नेपाली चियामाथि भारतीय घेराबन्दी, किसान र उद्योगी संकटमा

इलाम । नेपाली चिया उद्योग अहिले अस्तित्वकै संकटमा पुगेको छ । भारतीय चिया बोर्डले लागू गरेको नयाँ गुणस्तर परीक्षण प्रक्रिया र निर्यातमा गरिएको कडाइका कारण लाखौं किलो नेपाली चिया भारतीय बजारमा अलपत्र परेपछि उद्योगीहरू उद्योग बन्द गर्ने अवस्थामा पुगेका छन् ।

हाल ३ लाख किलोभन्दा बढी तयारी चिया भारतमा गुणस्तर परीक्षणका नाममा रोकिएको छ भने नेपालका उद्योगहरूमा ७ लाख किलोभन्दा बढी चिया स्टक भएर थन्किएको छ । पहिलो टिपाईको उत्पादन भइरहँदा निर्यातको बाटो बन्द भएपछि उद्योग बन्द गर्नुपर्ने अवस्था रहेको उद्योगीको भनाई छ । चिया उत्पादक तथा प्रशोधक संघका अध्यक्ष डिल्ली श्रेष्ठले तयारी चिया बिक्री हुन नसक्दा उद्योगहरू संकटमा परेको बताए । किसानबाट खरिद गरिएको हरियोपत्ती प्रशोधन गरी तयारी चिया बजार पठाउन नसकिएको र उद्योगका गोदाम भरिएपछि उद्योग बन्द गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

१ मे २०२६ मा भारतीय चिया बोर्डले नेपालबाट आयात गरिने चियामा स्टेन्डर्ड अपरेटिङ प्रोसिड्युर (एसओपी) लागू गरेको छ । यो अवधारणाअनुसार प्रत्येक गाडीमा लगिएको चियाको गुणस्तर परीक्षण अनिवार्य गरिएको छ । एसओपी लागू गरिएपछि यसको रिपोर्ट आउन २० दिनभन्दा बढी लाग्ने, रिपोर्ट नआउञ्जेल बेच्न नपाइने, रिपोर्ट राम्रो आए बेच्न पाउने नत्र त्यही नष्ट गर्नुपर्ने वा फिर्ता ल्याउनुपर्ने बाध्यता नेपाली चियालाई छ । एक पटक नमुना परीक्षणमा फेल भए पुनः ३ साताभन्दा बढी समय गाडी त्यहीँ रोकेर, दोस्रो पटक त्यति नै शुल्क लिएरमात्र गुणस्तर परीक्षण गर्ने गरी कडाइ गरिएको उनको भनाइ छ ।

चिया उद्योगी पुनम राईले भारतले नेपाली चियामा नजानिदो तवरले ‘दोहोरो चरित्र’ देखाएको बताइन् । ‘यसरी कडाइ गरिनु नेपाली चियालाई प्रतिबन्ध लगाउनु नै हो,’ उनले भनिन्, ‘भन्सारबाट पास हुन दिएर कोलकाता पुगेपछि बिक्री हुन नसक्नु कुनै पनि मानेमा न्यायसंगत देखिँदैन, बरु भन्सारमै गुणस्तर जाँच गर्नुपर्नेमा त्यसो गरिएको छैन ।’ भारतीय बोर्डले दिएको नेपाली चियाको परीक्षण रिपोर्ट पनि ‘विश्वासयोग्य’ नभएको उनले जनाइन् ।

उद्योगी गोपाल कट्टेलका अनुसार भारतले विभिन्न प्रक्रियागत झन्झट सिर्जना गरेर नेपाली चियाको बजार बन्द गर्ने प्रयास गरिरहेको छ । सरकारले समयमै कूटनीतिक पहल नगरे नेपाली चियाको अर्बौं रुपैयाँको निर्यात व्यापार धराशायी हुने दुःख व्यक्त गरे । तयारी चिया बेच्ने अवस्था नभएकाले किसानबाट किनेको हरियो चियापत्तीको मूल्यसमेत तिर्न नसक्ने भएर असार १ गतेदेखि कारखाना बन्द गर्नुपरेको उनको भनाई छ । यो समय चियाको फस्र्ट फ्लसको तयारी चिया बेच्ने सिजन पनि हो ।

तर, यसैबेला भारतीय चिया बोर्डले विभिन्न मापदण्ड लागू गर्दै नेपाली चिया आयातमा उल्झन थपिदिएको छ । गुणस्तर जाँच गर्ने भन्दै भारतीय पक्षले नेपाली चिया बोकेर कोलकाता पुगेका गाडी महिना दिनसम्म अड्काइदिने गरेपछि उद्योगी चिन्तित भएका छन् । ‘किसानबाट हरियोपत्ती किनेर प्रशोधन गरिएको तयारी चिया न बिक्छ, न भण्डारण गर्ने ठाउँ नै खाली छ,’ श्रेष्ठले भने, ‘किसानलाई त जसरी पनि मूल्य दिनैपर्छ, त्यसैले बरु उद्योग नै बन्द गर्नुको विकल्प हामीसँग भएन ।’

चैत र वैशाख सबैभन्दा धेरै गुणस्तर र मूल्यको चिया उत्पादन हुने सिजन (फस्र्ट फ्लस) हो । त्यसबाट प्रशोधित उच्च मूल्यको तयारी चिया बेच्ने सिजन यही हो । तर, यहीबेला भारतले गुणस्तर परीक्षणमा निकै झन्झटिलो नियम लागू गरेको उद्योगीले जनाएका छन् ।

१ मेमा भारतीय चिया बोर्डले विज्ञप्ति जारी गर्नुअघि नेपाली तयारी चियाको एउटा नमुना परीक्षण गरेपछि २० गाडीसम्म निर्यात गर्न सकिने अवस्था थियो । यसअघि पनि बेला–बेला विभिन्न बहानामा नेपाली चिया भारतले रोक्न खोजे पनि अहिलेजस्तो बजारमा पुगेको चिया नै नष्ट गर्ने गरी कडाइ नगरेको व्यवसायी बताउँछन् ।

भन्सारबाट चाहिँ पास हुन दिएर भारतीय बजार पुगेपछि गुणस्तर परीक्षण भन्दै तयारी चिया बोकेका गाडी ३ सातासम्म अड्काउनु निकै गम्भीर समस्या भएको उद्योगीले बताएका छन् । उनीहरूले स्थानीय कच्चा पदार्थलाई नै प्रशोधन गर्ने उद्योगहरूको उत्पादन बेच्न सरकारले पहल नगरिदिएको उद्योगीको भनाई छ । ६५ भन्दा बढी चिया उद्योग रहेको सूर्योदय नगरपालिकाले चिया बिक्रीको भारतीय अवरोध खुला गर्न तत्काल उच्चस्तरीय कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयसँग माग गरेको छ । नगरले भारतको कोलकाता पुगेका नेपाली चियाका ‘कन्साइनमेन्ट’माथि भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै प्रवेश गरी प्रत्येक बोराको नमूना संकलन र परीक्षण गर्न थालेको र आधा दर्जनभन्दा बढी ट्रकबाट नमूना संकलन गरिएको एक साता व्यतित भइसक्दासमेत प्रयोगशालाको प्रतिवेदन प्राप्त नभएर प्रतिवेदन बेगर बिक्री–वितरण पूर्ण रोक लगाइएको पाएको जनाएको छ । झन्झटिलो प्रक्रियाका कारण गुणस्तरीय नेपाली चिया भारतीय गोदाममै थन्किएर गुणस्तर ह्रास हुने र बिग्रिने उच्च जोखिममा रहेको पनि जनाएको छ । ‘यस्तो अव्यावहारिक र गैरभन्सार अवरोधले नेपालको चिया उद्योग धराशयी हुने, हजारौं किसान र श्रमिकको रोजीरोटी गुम्ने तथा राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक असर पर्ने निश्चित छ,’ नगरले विज्ञप्तिमा उल्लेख गरेको छ, ‘तसर्थ, भारतीय चिया बोर्डबाट सिर्जित अवरोधलाई तत्काल अन्त्य गरी पूर्ववत् सम्झौता र समझदारीअनुरूप निर्वाध चिया निर्यातको वातावरण सुनिश्चित गर्न नेपाल सरकारको तर्फबाट भारत सरकारसँग तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरिदिनु आवश्यक छ ।’

एसोसिएशनका अनुसार सूर्याेदय नगरपालिकामा मात्रै २ हजार ९ सय ९५ चिया किसान छन् । नगरको ३३ हजार ६ सय ५५ रोपनीमा भइरहेको चिया खेतीबाट वार्षिक २ करोड किलो हरियोपत्ती उत्पादन हुने गरेको छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार बर्सेनी नेपालबाट ७० लाख किलोभन्दा बढी अर्थाेडक्स तयारी चिया निर्यात् हुने गरेकामा ९० प्रतिशतभन्दा धेरै भारत नै जान्छ । अर्थाेडक्स चिया इलाम, पाँचथर र धनकुटालगायत जिल्लामा उत्पादन हुन्छ । वार्षिक १ करोड ९० लाख किलो सिटिसी चिया उत्पादन हुने गरेकामा १ करोड किलो चाहिँ भारतमै बिक्री हुने गरेको तथ्यांक छ । सिटिसी सबैभन्दा धेरै झापामा उत्पादन हुन्छ । बोर्डका अनुसार नेपालबाट वार्षिक सवा ४ अर्बको तयारी चिया निर्यात हुने गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिपक्षीको बहिष्कारबीच राति ११:४५ बजे सुदूरपश्चिमको बजेट