आफैँले बनाएको मापदण्ड विपरित राजदूत सिफारिस

काठमाडौं । सरकारले १३ देशका लागि राजदूत सिफारिस गरेर संसदीय सुनुवाइ प्रक्रिया अघि बढाए पनि प्रस्तावितमध्ये केही व्यक्तिको संस्थागत आबद्धता सरकारकै राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ विपरित देखिएको छ ।

के गर्ला संसदीय समितिले ?

संसदीय सुनुवाइ समितिले बिहीबार १३ प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया अघि बढाउँदै उनीहरूविरुद्ध सूचना तथा उजुरी दिन १० दिनको समय दिएको छ । परराष्ट्र मन्त्रालयले राजदूत नियुक्तिका लागि गत जेठमा आवेदन आह्वान गर्दा निर्देशिका र कार्यशर्त (टीओआर) बमोजिम आवश्यक योग्यता पुगेका उम्मेदवारलाई मात्र सिफारिस गर्न सकिने जनाएको थियो ।

निर्देशिकाको सम्बन्धित प्रावधानमा ‘नियुक्ति हुँदाका बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहयोगदाताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको’ हुनुपर्ने व्यवस्था छ । त्यस्तै, विदेशी राष्ट्रले नियुक्त गरेको जिम्मेवारीमा कार्यरत व्यक्ति भए त्यहाँबाट अवकाश लिएको १० वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ ।

तर चिरनजंग थापासहितका व्यक्तिलाई सरकारले मापदण्डविपरित राजदूतमा प्रस्ताव गरेको छ । अमेरिकाका लागि सिफारिस भएका चिरनजंग थापा लामो समयदेखि सुरक्षा तथा अन्तर्राष्ट्रिय मामिलामा काम गर्दै आएका विज्ञ हुन् । उनी सन् २०१७ देखि अक्सफामका एसिया क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा कार्यरत छन् ।

उनको शिफारिस निर्देशिकाको ‘नियुक्ति हुँदाका बखत कुनै अन्तर्राष्ट्रिय वा विदेशी सहयोगदाताद्वारा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत नरहेको’ हुनुपर्ने व्यवस्थाविपरित छ । थापाले यसअघि सेफरवल्र्ड र द एसिया फाउन्डेसनलगायत संस्थामा सुरक्षा तथा न्यायसम्बन्धी क्षेत्रमा काम गरेका थिए ।

ओमानका लागि सिफारिस भएकी डा. पद्माक्षी राणा इम्प्याक्ट हब काठमाडौंकी कार्यकारी निर्देशक तथा सहसंस्थापक हुन् । संस्थाकै पछिल्लो विवरणमा उनी सन् २०२६ मा पनि कार्यकारी निर्देशकका रूपमा सार्वजनिक कार्यक्रममा सहभागी भएको देखिन्छ ।

इम्प्याक्ट हब काठमाडौंले स्टार्टअप, साना तथा मझौला उद्यम, सामाजिक तथा वातावरणीय प्रभावका क्षेत्रमा काम गर्छ । संस्थाले विभिन्न अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्ने गरेको छ । इम्प्याक्ट हबकी जागिरे राणाको सिफारिस पनि निर्देशिकाविपरित देखिएको छ ।

स्पेनका लागि सिफारिस भएकी प्राप्ति शेरचन अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) मा काम गरेकी विकास तथा समावेशी वित्तसम्बन्धी विज्ञ हुन् । जर्मनीका लागि प्रस्तावित शरू जोशीले संयुक्त राष्ट्रसंघीय निकाय यूएन वुमनलगायत संस्थामा काम गरेकी छन् । दक्षिण कोरियाका लागि सिफारिस भएका प्राडा. संगम श्रेष्ठ एसियाली प्रविधि संस्थान (एआईटी)का प्राध्यापक तथा पूर्वडिन हुन् ।

आईएफसी विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्तीय संस्था हो भने यूएन वुमन संयुक्त राष्ट्रसंघीय निकाय हो र एआईटी अन्तर्राष्ट्रिय प्राज्ञिक संस्था हो । मापदण्डले यी संस्थामा कार्यरतलाई समेत राजदूतका रुपमा सिफारिस गर्न बर्जित गरेको कुटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।

सरकारले ४ हजार ४ सयभन्दा बढी आवेदनबाट छनोट गर्दै १३ जनाको नाम सिफारिस गरेको हो । भारतका लागि निश्चलनाथ पाण्डे परराष्ट्र मामिला विज्ञ तथा सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक, चीनका लागि कल्याणराज शर्मा चीन मामिला तथा अर्थशास्त्रका विज्ञ र अमेरिकाका लागि थापा सुरक्षा विज्ञका रूपमा चिनिन्छन् ।

बेलायतका लागि पूर्वप्रधानसेनापति गौरव शमशेर जबरा, जापानका लागि नेपाल–जापान सम्बन्धमा काम गरेका जिग्यानकुमार थापा र इजरायलका लागि प्रविधि, बैंकिङ तथा आर्थिक नीतिमा अनुभव भएका सुरेशकुमार कर्ण सिफारिस भएका छन् ।

स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरू जोशी, ओमानका लागि पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, श्रीलंकाका लागि मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनार सिफारिस भएका छन् ।

संसदीय सुनुवाइ समितिले उजुरी तथा प्राप्त सूचनाका आधारमा प्रस्तावित उम्मेदवारको योग्यता र पृष्ठभूमि परीक्षण गरेर नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ । सुनुवाइबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट एग्रिमो लिएर राष्ट्रपतिबाट राजदूत नियुक्त हुने संवैधानिक व्यवस्था छ ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

epaper

ताजा समाचार

हर्मुज खोल्न इरानको सातदिने प्रस्ताव