सुरुङ उद्धारमा भएको ढिलाइ गम्भीर र अमानवीय: काँग्रेस नेता आङ्देम्बे

काठमाडौँ । नेपाली काँग्रेसका नेता भीष्मराज आङ्देम्बेले विपद्का बेला सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

उनले यस्तो ढिलाइलाई गम्भीर र मानवीय संवेदनाविपरीतको विषयका रूपमा प्रस्तुत गरेका हुन्।

प्रतिनिधि सभाको बैठकमा धारणा राख्दै आङ्देम्बेले अझै ६२ जिल्लाका ३ हजार ९१६ नागरिक सम्पर्कविहीन रहेको विवरणप्रति सरकार गम्भीर हुनुपर्ने बताए। समय बित्दै जाँदा सम्पर्कविहीनको संख्या थपिन सक्ने अवस्थातर्फ पनि उनले सदनमार्फत सरकारको ध्यान खिचेका छन्।

उनका अनुसार अहिलेको अवस्थामा सबैभन्दा प्राथमिकतामा राख्नुपर्ने विषय नै खोज तथा उद्धार हो। विशेष गरी सुरुङभित्र फसेका नागरिकलाई सुरक्षित बाहिर निकाल्ने कार्यमा भएको ढिलाइ स्वीकार्य हुन नसक्ने उनको भनाइ छ।

आङ्देम्बेले विपद्को सुरुवाती चरणदेखि नै उद्धार क्षमताको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे। त्यसका लागि सरकारी संयन्त्रसँगै निजी क्षेत्रको क्षमता उपयोग गर्न तथा आवश्यकता देखिए अन्तर्राष्ट्रिय प्रविधि र दक्ष उद्धार टोलीसमेत तत्काल परिचालन गर्नुपर्ने उनले बताए।

उनले सम्पर्कविहीन नागरिकको खोजीलाई प्राथमिकतामा राख्दै उपलब्ध सबै स्रोत, प्रविधि र जनशक्तिको समन्वयबाट उद्धार अभियान प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

epaper

ताजा समाचार

अब काठमाडौंबाट हेटौंडा जाने आउने कसरी ? यस्तो छ नयाँ रुट