई लिएर विवाद उत्पन्न भएपछि वडा सदस्यले कार्यालयमै तालाबन्दी गरेका छन्।
वडा सदस्य शंकर विष्टले ट्याक्टर वितरण प्रक्रिया निष्पक्ष नभएको आरोप लगाउँदै कृषि शाखामा ताला लगाएका हुन्। उनका अनुसार एउटै वडामा मात्रै ३५ वटा ट्याक्टर वितरण गरिएको विषयले गम्भीर शंका उत्पन्न गरेको छ। वास्तविक किसानको पहिचान नगरी पहुँचका आधारमा अनुदान वितरण गरिएको हुनसक्ने उनको आरोप छ।

विष्टले सबै वडाका किसानको अवस्थाको मूल्यांकन गरी आर्थिक रूपमा कमजोर तथा वास्तविक रूपमा सहयोग आवश्यक भएका किसानलाई प्राथमिकतामा राखेर अनुदान वितरण गर्नुपर्ने माग गरेका छन्। वितरण प्रक्रिया पारदर्शी नभएसम्म तालाबन्दी नखोल्ने चेतावनी समेत उनले दिएका थिए।
यता, कृषि शाखा प्रमुख देविराम बेल्बासेले भने ट्याक्टर वितरण निर्धारित मापदण्ड र कार्यविधिअनुसार नै गरिएको दाबी गरेका छन्। उनका अनुसार लाभग्राही छनोट प्रक्रिया तोकिएको मापदण्डका आधारमा अघि बढाइएको हो र कुनै व्यक्तिको प्रभावमा निर्णय नगरिएको स्पष्ट पारेका छन्।
विवादपछि कृषि शाखाले वडा नम्बर १० मा अनुगमन गरेको जनाएको छ। अनुगमनका क्रममा मापदण्ड पूरा गरेका कृषकहरू पर्याप्त संख्यामा भेटिएको र सोही आधारमा अनुदान वितरण गरिएको शाखाको भनाइ छ।
साथै, कर्मचारीहरूले जनप्रतिनिधिहरूलाई आश्वस्त पार्दै यदि वितरण प्रक्रियामा अझै शंका रहेमा आगामी दिनमा जनप्रतिनिधिहरूलाई नै समेटेर पुनः संयुक्त अनुगमन गर्ने प्रतिबद्धता जनाएका छन्।
उक्त प्रतिबद्धतापछि दुवै पक्षबीच सहमति जुट्दै वडा सदस्यहरूले लगाएको ताला खोलिएको छ र कृषि शाखाको कामकाज पुनः सुचारु भएको छ। घटनापछि स्थानीय तहमा कृषि अनुदान वितरण, लाभग्राही छनोट र पारदर्शिताको विषय पुनः चर्चामा आएको छ।
सम्बन्धित समाचार
बुद्ध एयरको नेपालगञ्ज-पोखरा उडान स्थगन
जंगली च्याउ खाँदा पाल्पामा २ जनाको मृत्यु, दर्जन बिरामी
पर्यटकीय गन्तव्य बन्दै च्यामा गाउँ
जैसिथोक बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा
योग समितिमा पुनः डा भट्टराई निर्वाचित
विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’
मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ : मुख्यमन्त्री आचार्य
दाङमा टिपरको ठक्करबाट बाबुछोराकै मृत्यु






