फूलखेतीले फेरिँदै धनगढीका किसानको आर्थिक अवस्था

धनगढी । प्लास्टिकका फूलको प्रयोग घट्दै र प्राकृतिक फूलको माग बढ्दै गएपछि कैलालीको धनगढीमा व्यावसायिक फूलखेती गर्ने किसानको संख्या बढ्न थालेको छ । घरायसी प्रयोजन र पूजाआजाका लागि सीमित खेती गर्दै आएका किसान अहिले फूलखेतीलाई आम्दानीको भरपर्दो स्रोत बनाउन थालेका छन् । बिघौँ जमिनमा सयपत्रीसहित विभिन्न प्रजातिका फूल उत्पादन गरेर किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।

स्थानीय बजारमा प्राकृतिक फूलको माग बढ्नु, उत्पादित फूलले बजार पाउन थाल्नु र स्थानीय सरकारले तालिम तथा अनुदान उपलब्ध गराउन थालेपछि किसानको आकर्षण फूलखेतीतर्फ बढेको हो ।

धनगढी उपमहानगरपालिका–६ का शंकरसिंह बिष्टले व्यावसायिक फूलखेती सुरु गरेको चार वर्ष भयो। सुरुमा दुई बिघा जमिनबाट खेती थालेका उनले अहिले क्षेत्रफल विस्तार गरेर १३ बिघा पु¥याएका छन् । उहाँको बारीमा यतिबेला सयपत्री फूल लटरम्म फुलेका छन्। सयपत्रीसँगै बाह्रै महिना फुल्ने विभिन्न प्रजातिका फूलसमेत उनले उत्पादन गर्दै आउएका छन् ।

पाँच लाख रुपैयाँ लगानीबाट सुरु भएको उहाँको फूलखेती व्यवसायमा हालसम्म ६० लाख रुपैयाँ लगानी भइसकेको छ । खेती विस्तारसँगै १२ जनालाई नियमित रोजगारीसमेत दिएका छन् । सुरुमा सानो क्षेत्रफलबाट थालिएको व्यवसायले विस्तारै व्यावसायिक रूप लिएपछि उहाँले थप क्षेत्रफलमा खेती विस्तार गर्ने योजना बनाएका छन् ।

बिष्टको अनुभवले धनगढीमा फूलखेतीको व्यावसायिक सम्भावना देखाएको छ । उनी मात्रै होइन, धनगढीका अन्य किसान पनि फूलखेतीलाई आम्दानीको राम्रो माध्यम बनाउन थालेका छन् । पछिल्लो समय व्यक्तिगत तथा सामूहिक रूपमा फूलखेती गर्ने किसान बढिरहेका छन् । धनगढी उपमहानगरपालिकामा दर्ता भएर १६ वटा फर्मले व्यावसायिक रूपमा फूलखेती गरिरहेका छन् । दर्ता नभएका तथा सानो क्षेत्रफलमा खेती गर्ने किसानको संख्या पनि बढ्दो छ ।

धनगढी उपमहानगरपालिका–११ र १३ मा फूलखेती गर्दै आएका पुष्कर बिष्ट पनि यस व्यवसायमा सक्रिय छन् । उनले दुई बिघा क्षेत्रफलमा विभिन्न प्रजातिका फूल उत्पादन गरेका छन् । उपमहानगरपालिकाबाट फूलखेतीसम्बन्धी तालिम पाएपछि यस व्यवसायमा लागेएका उनलाई उत्पादित फूल बिक्री नभए स्थानीय सरकारले खरिद गरिदिने आश्वासनले थप हौसला मिलेको छ ।

बजारको सुनिश्चितता नहुँदा किसानले उत्पादन गरेका कृषि उपज बिक्री गर्न समस्या हुने गरेको छ । तर, स्थानीय सरकारले फूल खरिद गरिदिने आश्वासन दिएपछि फूलखेतीप्रति विश्वास बढेको पुष्करको भनाइ छ । सरकारी प्रोत्साहन र बजारको सम्भावना देखेपछि उहाँले पनि यसलाई व्यावसायिक रूपमा अघि बढांएका हुन् ।

धनगढीका किसानले उत्पादन गरेको फूलले अहिले स्थानीय बजारको माग धानिरहेको छ । चाडपर्व, विवाह, पूजाआजा तथा विभिन्न समारोहमा प्राकृतिक फूलको प्रयोग बढ्दै गएपछि यसको बजारसमेत विस्तार हुँदै गएको छ । स्थानीय बजारमा खपत हुन नसकेको फूल काठमाडौंसम्म बिक्रीका लागि पठाउने गरिएको छ । यसले धनगढीमा उत्पादित फूलको बजार स्थानीय क्षेत्रभन्दा बाहिर पनि विस्तार हुँदै गएको देखाउँछ ।

धनगढी उपमहानगरपालिकाले प्लास्टिकका फूलको प्रयोग निरुत्साहित गर्ने नीति लिएपछि प्राकृतिक फूलको बजार विस्तारमा थप सहयोग पुगेको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसानलाई फूलखेतीमा आकर्षित गर्न उपमहानगरपालिकाले तालिम, बीउबिजन वितरण र अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ । उत्पादित फूल बिक्री नभए उपमहानगरपालिकाले खरिद गरिदिने व्यवस्था पनि मिलाएको छ ।

धनगढी उपमहानगरपालिकाका अनुसार सुरुमा किसानलाई फूलखेतीसम्बन्धी तालिम दिएर कार्यक्रम अघि बढाइएको हो । त्यसपछि आवश्यक बीउबिजन उपलब्ध गराउने र उत्पादित फूलको बजार सुनिश्चित गर्ने काम गरिएको छ । यो उपमहानगरले प्राकृतिक फूलको प्रयोग बढाउन प्लास्टिकका फूललाई निरुत्साहित गर्ने नीति पनि लिइएको छ ।

उपमहानगरपालिकाले धनगढीमा उत्पादित फूल काठमाडौंसम्म पु¥याउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले किसानलाई ढुवानीमा समेत सहयोग गर्ने गरेको छ । काठमाडौंसम्म फूल पठाउँदा प्रतिकेजी ९० रुपैयाँ खर्च लाग्नेमा ५० रुपैयाँ ढुवानीमै खर्च हुने गरेको छ । यस्तो अवस्थामा किसानलाई बजारसम्म उत्पादन पु¥याउन सहज होस् भनेर उपमहानगरपालिकाले सहयोग गर्दै आएको उपमहानगरको भनाइ छ ।

स्थानीय सरकारको प्रोत्साहन, किसानको मेहनत र प्राकृतिक फूलको बढ्दो मागले धनगढीमा फूलखेती विस्तार हुँदै गएको छ । थोरै लगानीबाट सुरु गरेर ठूलो क्षेत्रफलमा खेती विस्तार गर्न सकिने र स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न सकिने भएकाले यो व्यवसाय किसानका लागि आकर्षणको क्षेत्र बनेको छ । विशेषगरी चाडपर्वका बेला फूलको माग उच्च हुने भएकाले किसानले राम्रो आम्दानी गर्ने अवसर पाएका छन् ।

यद्यपि फूलखेतीलाई दीर्घकालीन र दिगो व्यवसायका रूपमा स्थापित गर्न केही चुनौती अझै छन् । उत्पादित फूल समयमै बजारसम्म पु¥याउन नसक्दा गुणस्तरमा असर पर्ने, ढुवानी खर्च बढी लाग्ने र लामो समयसम्म फूल सुरक्षित राख्न आवश्यक भण्डारणको अभाव हुने समस्या छ । यी चुनौती समाधान गर्न सके धनगढीको फूलखेतीले किसानको आयआर्जन बढाउनुका साथै स्थानीय रोजगारी र कृषि अर्थतन्त्रमा समेत योगदान पु¥याउन सक्ने देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 19 times, 1 visits today)

epaper

ताजा समाचार

तिहारको साइत: कात्तिक २५ गते ११:०७ बजे भाइटीका उत्तम