अब काठमाडौंबाट हेटौंडा जाने आउने कसरी ? यस्तो छ नयाँ रुट

काठमाडौं । त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडौं–हेटौंडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट तथा कार्यतालिका सार्वजनिक गरिएको छ ।

वर्षाद्को समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रुट निर्धारण गरिएको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौंबाट हेटौंडाका लागि छुट्ने साना सवारीका लागि फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदीको रुट कायम गरिएको छ ।

त्यस्तै, हेटौंडाबाट काठमाडौं छुट्ने साना सवारी भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं प्रवेश गर्नेछन् ।

यसैगरी, ठूला तथा मालवाहक सवारी काठमाडौंबाट चापागाउँ–भट्टेडाँडा–ठिंगन हुँदै हेटौंडा पुग्नेछन् । सो रुट प्रयोग गर्ने सवारीले साँझ ६ बजेभित्र ठिंगन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

हेटौंडाबाट छुट्ने ठूला तथा मालवाहक सवारीका लागि भैंसे–पालुङ–टिस्टुङ–नौबिसे हुँदै काठमाडौं आउने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

मकवानपुरको त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्यांकर तथा भारी मालवाहक सवारीलाई सो पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

भारी मालवाहक सवारीका लागि बेलिब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

epaper

ताजा समाचार

नुवाकोट पुगेर अग्रगामी युवा मोर्चाले बाढीपीडितलाई वितरण गर्‍यो राहत सामाग्री