रास्वपा जिल्ला अधिवेशन : कतै शान्तिपूर्ण, कतै झैझगडा र विवादले स्थगित

उच्चस्तरीय संवाद समितिद्वारा रास्वपासँग छलफल

काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ नेतृत्व चयनसहित अधिवेशनमा जुटेको छ । पार्टी गठनपछि पहिलोपटक रास्वपाले वडादेखि केन्द्रसम्म निर्वाचन विधिमार्फत नेतृत्व चयन गर्दैछ । वडा, पालिका, जिल्ला, प्रदेश अधिवेशन सम्पन्न गर्दै रास्वपाले आगामी ७, ८ र ९ असारमा चितवनमा पहिलो महाधिवेशन गर्न लागेको हो ।

रास्वपाले सार्वजनिक गरेको अधिवेशन कार्यक्रमअनुसार शनिबार र आइतबार जिल्ला अधिवेशन भएको छ । कतै शान्तिपूर्ण जिल्ला अधिवेशन सम्पन्न भएको छ भने केही जिल्लामा स्थगित भएको छ । झैझगडा, हात हालाहाल, नाराबाजीसहित विविध कारणले विवाद भएर केही जिल्लामा अधिवेशन स्थगित भएको छ ।

पहिलो ऐतिहासिक जिल्ला अधिवेशन देशभर सुरु भए पनि ७७ वटै जिल्लामा अधिवेशन सम्पन्न भएको छैन । रास्वपाले आगामी प्रथम राष्ट्रिय महाधिवेशन अगावै ६७ जिल्लामा मात्र अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखेको छ । बाँकी १० जिल्लाको अधिवेशन भने महाधिवेशनपछि क्रमशः गरिने जनाएको छ ।

शनिबार र आइतबारमा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन सम्पन्न भएको छ । कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा र ओखलढुंगा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

बागमती प्रदेशको काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रेपलान्चोक, दोलखा, रामेछाप र सिन्धुली, गण्डकी प्रदेशको स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी, लुम्बिनी प्रदेशको गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा, कर्णाली प्रदेशको कालिकोट र सल्यान, सुदूरपश्चिम प्रदेशको बैतडी, बझाङ र दार्चुलासहितका जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

आन्तरिक विवाद, प्रक्रियागत त्रुटि, प्राविधिकसहित विभिन्न कारणले केही जिल्लामा जिल्ला अधिवेशन स्थगित भएको छ । महोत्तरीमा प्रतिनिधि छनोट र नेतृत्व चयनलाई लिएर दुई पक्षबीच तीव्र मतभेद भएपछि सुरक्षाको कारण देखाउँदै अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सर्लाहीमा पालिका अधिवेशनका कागजात अपूर्ण रहेको, स्वीकृत कार्यविधिअनुसार प्राविधिक त्रुटि देखिएको र समूहगत विवाद बढेपछि अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

जिल्ला निर्वाचन संयोजक डा. जयप्रकाश महतोले मतदाता नामावली, पालिका अधिवेशनका कागजात र प्रतिनिधि विवरण अद्यावधिक नभएकाले निर्वाचन स्थगित गरिएको बताए । वर्तमान जिल्ला सभापति सरोज बानियाँले डिजिटल पोर्टलमा विवरण अद्यावधिक गर्ने क्रममा त्रुटि भएको भन्दै छानबिन र कारबाहीको माग गरेका छन् ।

सिन्धुपाल्चोकमा शनिबार सुरु भएको अधिवेशन आन्तरिक विवादका कारण बीचमै स्थगित गरिएको छ । कार्यवाहक सभापति पासाङ तामाङले आकांक्षीबीच सहमति खोज्न समय लागेको हुँदा अधिवेशन स्थगित गर्नुपरेको जनाएका छन् । अधिवेशनका लागि नयाँ मिति तोकिएको छैन । अधिवेशन गराउनका लागि पार्टीले खटाएका निर्वाचन समितिका सदस्य बिरामी परेर शनिबार नै काठमाडौं फर्केका थिए ।

बारामा विशेष सांगठनिक परिस्थितिका कारण अधिवेशन पहिले नै २६ जेठका लागि तय गरिएको छ । रास्वपा बाराका नेता÷कार्यकर्ताले आइतबार काठमाडौंको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घेराऊ गर्दै नाराबाजी गरेका छन् । जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई पार्टी नेतृत्वले मान्यता नदिएको आरोप लगाउँदै उनीहरू विरोधमा उत्रिएका हुन् ।

