सुदूरपश्चिमका बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री ओमविक्रम भाट ‘सरल’ ले मन्त्रालयअन्तर्गत सञ्चालित बहुवर्षीय ठेक्काको अवस्था अध्ययन गर्न समिति गठन गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै मन्त्री भाटले तीनवटा निर्णयमा हस्ताक्षर गरेका हुन् ।

मन्त्रालयको प्रादेशिक सडक तथा यातायात व्यवस्थापन महाशाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर रामचन्द्र खत्रीको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू सदस्य छन् । समितिलाई बहुवर्षीय ठेक्काको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

समितिको प्रतिवेदनका आधारमा लामो समयदेखि काम अघि बढ्न नसकेका बहुवर्षीय ठेक्का’bout आवश्यक निर्णय लिइने मन्त्री भाटले बताए । वर्षौँदेखि ठेक्का अलपत्र हुँदा नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले सम्बन्धित निर्माण व्यवसायीलाई काममा फर्काउने र काम अघि नबढाउने ठेक्का रद्द गर्ने चेतावनी दिए ।

यसैगरी, कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको राजमार्ग तथा धनगढी–अत्तरिया सडकखण्डमा दुर्घटना न्यूनीकरणका उपाय पहिचान गर्न अर्को समिति गठन गर्ने निर्णय पनि गरिएको छ । उक्त समितिको संयोजकमा पनि इन्जिनियर खत्रीलाई तोकिएको छ । मन्त्रालयका सचिव विष्णु भण्डारीका अनुसार समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ ।

सडक दुर्घटना न्यूनीकरणका लागि सडक बत्ती, ट्राफिक व्यवस्थापनलगायतका क्षेत्रमा आवश्यक काम अघि बढाइने मन्त्री भाटले बताए । उनले मन्त्रालयको काममा सुशासन र पारदर्शिता कायम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

मन्त्री भाटले प्रदेशको बजेट निर्माण प्रक्रियालाई समेत तीव्रता दिइने बताए । भूगोल, जनसंख्या र स्थानीय आवश्यकताका आधारमा योजना छनोट गरी बजेट निर्माण प्रक्रिया अघि बढाउने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 17 times, 1 visits today)

epaper

ताजा समाचार

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिन बोलाइएको बैठक सोमबार बस्नै सकेन, अर्काे बैठक भोलि ४ बजे