बैंकक । असाधारण रूपमा शक्तिशाली एल निनोका कारण विश्वभर बाढी, खडेरी र तापक्रम वृद्धिको जोखिम बढेको छ । यसले खाद्य सुरक्षामा समेत चुनौती थपेको छ ।
जलवायु विज्ञहरूका अनुसार सन् २०२६ दोस्रो सबैभन्दा तातो वर्ष बन्ने र सन् २०२७ ले तापक्रमको नयाँ कीर्तिमान कायम गर्ने सम्भावना छ ।
युरोपेली संघ (इयु) को जलवायु अनुगमन संस्था कोपर्निकसका अनुसार एल निनोले मानव गतिविधिका कारण भइरहेको तापक्रम वृद्धिलाई थप तीव्र बनाएको छ । अक्टोबरमा विश्वको औसत तापक्रम र समुद्री सतहको तापक्रम उच्च विन्दुमा पुगेको संस्थाले जनाएको छ ।
एल निनोका कारण पेरुमा बाढीको जोखिम बढेपछि सरकारले देशका विभिन्न भागमा आपतकालीन अवस्था घोषणा गरेको छ । त्यहाँ ९० लाखभन्दा बढी मानिस अर्थात् कुल जनसंख्याको करिब एक तिहाइ बाढी र पहिरोको जोखिममा छन् । बोलिभियाले पनि यसअघि राष्ट्रिय आपत्काल घोषणा गरेको थियो ।
एसियामा खडेरीका कारण जलविद्युत् उत्पादन प्रभावित हुने चिन्ता बढेको छ । श्रीलंकाले जलाशयमा पानीको मात्रा बढेपछि विद्युत् महसुल वृद्धि योजना फिर्ता लिए पनि सन् २०२७ को पहिलो छ महिनामा गम्भीर खडेरीको सामना गर्नुपर्ने अनुमान गरेको छ ।
यसैगरी, फिलिपिन्सले एल निनोको प्रभावबाट कृषि क्षेत्रलाई जोगाउन ९८ करोड अमेरिकी डलरभन्दा बढी रकम छुट्याएको छ । त्यहाँ एल निनो र इरान युद्धका कारण इन्धन तथा मलको मूल्य बढ्दा सेप्टेम्बरसम्मको तीन महिनामा धान उत्पादन १८ प्रतिशतले घटेको छ ।
कोपर्निकसका अनुसार सन् २०२६ सन् २०२४ जत्तिकै वा त्यसभन्दा बढी तातो वर्ष हुने सम्भावना २० प्रतिशत छ । एएफपीको विश्लेषणअनुसार अक्टोबरमा ३३ देशले तापक्रमको नयाँ कीर्तिमान कायम गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले एल निनोका कारण बाली उत्पादन घट्ने र बाढीले खाद्यान्न भण्डारण तथा ढुवानी प्रभावित हुने भएकाले विश्व बजारमा खाद्यवस्तुको मूल्य बढ्न सक्ने बताएका छन् । इरान युद्धका कारण इन्धन र मलको मूल्यसमेत बढेकाले न्यून आय भएका परिवार थप प्रभावित हुने उनको भनाइ छ । यसले खाद्यान्न उपभोग घट्ने र कुपोषण बढ्ने जोखिमसमेत निम्त्याउन सक्छ ।
एफएओले एल निनोबाट खाद्य संकटको जोखिममा रहेका २२ देशलाई सहयोग गर्न दुई करोड अमेरिकी डलर माग गरे पनि आवश्यक रकमको २० प्रतिशत मात्र प्राप्त भएको जनाएको छ ।
सम्बन्धित समाचार
भारतमा चक्रवात अर्नबले निम्त्यायो विपत्ति, ८९ हजार विस्थापित
कोष उपाध्यक्षमा नियुक्त आनीको नागरिकतामा प्रश्न
इजरायलमा आधा मत गणना हुँदा नेतान्याहु गठबन्धन ५५ सिटमा अगाडि
बालेन सरकार हल्लाउने बिचौलिया सेटिङ
पत्रकार धरपकडको छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन
हवाई फायर गरी २०९ केजी गाँजा बरामद, पाँच जना पक्राउ
आज पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षा






