रैथाने खाद्य परिकार मेलामा कोदोको ममदेखि मकैको खिरसम्म

डडेल्धुरा । आधुनिक जंकफुड र प्याकेटबन्द खाद्यवस्तुको बढ्दो प्रयोगका बीच अमरगढी नगरपालिकामा शनिबार स्थानीय रैथाने खाद्य परिकारको आकर्षक मेला सम्पन्न भएको छ । स्वास्थ्यवद्र्धक रैथाने बाली तथा तिनबाट बन्ने परम्परागत परिकारको संरक्षण, प्रवद्र्धन र उपभोग बढाउने उद्देश्यले महिला उद्यमी संघ डडेल्धुराले मेलाको आयोजना गरेको हो ।

अमरगढी नगरपालिकाको आर्थिक सहयोगमा आयोजित मेलामा सुदूरपश्चिमको पहिचान झल्काउने १५ भन्दा बढी स्थानीय परिकार प्रदर्शन तथा स्वादका लागि राखिएका थिए । मालपुवा, मकैको खिर, कोदोको मम, मासको बडुक, मासको दाल लगाएको माणा (रोट), कोदो–चामलको सेलरोटी, तिलको बुक्का, पञ्चदालको क्वाँटी, दही, मोही तथा विभिन्न अचारले आगन्तुकको ध्यान खिचेका थिए ।

स्थानीय रैथाने बालीबाट तयार गरिएका यी परिकारले एकातिर पुरानो स्वादको सम्झना दिलाए भने अर्काेतिर पोषणयुक्त खाद्य संस्कृतिप्रति नयाँ पुस्ताको ध्यानाकर्षण गराए । मेलामा सहभागीहरूले परिकारको स्वाद चाख्दै यस्ता खानाको महत्व’bout जानकारीसमेत लिएका थिए ।

अमरगढी नगरपालिका कृषि शाखा प्रमुख रमेश भण्डारीका अनुसार स्थानीय खाद्य परिकारको प्रचार–प्रसार तथा उपभोग वृद्धि गर्ने उद्देश्यले महिला उद्यमी संघलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरिएको थियो । मेलामा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, कृषि प्राविधिक तथा किसान समूहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

हामीले आफ्नै खेतबारीमा उत्पादन हुने पोषणयुक्त खाद्यान्नलाई बिर्संदै गएका छौं, अमरगढी नगरपालिका प्रमुख डिल्लीराज जोशीले भने, बजारमा उपलब्ध प्रशोधित तथा प्याकेटबन्द खाद्यवस्तुको प्रयोग घटाएर स्थानीय उत्पादनको उपयोग बढाउन यस्ता कार्यक्रम आवश्यक छन ।

महिला उद्यमी संघ डडेल्धुराकी पूर्वअध्यक्ष पार्वती देउवाका अनुसार २०७३ सालमा १० जना महिलाले स्थापना गरेको संघले पछिल्ला वर्षहरूमा स्थानीय रैथाने खाद्य परिकारलाई व्यवसायिक रूपमा प्रवद्र्धन गर्दै आएको छ । संघले जिल्लामा आयोजना हुने विभिन्न मेला, महोत्सव तथा सभाहरूमा स्थानीय परिकार तयार गरी बिक्री गर्दै आएको छ भने सदरमुकामको तुफानडाँडा बजारमा होटलसमेत सञ्चालन गरिरहेको छ ।

रैथाने बाली तथा परिकार केवल खानाका परिकार मात्र नभई स्थानीय संस्कृति, परम्परा र पहिचानका महत्वपूर्ण आधार भएको भन्दै सहभागीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन ।

स्थानीय उत्पादनको संरक्षण, किसानको आम्दानी वृद्धि र स्वस्थ जीवनशैलीको प्रवद्र्धनका लागि रैथाने खाद्य संस्कृतिको पुनर्जागरण आवश्यक रहेको सन्देश मेलाले दिएको आयोजकहरूको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्ड र जर्मनी विजयी, इतिहास रच्यो कुरासाओले