धर्नामा सहभागी नेता–कार्यकर्ताहरूले लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित नेतृत्वमाथि अन्याय भएको दाबी गर्दै पार्टी नेतृत्वको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरूले जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको वैधानिकता स्वीकार गरी तत्काल जिम्मेवारी हस्तान्तरण गर्न मागसमेत गरेका छन् ।

कलैया उपमहानगरपालिकाको नगर अधिवेशनको निर्वाचन परिणाम र शपथग्रहण सकिएपछि पुनः निर्वाचन गराउने सूचना जारी भएपछि विवाद सिर्जना भएको हो । प्रदर्शनकारीहरूले बिनाहस्ताक्षर सामाजिक सञ्जालमार्फत निर्वाचन रद्द गरिएको भन्दै पार्टी नेतृत्वसँग स्पष्ट जवाफ र पारदर्शिताको माग समेत गरेका छन् ।

मनाङ र मुस्ताङका दुई हिमाली जिल्लामा वडा र पालिका अधिवेशन नै नभएकाले हाललाई जिल्ला अधिवेशन नगरिने निर्णय रास्वपाले गरेको छ ।

केही जिल्लामा नेतृत्व हत्याउने होडबाजी, प्रतिनिधि छनोटको विषयलाई लिएर विवाद, झैझगडा तथा कुटपिट भएका कारण स्थगित भएको छ । पर्साको वीरगन्जमा जिल्ला अधिवेशनको प्रतिनिधि चयन पारदर्शी नभएको भन्दै विवाद चर्किएपछि होटलभित्रै दुई पक्षबीच हेलमेट प्रहार र हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्जसमेत गर्नु परेको थियो । निर्वाचन प्रक्रिया केही समय स्थगित भएको थियो ।

महोत्तरीमा क्षेत्रीय तथा नगर अधिवेशनदेखि नै सुरु भएको विवाद बन्दसत्रसम्म आइपुग्दा हातपात र कुटपिटमा परिणत भयो । जसमा ३ जना घाइतेसमेत भएका थिए । धनुषाको जनकपुरधाममा जिल्ला अध्यक्षले मनोमानी गरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले जनकपुरधामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेको छ भने विवाद अझै कायम छ । यसअघि धनुषाका पालिका अधिवेशनमा पनि कार्यकर्ताबीच हात हालाहाल भएको थियो । जनकपुर उपमहानगरको अधिवेशन विवादपछि धनुषा जिल्लाको अधिवेशन २६ जेठका लागि सारिएको छ ।

सुनसरी जिल्ला अधिवेशनका क्रममा पनि प्रतिनिधिहरूबीच हात हालाहाल र विवाद भएको थियो । तर सुनसरीमा विवाद भए पनि जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

जिल्ला अधिवेशन सम्पन्न गर्दै रास्वपाले प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको छ । त्यसका लागि रास्वपाले प्रदेश अधिवेशन कार्यविधि पनि बनाइसकेको छ । रास्वपाले पार्टीको विधान २०७९ को तेस्रो संशोधन २०८१ को धारा ३१ बमोजिम ‘प्रदेश अधिवेशन कार्यविधि, २०८३’ बनाइसकेको छ । यसलाई १८ जेठको सचिवालय बैठकले अनुमोदन पनि गरिसकेको छ ।

रास्वपाले प्रदेश अधिवेशनको मितिसमेत तय गरिसकेको छ । २६ जेठबाट प्रदेश अधिवेशन सुरु हुनेछ । २६ जेठमा बागमती प्रदेश, २७ जेठमा कोशी प्रदेश, २८ गते मधेश प्रदेश, २९ गते गण्डकी प्रदेश, ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र १ असारमा सुदूरपश्चिम प्रदेशको अधिवेशन हुनेछ ।

त्यसपछि राष्ट्रिय महाधिवेशन चितवनमा हुने कार्यतालिका रास्वपाको छ । महाधिवेशनमा २ हजार ५ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुने बताउँदै आएको रास्वपाले पछिल्लो समय तीन हजार भन्दा बढी प्रतिनिधि सहभागी हुने जनाएको छ ।

मौजुदा केन्द्रीय समितिमा एक सभापति, २ उपसभापति, २ महामन्त्री, २ सहमहामन्त्री, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्षसहित १२९ सदस्यीय केन्द्रीय सदस्य छन् । रास्वपाको केन्द्रीय समितिमा सात प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था छ । तर अब विधान संशोधन गर्दै केन्द्रीय समितिमा पदाधिकारीको संख्या बढाउने तयारीसमेत पार्टी नेतृत्वले गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित