अवार्ड प्रदान गर्दै सकियो ‘छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव’

काठमाडौं । आदिवासी चलचित्रसम्बन्धी विभिन्न १४ ओटा जातीय संस्थाको आयोजनामा आइतबारबाट काठमाडौँमा जारी तीन दिनको ‘छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव २०८३’ सकिएको छ । विभिन्न विधामा अवार्ड प्रदान गर्दै महोत्सव मंगलवार बेलुका सम्पन्न भएको हो । चाबहिल स्थित चलचित्र विकास बोर्डमा आयोजित महोत्सवमा विभिन्न जाति जनजातिका १३ वटा लामा छोटा चलचित्र प्रदर्शन गरिएको थियो ।

महोत्सवमा उत्कृष्ट आदिवासी चलचित्रको अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’ले जितेको छ । यही चलचित्रले उत्कृष्ट स्क्रिप्टको अवार्ड पनि हाता पा¥यो । महोत्सव समापन समारोहमा उत्कृष्ट आदिवासी चलचित्र निर्देशकको अवार्ड लिम्बु चलचित्र ‘रीत’बाट दिनेश लिङदेनले जिते । ‘रीत’बाटै निर्माता आशा नेम्वाङ राईले दर्शकको सबै भन्दा धेरै भोट प्राप्त गरेर पब्लिक च्वाईस अवार्ड प्राप्त गरिन् ।
आदिवासी जनजाति फिचर चलचित्र तर्फ नै उत्कृष्ट अभिनेताको अवार्ड मगर चलचित्र ‘दिलसरा’बाट कल्याण राना मगरले र उत्कृष्ट अभिनेत्रीको अवार्ड नेपाल भाषाको चलचित्र ‘स्वयनगु’बाट भिन्तुुना श्रेष्ठले जितिन् । उत्कृष्ट छायांकारको अवार्ड तामाङ चलचित्र ‘ह्याङ तामाङ’बाट सूर्य लामाले प्राप्त गरे ।

यस्तै उत्कृष्ट आदिवासी वृत्तचित्रको अवार्ड मगर भाषाको ‘आग्रे’बाट अनिल बुढामगरले जिते । समारोहमा राजवंशी वृत्तचित्र ‘विराटनगरके प्राचीन राजवंशी’का निर्देशक अरविन्द विस्वासलाई जुरी अवार्ड प्रदान गरियो ।

उत्कृष्ट आदिवासी लघु चलचित्रको अवार्ड मगर भाषाको लघु चलचित्र ‘लाहुरेनि’ले पायो भने तामाङ लघु चलचित्र ‘दुखला ग्यम’लाई इन्करेजमेन्ट अवार्ड प्रदान गरियो । समारोहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निर्देशक राम मादेनले यस्ता महोत्सवले आदिवासी चलचित्रहरूलाई मूलधारमा आउन मद्दत पुग्ने बताए । महोत्सव निर्देशक सागर केरुङले यो महोत्सवमा आउँदा वर्षबाट अझ धेरै आदिवासी जनजाति चलचित्रहरू समेट्ने प्रतिबद्धता जनाए ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक