लालपूर्जा माग्दै जिल्ला प्रशासन कार्यालय घेराउ

राजविराज । लालपूर्जा माग्दै आन्दोलनरत राजविराज नगरवासीले मंगलबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । नगरवासीकोतर्फ गठित जनआन्दोलन परिचालन समितिको अगुवाईमा जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको हो ।

जनआन्दोलन परिचालन समितिका संयोजक खेलानन्द दासको अगुवाइमा नगरमा प्रदर्शनपश्चात् पुगेको टोलीले दिउँसो ४ बजेदेखि ५ बजेसम्म एक घण्टा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् ।

एक घण्टे घेराउ कार्यक्रमपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्रसमेत बुझाइएको छ । प्रधानमन्त्री, मन्त्रिपरिषद्को कार्यालय तथा सरोकारवाला अन्य मन्त्रालय तथा निकायलाई बोदार्थपत्र दिइएको उक्त ज्ञापनपत्रमा आफूहरुको जायज माग अविलम्ब सम्बोधन नगरिए आन्दोलनका थप सशक्त कार्यक्रमहरु घोषणा गर्ने र यसबाट उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कार्यालय नै हुने भनी चेतावनी समेत दिइएको छ ।

लालपूर्जाको माग गर्दै विगत १० दिनदेखि राजविराज नगरपालिका कार्यालमा धर्नामा बस्दै आएका उनीहरुले अघिल्लो दिन सोमबार उक्त कार्यालयमा अनिश्चितकालिन तालाबन्दी नै गरेका थिए । तालाबन्दी दोश्रो दिन मंगलबार पनि जारि छ ।

यसअघि पनि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको उपस्थितिमा उनकै कार्यालयमा राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परविन, नापी कार्यालयका प्रमुख शत्रुधन यादव, भूमि व्यवस्था तथा मालपोत कार्यालयका निमित्त प्रमुख अजय झा, डिभिजन वन कार्यालयका प्रमुख पंकजकुमार मिश्र तथा आन्दोलन परिचालन समितिका पदाधिकारीसहित बसेको बैठकमा आफूहरुको माग सम्बोधन हुने विषयमा सरोकारवालाहरु गम्भीर नदेखिएकोले आन्दोलनलाई निरन्तरता दिइएको संयोजक दासको भनाइ छ ।

राजविराजको मुख्यबाजार तथा आसपासका गरी ७० बिगहा क्षेत्रफलमा राजविराज नगर स्थापना कालदेखि नै बसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवार हालसम्म लालपूर्जा पाउन नसकेको तथा समस्या परेका बेला नगरपालिकाबाट पाएको रसिद कै आधारमा बैंक तथा वित्तीय संस्थामा उक्त जग्गा धितो राखी ऋण लिने सुविधा विगत ८ वर्षदेखि रोकिदा नगरवासी समस्यामा परेका छन् ।

बि.सं. २०२८ सालमा राजविराज नगरपालिका क्षेत्रको नापी हुँदा उक्त जग्गाहरू गाउँब्लकमा रहेको भनी नापीको फिल्ड बुकमा स्पष्ट उल्लेख भएको छ । यस्तै २०१६ सालदेखि २०७५ सालसम्म उक्त जग्गाको खरिद बिक्री हुँदै आएको, अंशबण्डा, रजिष्ट्रेशन पास तथा बैंकमा धितो राखी ऋण पाउने गरेको, राजविराज नगरपालिकाको मिति २०८२ कार्तिक २८ गते बसेको नगर परिषदको बैठकले समेत लालपूर्जा प्रदान गर्न नापी कार्यालयलाई सिफारिश गरिसकेको भए पनि हालसम्म नगरवासी लालपूर्जा पाउनबाट बञ्चित छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

epaper

ताजा समाचार

लालपूर्जा माग्दै जिल्ला प्रशासन कार्यालय घेराउ