यस्तो बन्यो ‘टीम रास्वपा’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्यमा पार्टीका चर्चित अनुहार भारी मतसहित विजयी भएका छन् । चितवनमा जारी रास्वपा प्रथम महाधिवेशनमा भएको विद्युतीय मतदान र प्रवासका मतदाताले एप्समार्फत गरेको मतदानबाट अर्थमन्त्री स्वर्णिम वाग्लेसहित निर्वतमान उपसभापति ‘म्यान अफ द इलेक्सन’ भएका छन् ।

अर्थमन्त्री वाग्ले बने ‘म्यान अफ द इलेक्सन’

उनले २ हजार ६ सय ७ मत ल्याउँदा प्रतिस्पर्धामा उत्रिएका सबै ९ मन्त्री पनि केन्द्रीय सदस्य बनेका छन् । रास्वपाका अधिकांश सांसद केन्द्रीय सदस्य बन्दा केही विवादित सांसद भने पराजित भए । ९९ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा खुल्ला र विभिन्न कलस्टर गरी ३ सय ७९ ले उम्मेदवारी दिएका थिए ।

केन्द्रीय सदस्यमा निर्वाचित ९९ मध्ये हरेक प्रदेशबाट ५ जनाका दरले ३५ र केन्द्रीय खुल्लातर्फ ३५ जना निर्वाचित भएका छन् । त्यस्तै, समावेशी समूहमा खसआर्यतर्फ पाँच महिला र पाँच पुरुष निर्वाचित हुँदा आदिवासी जनजाति कोटातर्फ चार महिला र पाँच पुरुष निर्वाचित भएका छन् ।

मधेशी कोटातर्फ तीन महिला र पाँच पुरुष, दलिततर्फ दुई महिला र दुई पुरुष तथा मुस्लिमतर्फ एक महिला र एक पुरुष निर्वाचित भएका छन् । अर्थमन्त्री वाग्ले परराष्ट्रमन्त्री शिशिर खनाल, कानुनमन्त्री सोबिता गौतम, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरी, युवा श्रम तथा रोजगारमन्त्री रामजी यादव र महिला तथा बालबालिकामन्त्री सीता बादी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

मन्त्री बनेकामध्ये गौतमले सबैभन्दा ‘पपुलर मत’ ल्याएर निर्वाचित भएकी हुन् । रास्वपा विधानअनुसार १९ पदाधिकारीसहित १ सय ५८ सदस्यीय केन्द्रीय समिति व्यवस्था गरिएको छ । जसमा ५१ केन्द्रीय सदस्य सभापतिले मनोनयन गर्ने व्यवस्था छ ।

सात प्रदेशका सभापति पदेन केन्द्रीय सदस्य हुने छन् । केन्द्रीय समिति निर्वाचनपछि ३३ सदस्यीय सचिवालय गठन गरिने छ । सभापति १, वरिष्ठ नेता १–१ जना महिलासहित ३ उपसभापति, दुई महामन्त्री, १ महिलासहित पाँच सहमहामन्त्री, कोषाध्यक्ष १, सहकोषाध्यक्ष २, प्रवक्ता १, सहप्रवक्ता ३ जना रहने व्यवस्था रास्वपा विधानमा छ ।

कुल ४ हजार ३ सय ११ प्रतिनिधिमध्ये २ हजार ९ सय ५९ जना (करिब ७६.८० प्रतिशत) ले विद्युतीय भोटिङ मेसिन (ईभीएम) र मोबाइल एपमार्फत मतदान गरेका हुन् । यसका लागि ८० वटा ‘राम–लक्ष्मण’ भोटिङ मेसिन जडान गरिएका थिए ।

निर्वाचित ९९ मध्ये कुन क्लष्टरबाट कति निर्वाचित ?
प्रदेशतर्फः हरेक प्रदेशबाट ५ जनाका दरले ३५ जना
केन्द्रीय खुल्लातर्फः ३५ जना
खसआर्यतर्फः महिला ५ जना, पुरुष ५ जना
आदिवासी–जनजातितर्फः महिला ४ जना, पुरुष ५ जना
मधेशीतर्फः महिला ३ जना, पुरुष ५ जना
दलिततर्फः महिला २ जना, पुरुष २ जना
मुस्लिम तर्फः महिला १ जना, पुरुष १ जना

तपाइको प्रतिक्रिया
(Visited 555 times, 1 visits today)

epaper

ताजा समाचार

१२ असार २०८३