डडेल्धुरा । तिहार सकिएसँगै डडेल्धुराका गाउँबस्तीमा परम्परागत धार्मिक मेला तथा जाँतको रौनक सुरु भएको छ । मानसखण्डमा समेत महिमा वर्णन गरिएको शैलेश्वर महादेवको पूजाआजाबाट सुरु हुने धार्मिक मेला–जाँतको क्रम अब कैलपाल देवताको प्रसिद्ध जाँतसम्म पुगेको छ । भगवान् शिवसँग जोडिएको पौराणिक धार्मिक इतिहासदेखि तरबार र भालासहित खेलिने परम्परागत चौलोसम्मका मौलिक संस्कृति डडेल्धुराका जाँतका प्रमुख आकर्षण हुन ।
तिहारपछि अमरगढी नगरपालिकामा लाग्ने पहिलो प्रमुख धार्मिक जाँतका रूपमा शैलेश्वर महादेवको मेला मनाइन्छ । अमरगढी नगरपालिका–७, ८ र नवदुर्गा गाउँपालिका–१ को सिमानामा रेणुका र शैल्य नदीको किनारमा रहेको शैलेश्वर महादेव मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल सप्तमीको राति विशेष पूजाआजा र अष्टमीको बिहान मेला लाग्ने परम्परा छ ।
मानसखण्डलगायत हिन्दु धर्मका विभिन्न ग्रन्थमा शैलेश्वर क्षेत्रको धार्मिक महिमा वर्णन गरिएको आचार्य जयप्रसाद जोशी बताउँछन । धार्मिक आख्यानअनुसार कैलाश पर्वतबाट विहारका लागि निस्किएका भगवान् शिव र माता पार्वतीको यस क्षेत्रमा भेट भएको थियो । माता पार्वती अलप भएपछि खोजीमा निस्किएका हिमालय राजाले यस क्षेत्रमा ज्योतिर्लिंग स्थापना गरेको धार्मिक विश्वास छ ।
हिमालय राजा स्वयंले स्थापना गरेको तीर्थस्थलका रूपमा परिचित शैलेश्वरमा शिव, पार्वती, गणेश र कार्तिकेयसँग सम्बन्धित पञ्चलिंगको समेत धार्मिक महत्व रहेको छ । मानसरोवरको दर्शन गर्नु र शैलेश्वरको दर्शन गर्नुमा कुनै फरक नरहेको धार्मिक मान्यता रहेको आचार्य जोशी बताउँछन ।
शैलेश्वर महादेवलाई मसानवासी महादेवका रूपमा समेत पूजा गर्ने गरिन्छ । नदी किनारको मसानघाट क्षेत्रमा अवस्थित मन्दिरको घाटलाई अमरगढी नगरपालिका, नवदुर्गा संगै अजउमेरु गाउँपालिका–१ का विभिन्न गरि ४० भन्दा बढी गाउँका बासिन्दाले मसानघाटका रूपमा प्रयोग गर्दै आएका छन । त्यसैले शैलेश्वर महादेवको धार्मिक सम्बन्ध स्थानीयको जन्मदेखि मृत्युसम्म जोडिएको छ ।
मन्दिरमा साँकी परिवारको परम्परागत गात (गोप्यगृह) पुजारी व्यवस्था रहँदै आएको छ । पछिल्लो पुस्तामा परम्परागत धार्मिक विधि निरन्तरता पाउन नसकेपछि करिब ४१ वर्षदेखि गातको सट्टा पातलीबाट पूजाआजा हुँदै आएको छ । विभिन्न भट्ट र पन्त परिवारले पनि मन्दिरको पूजाआजामा जिम्मेवारी निर्वाह गर्दै आएका छन ।
शैलेश्वरको पूजाआजासँगै अमरगढी नगरपालिका–७ सल्ला गाउँस्थित देउखले मन्दिरमा समेत विशेष धार्मिक गतिविधि हुने गर्दछ । यसले आसपासका गाउँबस्तीमा जाँतको रौनक थप्ने गरेको छ ।
तरबार र भालासहित चौलो खेलिने कैलपाल जाँत
शैलेश्वर महादेवको पूजाआजासँगै सुरु भएको धार्मिक मेला–जाँतको अर्काे महत्वपूर्ण आकर्षण गन्यापधुरा गाउँपालिका–४ स्थित कैलपाल माण्डौँको जाँत हो । सयौँ वर्ष पुरानो धार्मिक तथा सांस्कृतिक इतिहास बोकेको कैलपाल देवताको जाँत कात्तिक २९ गते राति रतेडी तथा ३० गते दिउँसो दिउँसोडीका रूपमा सञ्चालन हुने परम्परा छ ।
डडेल्धुरासहित कैलाली, कञ्चनपुर र भारतको सिङहाई क्षेत्रबाट समेत श्रद्धालु भक्तजन कैलपाल देवताको दर्शन तथा जाँतमा सहभागी हुन आउने गर्दछन ।
स्थानीय जनश्रुतिअनुसार भारतको कुमाउँ–कनोज राज्यबाट जयदास पनेरुसँगै कैलपाल देवता र कालीकी घाट यस क्षेत्रमा आएका थिए । उनै जयदास पनेरुको नामबाट जैसेरा गाउँको नामकरण भएको जनविश्वास छ । देवतासँगै ल्याइएको भनिने कालीकी घाट अहिले पनि देवघर अर्थात् भण्डारमा सुरक्षित रहेको पुजारी कृष्णदत्र् भट्टले बताए ।
कैलपाल देवताका सात भाइ रहेको धार्मिक मान्यता छ । कैलपाल, दौपाल, सौपाल, निरपाल, उपरपाल, अजयपाल र बाँटपालका नामबाट परिचित देवताका भण्डार मेड्डी, चौतमला र डाँङामा रहेका छन । प्रत्येक वर्ष पालैपालो फरक–फरक भण्डारमा देउरो राख्ने परम्परा छ ।
चारपटक चौलो, नाङ्गा तरबार र भालाको आकर्षण
कैलपाल जाँतको सबैभन्दा विशिष्ट सांस्कृतिक पक्ष परम्परागत चौलो खेल हो । जाँतका अवसरमा राति १२ बजे, बिहान, दिउँसो र बेलुका गरी चारपटक चौलो खेल्ने गरिन्छ ।
मुख्य देउरो कैलपालको रहने भए पनि मेड्डीबाट दौपाल, गनेडा–कापडी गाउँबाट दुर्गा, रुमालबाट अर्काे चौलो तथा थप्सा–बन्डोराबाट भूमिदेवीको चौलो आउने परम्परा छ ।
चौलो खेलका क्रममा सहभागीहरूले हातमा नाङ्गा तरबार, भाला र आलम बोकेर परम्परागत शैलीमा नाच्ने गर्दछन । धार्मिक आस्था, वीरता र सामूहिक सांस्कृतिक पहिचान झल्काउने यो दृश्य कैलपाल जाँतको प्रमुख आकर्षण हो ।
यस जाँतमा विभिन्न समुदायको परम्परागत भूमिका पनि उत्तिकै महत्वपूर्ण छ । कैलपाल देवताको पुजारीका रूपमा रुमाल गाउँका भट्ट परिवारले जिम्मेवारी निर्वाह गर्दै आएका छन । देउरो अर्थात् गाँज नचाउने काम धानुक समुदायले गर्छन् भने भोकर बजाउने परम्परा बोहरा र पान समुदायसँग जोडिएको छ ।
परदेशीको घरफिर्ती, आफन्तसँग भेटघाट र संस्कृतिको निरन्तरता
तिहारपछि लाग्ने धार्मिक मेला तथा जाँत केवल देवीदेवताको पूजाआजा र दर्शनमा सीमित छैनन । यी मेला स्थानीय सामाजिक जीवन, पारिवारिक पुनर्मिलन र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको मौलिक संस्कृतिका महत्वपूर्ण आधारसमेत हुन ।
रोजगारी तथा अन्य सिलसिलामा भारतका विभिन्न सहर र तराई झरेका स्थानीय बासिन्दा वर्ष दिनमा लाग्ने यस्ता जाँतमा सहभागी हुन पुख्र्याैली गाउँ फर्किने गर्दछन । भाकल पूरा भएपछि चढावा चढाउने, कुलदेवताको दर्शन गर्ने र आफन्तजनसँग भेटघाट गर्ने अवसरका रूपमा पनि यी पर्व स्थापित छन ।
धामी नाच, परम्परागत बाजागाजा, देउरो, चौलो र देउडाले जाँतलाई थप आकर्षक बनाउने गरेका छन । धार्मिक आस्था र सांस्कृतिक परम्परासँगै स्थानीय समुदायको आपसी सम्बन्धलाई समेत बलियो बनाउने यस्ता पर्वले गाउँबस्तीमा उत्साह र उल्लास थप्ने गरेका छन ।
मानसखण्डमा वर्णित शैलेश्वर महादेवको पौराणिक महिमादेखि कैलपाल देवताको वीरतापूर्ण चौलो संस्कृतिसम्म डडेल्धुराका धार्मिक मेला–जाँतले जिल्लाको विशिष्ट पहिचान बोकेका छन्। तिहारपछि सुरु हुने यी पर्वले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै नयाँ पुस्तामा मौलिक परम्परा हस्तान्तरण गर्ने महत्वपूर्ण अवसरसमेत प्रदान गर्दै आएको वडा अध्यक्ष नरेश कुमार भट्टले बताए ।
सम्बन्धित समाचार
सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट, कतिमा भइराखेको छ आज कारोबार ?
प्रधान न्यायाधीशलाई महाभियोग नलगाउन रास्वपा संसदीय दललाई निर्देशन
धनगढीमा सफल मार्टको नयाँ शाखा उद्घाटन, घरायसी र व्यावसायिक सामग्री एकै ठाउँ पाइने
निजामती अध्यादेश र महाभियोगको समानान्तर तयारी
बझाङको केदारस्युँमा जिप दुर्घटना, २ जनाको मृत्यु
निर्णयका चाङैचाङ, विकास शून्य
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन भेटेको तस्बिर सार्वजनिक गर्न रोक
एनपीएलमा आज चार टोलीबीच हुँदैछ प्रतिस्पर्धा






