१० दिनमा १,२९४ शव, ५ हजार ८३ अझै बेपत्ता

काठमाडौं । त्रिशूली बाढीको दसौँ दिनसम्म पनि मानवीय क्षतिको यकिन हुन सकेको छैन । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म विभिन्न स्थानबाट १ हजार २९४ शव फेला परेका छन् भने करिब ५ हजार ८३ जना अझै सम्पर्कविहीन छन् ।

बाढी आएको दिन साँझसम्म ७२ शव फेला परेकोमा दस दिनपछि शवको संख्या १ हजार २९४ पुगेको हो । यस अवधिमा बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार तीव्र पारिएसँगै नदी किनार, बस्ती र जलविद्युत् आयोजनाका सुरुङबाट लगातार शव तथा बेपत्ताको विवरण थपिँदै गएको छ ।

प्राधिकरणको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी शव चितवनमा फेला परेका छन् । चितवनमा मात्रै ३५५ शव फेला परेका छन् । त्यसपछि नवलपरासी पूर्वमा २२१, नवलपरासी पश्चिममा २१२, नुवाकोटमा १८४, रसुवामा १४०, गोरखामा ७३, धादिङमा ६७ र तनहुँमा ३५ शव फेला परेका छन् ।

बेपत्ताको संख्या हेर्दा भने नुवाकोट सबैभन्दा अगाडि छ । जिल्ला प्रशासन कार्यालयबाट प्राप्त पछिल्लो विवरणअनुसार नुवाकोटमा मात्रै करिब २ हजार ३४० जना सम्पर्कविहीन छन् । रसुवामा करिब २ हजार १३० जना र विदेशी नागरिक ५८३ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।

यसरी हेर्दा बाढीको दस दिनपछि पनि शव भेटिने क्रम र बेपत्ताको खोजी समानान्तर रूपमा चलिरहेको छ । विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको खोजी अझै जारी रहेकाले मानवीय क्षतिको संख्या थप बढ्न सक्ने देखिएको छ ।

प्राधिकरणका अनुसार अहिलेसम्म १३ हजार ९५ जनाको उद्धार गरिएको छ । यसमा नेपाली सेनाबाट ४ हजार १५७, नेपाल प्रहरीबाट ४ हजार ६८ र सशस्त्र प्रहरी बलबाट ४ हजार ५७० जनाको उद्धार गरिएको विवरण छ । उद्धार गरिएकामध्ये ३०३ जना विदेशी नागरिक छन् ।

नेपाली सेनाले मात्रै ८५१ पटक हवाई उडान गरेको छ । काठमाडौंस्थित निजी क्षेत्रबाट १२९ पटक उडान भएको छ । सुरुङमा फसेका र प्रभावित क्षेत्रमा रहेका विदेशी नागरिकको उद्धारमा समेत नेपाली सुरक्षा निकाय परिचालित छन् ।

बाढीबाट विस्थापित तथा प्रभावितलाई राख्न रसुवा, नुवाकोट र धादिङका विभिन्न स्थानमा ३७ वटा होल्डिङ सेन्टर सञ्चालनमा छन् । ती केन्द्रमा ४६ हजार २७ जना छन् ।

खोजी तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ । उद्धारसँगै घाइतेको उपचार, राहत वितरण, सडक तथा पुल सञ्चालन र प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ ।

बाढीले मानवीय क्षतिसँगै ठूलो भौतिक क्षति पु¥याएको छ । प्रारम्भिक विवरणअनुसार ७ हजार ५७० निजी घर प्रभावित भएका छन् । सरकारी संरचनातर्फ ४८ संरचनामा क्षति पुगेको छ । विद्यालय १८ र स्वास्थ्य संस्था चारवटामा क्षति पुगेको विवरण छ ।

बाढीले ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । मोटरेबल ३७ पुलमा क्षति पुगेको छ, जसमा ३३ वटा पूर्ण र चारवटा आंशिक रूपमा क्षतिग्रस्त छन् । ६८ वटा झोलुङ्गे पुलमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

सरकारले रसुवा जिल्लाका लागि एक करोड, नुवाकोटका लागि एक करोड र धादिङका लागि ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ । प्रभावित १५ स्थानीय तहका लागि थप १३ करोड ५० लाख रुपैयाँसमेत विनियोजन गरिएको विवरणमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)

epaper

ताजा समाचार

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन